‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २१ भदौ । “भक्तपुरका जनताको क्रान्तिकारी भावनाकै कारण किसानहरूको मोहियानी हक संरक्षण भएको र हरेक परिवारले नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्नसकेको हो ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भनपा ९ सूर्यमढीस्थित चिभभजन पाटी उद्घाटन गर्दै उक्त विचार व्यक्त गर्नुभएको हो । उहाँले पार्टीको नीतिबमोजिम नगरपालिकाले कलेजहरू सञ्चालन गरी प्रत्येक वडामा सयौँको सङ्ख्यामा इन्जिनियर, नर्सलगायत दक्ष शैक्षिक जनशक्तिहरू उत्पादन गरिरहेको चर्चा गर्दै समाज परिवर्तनका निम्ति नयाँ पुस्तालाई सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सम्पदा पुनःनिर्माणमा निःस्वार्थपूर्वक लाग्ने सम्पूर्ण उपभोक्ता समितिका पदाधिकारीहरू, डकर्मी तथा सिकर्मी एवम् स्थानीय जनतालाई धन्यवादज्ञापन गर्नुभयो । उहाँले गर्मी र वर्षाको कारण भक्तपुरलगायतका जिल्लामा फैलिएको डेँगु रोगको विषयमा जानकारी गराउँदै रोगबाट बच्न खाल्टा खुल्टी पुर्ने, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने र रोगको लक्षण देखिनासाथ तत्काल उपचार गराउने कार्यमा सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष तुल्सीकाजी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय अग्रज रत्नभक्त प्रजापति र राम प्रजापतिले पाटी पुनःनिर्माण कार्यको विषयमा जानकारी गराउनुभयो ।
नगरपालिकाबाट २२ लाख रुपैयाँलागत इष्टिमेट तयार गरी नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण गरिएको उक्त पाटीको खुद खर्च भने १४ लाख ९० हजारमात्र रहेको र कार्य मूल्याङ्कन खर्च १८ लाख रुपैयाँ रहेको कार्यक्रममा सार्वजनिक गरियो ।
Leave a Reply