भर्खरै :

प्रदेशसभाको चौथो अधिवेशन सम्पन्न

हेटौँडा, २५ भदौ । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिमको चालू चौथो अधिवेशन अन्त्य गर्नुभएको छ । बुधबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कोइरालाले पठाउनुभएको सूचना पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको बैठक अन्त्य गर्न मुख्यमन्त्री डोरमणि पौडेलले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष बुधबार बिहान नै सिफारिस गरेर पठाउनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश नं ३ को प्रदेशसभाको बुधबार बसेको बैठकले दुई वटा विधेयकलाई बहुमतले पारित गरेको छ । प्रदेशमा सार्वजनिक निजी, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७६ पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको चौथो अधिवेशन बैठक वैशाख ३० गतेदेखि सुरू भई बुधबारसम्म जम्मा ३२ पटक बैठक बसेको उक्त सचिवालयले जनाएको छ । सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएकोमध्ये अन्तिम बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट गरेको छ । पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरिसक्नुभएको छ ।
प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी, नेकपा, नेपाली काङग्रेस, साझा विवेकशील पार्टी, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्र सांसदसहित जम्मा १०९ जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *