भर्खरै :

सहकारीले सदस्यलाई आत्मनिर्भर बनाउनुपर्ने

भक्तपुर, २८ भदौ । बाराही बचत तथा ऋण सहकारी संस्थाको बीसौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले सहकारी संस्थामा जम्मा भएको रकम सामूहिक हितमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सदस्यहरुको गुनासोलाई सम्बोधन गरी संस्था अगाडि बढ्नुपर्छ भन्नुभयो ।
आत्मनिर्भर भएर बाँच्नेले स्वाभमानीपूर्वक जीवन निर्वाह गर्नसक्ने भएकाले सहकारीले सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू सहकारीले सञ्चालन गर्नुपर्छ, उहाँले भन्नुभयो ।
भनपाले पर्यटन क्षेत्रलाई अगाडि बढाउने लक्ष्य लिई विभिन्न भाषाका तालिम र सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
सरकारको पञ्चवर्षीय योजनाले निजी क्षेत्रलाई बढावा दिने काम गरेको चर्चा गर्दै उहाँले निजीकरणको पक्ष लिनेहरू कम्युनिस्ट हुननसक्ने धारणा राख्नुभयो ।
भारतले बनाएको अनियमित बाँधका कारण तराईका जनता बाढीबाट पीडित हुनुपरेको र नेपालका गाउँहरू डुबानमा परे पनि सरकारले केही बोल्न नसक्नुले यो सरकार भारतीय दलाल भएको पुस्टि गर्छ, उहाँले भन्नुभयो ।
भनपा वडा नं. ४ का वडा अध्यक्ष कुमार चवालले ब्याज धेरै दिने सहकारी संस्था भन्दा आर्थिक नियममा बस्ने र देश र जनताको सेवा भावले काम गर्ने सहकारी संस्थामा सदस्य भई कारोबार गर्नुपर्ने बताउनुभयो ।
सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका जगनाथ प्रजापति, वयोवृद्ध नारायणभक्त राजलवट, सञ्चालक कृष्णभक्त बोडे श्रेष्ठलगायतले शुभकामना र संस्थाका अध्यक्ष बलराम प्रजापतिले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले वयोवृद्ध सदस्य नारायणभक्त राजलवटलाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *