भर्खरै :

कमिसनको रकमले अर्बुद रोग निवारण संस्थाको पाँचतारे होटलमा वार्षिकोत्सव हुँदै

मजदुर सम्वाददाता
काठमाडौँ, २४ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औँ वार्षिकोत्सव कमिसनको रकमले काठमाडौँको दरबार मार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा गरिने भएको छ ।
संस्थाको वर्तमान नेतृत्वले केही वर्षदेखि कमिसनको रकमले पाँचतारे होटल अन्नपूर्णमा फजुल खर्च गरेर विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका एक सदस्यले बताएका छन् । त्यसरी पाँचतारे होटलमा गरेका कार्यक्रमको खर्चले देशका दर्जनौँ जिल्लामा क्यान्सर रोग पहिचान शिविर र सचेतना कार्यक्रम गर्न सकिने बताइएको छ ।
संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालमा विनाप्रतिस्पर्धा निकै न्यून रकममा ल्याव सञ्चालन गर्न दिएबापत सेरो ल्याव प्रालिका सञ्चालक किरण श्रेष्ठबाट कमिसनस्वरुप रकम लिंदै आएको स्रोतको दाबी छ ।
नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय समितिका वर्तमान अध्यक्ष श्रेष्ठ र महासचिव विमलकुमार होडालगायत केही पदाधिकारी र सदस्यहरू क्यान्सर अस्पतालमा सिटीस्क्यान सञ्चालक र फार्मेसी सञ्चालकहरूबाट रकम उठाउने गरेको र आफ्नो पैसा खर्च नगरी विदेश भ्रमण गर्ने गरेको तथ्य पहिले नै बाहिर आइसकेको छ ।
‘‘नेपाल अर्बुद रोग निवारण संस्थाजस्तो सामाजिक संस्थाको कार्यक्रमलाई कसैले स्वच्छ र सहयोगी मनले सक्दो सहयोग गर्नु एउटा पक्ष हो तर कसैलाई अनियमित प्रक्रियाका आधारमा नाफा कमाउन दिई त्यसबापत कार्यक्रमको खर्च व्यहोर्न लगाउनु कमिसन नै हो । चाहे त्यो कमिसन व्यक्ति–व्यक्तिले लेओस् वा संस्थाले नै लेओस् । अर्बुद रोग निवारण संस्थाको कार्यक्रम कमिसनको रकमले चल्नु र संस्थाको नेतृत्व नै कमिसनको खेलमा चुर्लुम्म डुब्नु विडम्बना हो ।’’ – नाम उल्लेख नगर्ने सर्तमा संस्थाका ती सदस्यले बताए ।
पाँचतारे होटलमा कार्यक्रम गर्दा उपस्थित व्यक्तिको सङ्ख्या २–३ सत्न्दा बढी नहुने तर खर्चको बिल ८–९ सय जनाको बनाइने गरेको ती सदस्यले दाबी गरे ।
कार्यक्रमबारे संस्थाको केन्द्रीय कार्यालयमा फोन सम्पर्क गर्दा संस्थाका एक कर्मचारीले भदौ ३१ गते होटल अन्नपूर्णमा कार्यक्रम हुने पुष्टि गरे । तर, कार्यक्रम कुन बजेटले वा कसको प्रायोजनले हुन लागेको हो थाहा नभएको उनले बताए ।
श्रेष्ठ, होडा र भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारले गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध अस्पताल सहयोग समिति तथा स्थानीय जनताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकामा छानबिनका निम्ति उजुरी तथा मागपत्र पेश गरेका छन् ।
विमल होडालाई नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौँ शाखाले अनियमिततामा संलग्न भएको देखिएको आधारमा निलम्बनसमेत गरिसकेको छ ।
अनियमितता र भ्रष्टाचारको आरोप लागेका अध्यक्ष श्रेष्ठले अध्यक्षता गर्ने र महासचिव होडाले प्रगति प्रतिवेदन पेश गर्ने ३७ औं वार्षिकोत्सव कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र विशेष आतिथ्यता प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने खबरले पनि धेरैलाई आश्चर्यचकित पारेको छ । संस्थाका धेरै शाखाहरूले बहिष्कार गर्ने मनसाय राखिसकेको र भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूले सञ्चालन गर्ने कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा बोकेको सरकारसम्बद्ध पार्टीका वरिष्ठ नेता र प्रदेश मुख्यमन्त्री सहभागी भएमा भ्रष्टाचार र भ्रष्टाचारीलाई टेवा पुग्ने कदम हुन जाने संस्थाका सदस्यहरूमाझ चर्चाको विषय बनेको छ ।
व्यवस्थापन समितिका पदाधिकारीहरूको अनियमितता र भ्रष्टाचारले थिलथिलो बनी भताभुङ्ग बन्न लागेको अस्पताल जोगाउन भक्तपुर नगरपालिकाले व्यवस्थापनको जिम्मा लिई सुचारूरुपमा सञ्चालन गरिरहेकोलाई ‘भनपाद्वारा अस्पताल कब्जा’र ‘बिरामीको विचल्ली’ जस्ता आधारहीन हल्ला गरी भ्रष्टहरूले सत्तासीन नेकपा र प्रमुख प्रतिपक्ष नेकांका केही नेताहरूलाई फसाइसकेको परिप्रेक्ष्येमा पूर्वप्रम खनाल र मुख्यमन्त्री पौडेल पनि भ्रष्टहरूकै जालमा पर्न लागेका त होइनन् भनी प्रश्न उठेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति आएपछि अत्यन्त पारदर्शिता र सुदृढ व्यवस्थापनका साथ बिरामीको झन् राम्रो उपचार सेवा भइरहेको छ । अस्पतालका बिरामी र बिरामीका आफन्तले सेवामा सुधार आएकोमा खुसी र सन्तोष व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *