चीनका वरिष्ठ नेता चियाङ चियन–कुओ भक्तपुरमा
- भाद्र ८, २०८३
भक्तपुर, २८ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक नगर समितिको दोस्रो नगर सम्मेलनको नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद गोसाईले निर्वाचनको मत सङ्ख्याले कुनै पनि पार्टीको आकारलाई मूल्याङ्कन गर्न नमिल्ने उल्लेख गर्दै राजनीतिमा सङ्ख्या होइन विचार महत्वपूर्ण हुन्छ भन्नुभयो । पार्टीले एक जना दृढ जुझारु र इमानदार कार्यकर्ता रहेसम्म देश र जनताको पक्षमा सङ्घर्ष र आन्दोलन अगाडि बढाउने उहाँले बताउनुभयो ।
साथीहरू हल्लाको पछि नलागी सङ्गठनलाई आन्तरिकरूपमा मजबुत र सक्रिय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका सूर्यभक्त त्वातीले रातो झन्डा बोक्दैमा कुनै पनि दल कम्युनिस्ट नहुने र रातो झन्डालाई खसाल्न रातो झन्डा बोक्ने संशोधनवादीहरूसँग सचेत हुनुपर्छ भन्नुभयो । किसान आन्दोलनको जगमा हुर्केको नेमकिपाको इतिहासलाई नयाँ पुस्तामा पुस्तान्तरण गरी पार्टी र सङ्गठन विस्तारका लागि नयाँ पुस्ता तयार पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राकिसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष राजेन्द्र बखुन्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका प्रतिनिधि नारायणभक्त भेले, समितिका निर्मल माक र श्यामसुन्दर सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रमको बन्द सत्रबाट श्यामसुन्दर सुवालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरियो ।
क्रान्तिकारी किसान सङ्घको चाँगु सम्मेलन उद्घाटन
भक्तपुर, २८ भदौ । ‘जमिन जोत्नेलाई वितरण गराउन क्रान्तिकारी भूमिसुधार, समाजवादी प्रचार अभियानको लागि दोस्रो चाँगु नगर सम्मेलन’ भन्ने नाराका साथ नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगु नगरको दोस्रो नगर सम्मेलन शनिबार भयो ।
सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेश सांसद सृजना सैंजूले गर्नुभयो ।
कार्यक्रममा सांसद सैंजूले राजनीति पद र पैसाको लागि नभई देश र जनताको सेवाको लक्ष्यका साथ हुनुपर्ने बताउनुभयो ।
उहाँले नेमकिपाले नागरिकतालाई सिनेमाको टिकट र कागजको खोस्टा बनाउन नहुनेमा जोड दिँदै आएको बताउनुभयो । चालीस लाखभन्दा बढी विदेशी नागरिकले नेपाली नागरिकता लिइसकेको अवस्थामा नेपाल अर्को सिक्किम हुनसक्नेमा नेपाली जनता सजग हुनुपर्ने सांसद संैजूको भनाइ थियो ।
सत्तारुढ नेकपाले समाजवादी आदर्श त्यागेको भन्दै उहाँले सरकारले नेपाली जनताको हितमा भन्दा दलाल, ठेकेदार र ठगको हितको लागि काम गरिरहेको प्रस्ट पार्नुभयो । 
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नक्कली कम्युनिस्टलाई जनताले समयमै चिन्नुपर्ने बताउनुभयो । जनताको विश्वासलाई धोखा दिएर नेकपाले जनतालाई विश्वासघात गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनतासँग कम्युनिस्टको नाममा मत लिएर नेकपाले कम्युनिस्ट सिद्धान्तविपरीत काम गरिरहेको छ ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले जमिन जोत्नेको क्रान्तिकारी भूमिसुधार लागू नभएसम्म कृषिमा आमूल परिवर्तन सम्भव नभएको बताउनुभयो । भूकम्पपीडित जनतालाई सरकारले दिने भनिएको तीन लाख रुपैयाँ बजार भाउमा वृद्धि भएसँगै घर बनाउन अपुग भएको बताउँदै उहाँले किस्ताबन्दीमा भन्दा एकमुष्ट दस लाख रुपैैयाँ दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेकपाको सरकार किसानविरोधी भएको कुरा रासायनिक मलमा दिँदै आएको अनुदान फिर्ता हुनुबाट स्पष्ट हुने भन्दै अध्यक्ष फोँजूले राजनीतिक कार्यकर्ता सैद्धान्तिक र राजनीतिकरूपमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेक्राकिसङ्घ दोस्रो चाँगु नगर सम्मेलन तयारी समितिका संयोजक नारायणभक्त न्हेम्हाफुकीको सभापतित्वमा भएको कार्यक्रममा चाँगुनारायण वडा नं ९ का वडाध्यक्ष गणेश त्यात, नेक्राकिसङ्घ भक्तपुर नगर समितिका गंगाराम ज्याख्व र कमला गिरीलगायतले बोल्नुभएको थियो । सम्मेलनले नारायणभक्त न्हेम्हाफुकीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
कालीकोटमा महाधिवेशनको तयारी
कालीकोट, २८ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको सिलसिलामा कार्यकर्ता भेला तथा प्रचार गतिविधि भइरहेको छ ।
यसैबीच शनिबार सदरमुकाममा नेमकिपाको कार्यकर्ता भेला सम्पन्न भयो । भेलामा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले महाधिवेशनलाई पुँजीवादी व्यवस्थाविरूद्ध जनतालाई सचेत पार्ने अभियानको रूपमा लिएको बताउनुभयो ।
उहाँल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूले जनतालाई दिग्भ्रमित बनाएको भन्दै महाधिवेशनले कार्यकर्तामा उत्साहको सञ्चार भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले सञ्चालन गरेको समाजवादी गणतन्त्र प्रचार अभियान एवम् वैदेशिक हस्तक्षेपविरूद्धको जनजागरण अभियानप्रति जनताको ऐक्यबद्धता भएको बताउनुभयो ।
देशको सार्वभौमिकता रक्षाको आन्दोलन अझ तीव्र पार्नुपर्ने भन्दै उहाँले पुँजीवादी शोषणरहित जनता एकजुट हुनैपर्छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कालीकोटका सचिव खड्गराज शाहीले नेमकिपाले नकेपाबारेको जनताको भ्रम चिरिँदै गएको बताउनुभयो । भेलामा सहभागीले आ–आफ्नो क्षेत्रका गतिविधिको जानकारी गराउनुभएको थियो ।
जनताको सङ्घर्षले राजतन्त्र समाप्त
भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टी मध्यपुर वडा नं. ५ र ६ समितिको आयोजनामा शनिबार तुलाननीमा चोक सभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले न्यायप्रेमी जनताको एकताबाट राजतन्त्रको अन्त्य भएको चर्चा गर्दैै पुँजीपतिहरूविरुद्ध मजदुर वर्ग सङ्गठित हुनु आवश्यक छ भन्नुभयो ।
सक्कली कम्युनिस्टहरुलाई बदनाम गर्न नेकपाजस्ता नक्कली कम्युनिस्टहरु सक्रिय रहेको र नेकपाले सिद्धान्तविपरीत चरित्र प्रदर्शन गरिरहेको उहाँले बताउनुभयो ।
असोज ३, ४ र ५ गते हुने नेमकिपाको सातौँ महाधिवेशनमा उच्च किसिमको सैद्धान्तिक छलफल हुने उल्लेख गर्दै केन्द्रीय सदस्य प्रजापतिले महाधिवेशन सफल पार्न नैतिक र भौतिक सहयोगको लागि अनुरोध गर्नुभयो ।
मध्यपुर नगर समितिका उपाध्यक्ष प्रेमजन थापा श्रेष्ठले सरकारले बुद्धिजीवीहरुलाई दिग्भ्रमित पार्ने काम गरिरहेको छ भन्नुभयो ।
कार्यक्रममा मध्यपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार प्रजापति, नेक्रायुसङ्घका सुरेन्द्र था र प्रेमकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
डकर्मी भेला सम्पन्न
भक्तपुर, २८ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा डकर्मीहरूको भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्रराज गोसार्ईले नेमकिपाको सातौँ महाधिवेशनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक शक्तिले नियालिरहेको बताउनुभयो ।
महाधिवेशन आफैँ पनि जनतालाई राजनीतिकरूपमा सचेत बनाउने अवसर भएको जानकारी गराउँदै देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै नेमकिपाको विशेषता भएको बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालका अधिवक्ता राजु कैतीले पान नं दर्तासम्बन्धी जानकारी दिनुभयो । आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको भेलामा सूर्यनारायण फाँजू र जगतराम न्हिसुतूले पनि बोल्नुभएको थियो ।
यसैबीच नेपाल क्रान्तिकारी मजदुर सङ्घ सीटीएल औषधि कारखाना एकाइ समितिको आयोजनामा मजदुर भेला भयो ।
भेलामा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले आसन्न महाधिवेशनको तयारीबारे जानकारी दिनुभयो । उहाँले महाधिवेशन आफैँ राजनीतिक सङ्घर्ष भएकोले मजदुरहरूको सक्रिय भूमिका आवश्यक हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रुकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका सचिव रमेश दुमरुले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपाको सातौँ महाधिवेशनको प्रचारार्थ शनिबार नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा डकर्मीका परिवारहरूसँग भेला भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैँजूले विवाह गरेलगत्तै अङ्गीकृत नागरिकता दिने प्रस्ताव देशको हितविपरीत हुने धारणा राख्नुभयो ।
उहाँले भारतीय विस्तारवादले बनाएका अनियमित बाँध र तटबन्धका कारण तराईको भूभाग जलमग्न हुने र तराईका जनताले दुःख पाउने गरेको बताउनुभयो ।
उहाँले महाधिवेशन सफल बनाउन सहयोगको लागि आग्रह गर्नुभयो । कार्यक्रम नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा भएको थियो ।
महिलाहरू महाधिवेशनको तयारीमा
भक्तपुर, २८ भदौ । नेमकिपाको सातौँ महाधिवेशन सफल पार्न नेपाल क्रान्तिकारी महिला सङ्घ भनपा वडा नं. ४ एकाइ समितिको आयोजनामा स्थानीय दुमलाचा टोलमा महिला भेला भयो । सो भेलामा नेमकिपा भक्तपुर नगर समितिका सदस्य उपेन्द्र सुवालले जनसहभागिताको आवश्यकता औँल्याउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको कारण देशमा व्यापक भ्रष्टाचार बढेकोले जनताको स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्थाले इमानदारिता देखाउनुपर्ने बताउनुभयो ।
दैनिक जनजीवनको हरेक समस्या समाधान सङ्गठित शक्तिले मात्रै सफल बनाउने हुँदा देशको शोषित पीडित महिलाहरूको एकता अपरिहार्य हुने बताउनुभयो । सो कार्यक्रममा कृष्णगोविन्द दुवालले हरेक घर–घरबाट महिलाहरू उद्घाटन ¥यालीमा सक्रिय सहभागिताको लागि अनुरोध गर्नुभयो ।
नेक्रामहिलासङ्घ भनपा ४ का कृष्णलक्ष्मी दुवाल, नेक्राकिसङ्घका पृथ्वीकुमार प्रजापति र स्वास्थ्य स्वयम्सेविका बुद्धलक्ष्मी त्वायनाले पनि बोल्नुभएको थियो ।
स्वास्थ्यकर्मी भेला
भक्तपुर, २८ भदौ । नेमकिपाको सातौँ महाधिवेशनको तयारीस्वरूप स्वास्थ्यकर्मीहरूको भेला शनिबार सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवांले महाविधेशनमा स्वास्थ्यकर्मीहरूले निभाउनुपर्ने भूमिकाबारे जानकारी दिँदै जिम्मेवारीअनुसार सहयोग गर्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता भएको कारण भक्तपुरवासी र अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूको पटक–पटकको आग्रहपछि भनपाले व्यवस्थापनको जिम्मेवारी लिएको र भनपाको व्यवस्थापनपश्चात् अस्पताल अझ व्यवस्थित र बिरामीको चाप बढेको जानकारी दिनुभयो ।
भेलामा चिकित्सक समाज नेपालका अध्यक्ष डा. रत्नसुन्दर लासिवा र नर्सिङ समाजका अध्यक्ष देबिका दनेखूले पनि बोल्नुभएको थियो ।
Leave a Reply