पत्रकार, लेखक र साहित्यकारको लेखले जनताको सेवा गर्नमा थप हौसला प्रदान
- भाद्र ८, २०८३
काठमाडौँ, २८ भदौ । हुन त प्रदर्शनी कलाको हो । तर, प्रदर्शनी फन्को मारिसक्दा नेपालको इतिहास र समाजशास्त्रको एउटा लामो कक्षा सकेर बाहिरिएजस्तो महसुस हुन्छ । पुस्तकमा थुप्रै पानाले व्याख्या गरेका कुरा एउटै चित्रमा निकै जीवन्त तरिकाले चित्रण गरिएको छ । इतिहासका विभिन्न महत्वपूर्ण घटनामा आधारित चित्रले दर्शकको मानसपटलमा पुस्तकका पानामा पढेका ऐतिहासिक प्रसङ्ग सपाट आँखासामु भइरहेको अनुभूति गराउँछ । पहिलेको काठमाडाँै उपत्यकाको रमणीय अवस्था चित्रण गरिएका चित्र देख्दा प्रदर्शनीका दर्शक छक्क पर्छन् र भन्छन्, “पहिलेको काठमाडौँ उपत्यका क्या सुन्दर हगि !”
कलाकार हरिप्रसाद शर्माले कोर्नुभएका झन्डै ४५ वटा चित्रहरू बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा छन् ।
कलाकार शर्माले निकै फराकिलो विषयमा आधारित रहेर कोरिएका चित्र प्रदर्शनीमा प्रदर्शित छन् । लिच्छविकालीन शासक अंशु वर्माको कैलाशकुट दरबारमा चिनियाँयात्री हुयान सानको उपस्थितिदेखि मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नै अनुहारको भावभङ्गिमासँग मेल खाने मुखाकृति भएको गरुड चढाएको समारोहसम्म, राजकुमारी भृकुटीको चिनियाँ सम्राट स्रिङसान ग्याम्पोसँगको पहिलो भेटदेखि रानीपोखरीको उद्घाटन समारोहमा प्रताप मल्लको उपस्थितिसम्म, पृथ्वीनारायण शाहले इन्द्रजात्राको दिन कान्तिपुरमा गरेको हमलादेखि अशक्त शाहको दिव्यउपदेश कथनीसम्मका विषयमा शर्माले कुची चलाउनुभएको छ ।
अरनिको चीन प्रस्थान र कोत पर्वदेखि जङ्गबहादुर राणाको बेलायती नगरबधु लौरा बेलसँगको भेट, जयप्रकाश मल्लले मध्यरातमा तलेजु भवानीसँग पासा खेलेको, मल्लकालीन कान्तिपुरमा उन्मत्त राँगोलाई भैरवले मार्ने जात्रा, ल्हासा जान भक्तपुरबाट हिँडेको टोलीलगायत काठमाडौँ उपत्यकाका विभिन्न सभ्यता र संस्कृतिका विषयलाई शर्माले क्यान्भासमा उतार्नुभएको छ । कलाकारले कतिपय कुरा इतिहासका विभिन्न प्रसङ्ग र लोककथनीका आधारमा ती तस्वीर बनाउनुभएको छ भने कतिपय कृति भने आफ्नै अनुभवमा आधारित भएर तस्वीर कोर्नुभएको छ ।
कला प्रदर्शनका सहभागी जो कोही दर्शकले कलामा व्यक्त इतिहास र संस्कृतिको चित्रणले कलाकार शर्मासँग रहेको इतिहास र संस्कृतिको गहिरो ज्ञानको भेउ पाउनसक्छ । रानीपोखरी पुनःनिर्माणबारे अनेकन तर्क वितर्क र विचार प्रकाशमा आइरहेको अवस्थामा शर्माले प्राचीन रानीपोखरीको वास्तु झल्किने तस्वीर बनाएर रानीपोखरी पुनःनिर्माणको अभियानमा समेत योगदान पु¥याउन खोज्नुभएको छ ।
आजको प्रदूषित, अति व्यस्त, घरै घरले भरिंदै गएको, फोहोर नदी बग्ने, कृषि भूमि खुम्चिँदै गएको काठमाडौँ उपत्यका र हिजोको काठमाडौँ उपत्यकाबीच आनका तान भिन्नता छ । आफ्नो बाल्यकालीन सम्झनासमेत मिसाएर शर्माले बनाउनुभएका उपत्यकाका सुन्दरतम चित्र देख्दा दर्शक आजको अवस्थादेखि चुकचुकाउँछन् । उहाँले विशेषतः नेवारी संस्कृतिका स–साना सांस्कृतिक एवं सामाजिक पक्षलाई पनि चित्रमा समेट्नुभएको छ ।
शर्माका यस्ता तस्वीरहरूको प्रदर्शनी २०६७ र २०७२ मा पनि आयोजना गरिएको थियो । ‘युगको आँखामा नेपाल, प्राचीन तथा मध्यकालीन संस्कृति र वास्तुकलाका पुनरोदय’ शीर्षक राखिएको अहिलेको प्रदर्शनी उनको तेस्रो एकल प्रदर्शन हो ।
कला प्रदर्शनी आगामी असोज ९ गतेसम्म चालू रहनेछ ।
Leave a Reply