भर्खरै :

लिच्छविकालीन धाराले पायो नयाँ जीवन

–सुनिल बोहजू
भक्तपुर, २३ भदौ । भक्तपुरमा स्थानीय जनताको पहलमा जेँला पुखुचास्थित लिच्छविकालीन ढुङ्गेधाराले नयाँ जीवन पाएको छ । स्थानीय पोखरी पुनःनिर्माण गर्ने क्रममा नजिकै रहेको ढुङ्गेधाराको मूलको पनि खोजी गरिएको थियो । सोही क्रममा लिच्छविकालीन ढुङ्गेधाराको कुलो भेटिएको थियो । भक्तपुर नगरपालिका साविक वडा नं २ हाल वडा नं ८ जेँलास्थित पोखरी नजिकैको सो ढुङ्गेधारामा अहिले २४ घण्टा नै पानी आइरहेको छ ।
२०७२ वैशाख १२ को भूकम्पमा परी भग्नावशेषले पुरिएको पोखरी पुनःनिर्माणको क्रममा पोखरीसँगै पुरिएको ढुङ्गेधारा मर्मत गर्न उत्खनन् गर्दै जाँदा लिच्छविकालीन कुलो भेटिएको थियो । भूकम्प अगाडिसम्म निरन्तर पानी आइरहेको ढुङ्गेधारा अचानक बन्द भयो । साथै धाराको डुडबाट पानी नआई तलबाट रसाइरहेको देखेपछि स्थानीयले भित्र कतै फुटेको अनुमान गरे र खन्न थाले । धारा रहेको स्थानबाट लगभग २० फिट परसम्म खन्दा पनि पानी कुलोबाट नआई कुलो रहेको ठाउँभन्दा मुनिबाट आइरहेको थियो । त्यहाँबाट पर अरूको निजी घर रहेका कारण खन्न सक्ने अवस्था रहेन । अनि माथिको कुलोबाटै स्थानीयले डण्डी छिराएर हेरे । लगभग १८ फिटभित्र गएपछि स्थानीय तुल्सीनारायण छ्वाजूको निजी जग्गामा लगभग ६ फिटमुनि खनेर हेर्दा ऐतिहासिक कुलो भेटिएको थियो ।
अहिले उपभोक्ता समितिमार्फत नपाको बजेटले परम्परागत शिल्प र प्रविधि प्रयोग गरी सो ढुङ्गेधारा बनाउन सफल भएको हो । पुरानै शैलीमा इँटाको गारो उठाई त्यसमा पोलेको माटाको परम्परागत कुलो र अथहको प्रयोग गरी कालो (हाकुचा ) र पहेँलो माटो (म्होसुचा ) प्रयोग गरी निर्माण गरिएको कुरा उपभोक्ता समितिका अध्यक्ष पुण्यराम बोहजूले बताउनुभयो ।
“परम्परागत शिल्प र प्रविधिको प्रयोग जटिल रहेको कारण सुरूमा पानी नआएको तर निरन्तरको मेहनतले तेस्रो पटकमा डुडमा पानी ल्याउन सफल भयाँै । माटो खन्दै फेरि पुर्दै विभिन्न विज्ञहरूको राय लिएर काम सम्पन्न गरियो । काम सम्पन्न भएको लगभग दुई महिनापछि पानी आउन थालेको हो ।” ढुङ्गेधाराको उत्खनन् कार्यमा सुरुदेखि सक्रिय विकास बोहजूले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *