भर्खरै :

नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवम् साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का. उपाध्यक्ष डेङ बोकिङले आपतकालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अफ् एक्सचेञ्ज’मा हस्ताक्षर गर्नुभयो ।
आपतकालीन आवास सहायताअन्तर्गत ९५ लाख चिनियाँ युआन बराबरका पाँच हजार त्रिपाल चीन सरकारले उपलब्ध गराउनेछ भने मनाङ अस्पताल पुनःनिर्माणका निम्ति दुई करोड २० लाख युआन प्रदान गर्नेछ ।
त्यसैगरी स्वयम्सेवक चिनियाँ शिक्षक कार्यक्रमसम्बन्धी समझदारीपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश्वर दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गर्नुभयो ।
सौहार्दपूर्ण वातावरणमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचार–विमर्श भएको थियो । परराष्ट्रमन्त्रीद्वय ज्ञवाली र वाङले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।
त्यसैगरी वार्तामा दुई देशबीच विगतमा भएका सन्धि–सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइएको थियो ।
नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवम् आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका मामिलामा पनि द्विपक्षीय वार्तामा गहन छलफल भएको थियो ।
चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा दुवै देशका मन्त्रीले विचार आदानप्रदान गर्नुभएको थियो ।
वार्तामा अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शङ्करदास वैरागी, अर्थ सचिव खनाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दाहाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
विदेशमन्त्री वाङ नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए) का उपाध्यक्ष डेङ बोकिङ, विदेश मन्त्रालयको एसिया विभागका प्रमुख तथा अन्य अधिकारीसहित काठमाडौँस्थित चिनियाँ दूतावासका उच्च अधिकृत वार्तामा सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *