भर्खरै :

‘स्रष्टा चैत्र ३०’ सम्मान तमोट र जोशीलाई

काठमाडौँ, २८ चैत । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरणमा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान स्रष्टा श्याम तमोट र नन्दकृष्ण जोशीलाई प्रदान गर्ने भएको छ ।
लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेबापत उहाँहरुलाई सम्मान दिइने भएको हो । तमोटको ‘गाउँ गाउँबाट उठ…’ बोलका गीत लोकप्रिय भने जोशीले देउडा गीतबाट जनआन्दोलनमा जनता जगाउनुभएको थियो ।
संस्थाका अध्यक्ष मनोज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । विसं २०६३ देखि दिन थालिएको सो सम्मान यही चैत ३० गते बत्तिसपुतलीको शिल्पी थिएटरमा प्रदान गरिनेछ । लोकतान्त्रिक आन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते पुरानो बानेश्वरको गुरुकुल (आरोहण)बाट स्रष्टाहरुले निकालेको जुलुसमा तत्कालीन सरकारले निर्मम दमन गरेको त्यस दिनलाई स्रष्टाले कालो दिनका रुपमा स्मरण गर्दै आएको संस्थाका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश सिलवालले बताउनुभयो ।
यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा तुल्सी भट्टराई, निनु चापागार्इं, किरण मानन्धर, डा वेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, डा दुवसु क्षेत्रीलगायत सम्मानित भइसक्नुभएकोे छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *