पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
– बुधबार लेखक बुद्धिसागरले ठमेलको जलमग्न सडकको श्रव्यदृश्य राखेर ट्वीट गरे – “ठमेलको बीच बीच ! रिक्सा चढेर तरेको रू. ५०।–, पछाडि झुण्डेर रू.२०।–” उनले पोस्ट गरेको श्रव्यदृश्यमा केही रिक्साहरू जलमग्न सडकमा गुडिरहेको देखिन्छ ।
–काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीयस्थल नगरकोट जाने सडक विगत ६ वर्षमा पनि नबनेपछि आक्रोश स्थानीयले विरोध प्रदर्शन गरे । नगरकोट जाने खाल्डै खाल्डो, घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य भए पनि सो क्षेत्रका सांसद प्रेम सुवालको नेतृत्वमा ठेकेदार कम्पनीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । समयमै परियोजना नसकाएको शैलुङ्ग निर्माण सेवालाई सो सडक बनाउन फेरि म्याद थपेकोमा जनताले आक्रोश पोखेका हुन् ।
– चाबहिल र कपन क्षेत्रको सडकको जीर्ण अवस्थाप्रति आक्रोश पोख्दै शुक्रबार सांसद गगन थापा हुल उठाएर ललितपुरस्थित सडक विभागमा धर्ना कसे । लामो समयदेखि सडक लथालिङ्ग भएको भन्दै सो क्षेत्रका जनता आफ्ना सांसदको अगुवाइमा धर्ना कसेका हुन् ।
– भक्तपुरको दरबार क्षेत्रको सङ्ग्रहालयमा टेको राखिएका काठका टेका अझै पनि उस्तै छ । २०७२ को भूकम्पका कारण भवन जीर्ण बनेपछि ठड्याइएका टेका अझै उस्तै छन् । त्यसले दरबार क्षेत्रको रूपमा कालो लागेजस्तो भएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० सुरू हुने अब चार महिनामात्र बाँकी छ । तर, माथि उल्लेखित समाचारले भने सरकार अझै पनि नेपाल भ्रमणको मुल तयारीमा लागेको देखिन्न । काठमाडौँ उपत्यकामा अधिकांश पर्यटक जाने बाटाघाटा अझै लथालिङ अवस्थामा छन् । बाटाघाटा पर्यटकलाई हिँडाउन लायक छैनन् । पर्यटकको घुइँचो लागेका क्षेत्रमा पूर्वाधारको अझै कमी छ । नेपाल भ्रमण वर्ष सुरू हुन उपत्यकाकै प्रमुख पर्यटकीय स्थलमध्येको एउटा नगरकोटको दुवैतिरका घर टहरा भत्काइए । घर टहरा भत्काएर तत्काल बाटो फराकिलो र व्यवस्थित बनाउने न स्थानीय तहको कुनै योजना देखिन्छ, न अतिक्रमण पीडित वन कार्यालयको नै कुनै योजना छ । घर टहरा भत्कायो, बाँकी सबै लथालिङ्ग अवस्थामा छन् । काठमाडौँ उपत्यकाभित्रका पर्यटकस्थलहरू अझै पनि व्यवस्थित बनाइएका छैनन् । हिमाल चढ्न जाने पर्वतारोहीहरूले सगरमाथामा भोगेको समस्याको चर्चा अझै सेलाइसकेको छैन । आधार शिविरमा बढेको फोहोर र प्रदूषणको समस्या अझै उस्तै छ ।
तर, निकै जोश–जाँगरका साथ पर्यटन मन्त्रालय सम्हाल्न आएका पर्यटनमन्त्री योगेश भट्टराईको चासो भने अर्कैतिर देखिन्छ । उनले नेपाल भ्रमणको तयारीको नाममा पशुपति क्षेत्रमा हरेक साँझ गरिने आरतीमा राष्ट्रिय गान बजाउने घोषणा गरे । आश्चर्य ! नेपाल भ्रमण भव्यताका साथ सफल पार्न ध्यान दिनैपर्ने विषय अनेक छन् । अझै धेरै चुनौती छन् । गर्न बाँकी काम धेरै छन् । तर, पर्यटनमन्त्री भने पशुपतिमा राष्ट्रिय गीतको घोषणा गर्दै हिँडेका छन् । टाउको दुखाइको औषधि नाइटोमा भनेको उखान यहाँ निकै जचेको छ । आवश्यकता एउटा छ, सरकारको ध्यान अर्कैतिर छ । यसलाई सस्तो लोकप्रियताको भोक नभए के भन्ने ? भ्रमण वर्ष पनि प्रधानमन्त्री रोजगारी कार्यक्रमजस्तै हचुवा हुने सङ्केत अहिले नै देखिएको छ ।
पर्यटनमन्त्रीले पर्यटकीय क्षेत्रमा पुग्दा पर्यटकलाई कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने विषयमा चिन्तन गरेको देखिएन । पूर्वाधारमा देखिएको समस्या समाधान गर्न उनको ध्यान गएको देखिएन । काठमाडौँ उपत्यकामा नै अवस्था यस्तो गञ्जागोल छ भने मोफसलको अवस्था कस्तो होला, सहजै अनुमान गर्नसक्छौँ ।
Leave a Reply