भर्खरै :

चितवन मेडिकल कलेजको आन्दोलन चालू

चितवन, १ असोज । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनीहरू भन्छन् ।
मुख्यरूपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु. १२ लाख बढी शुल्क कलेजले असुल गरेको छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु. ४२ लाख तोकेको बताउनुभयो ।
यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु. ६ लाख मात्र अतिरिक्त शुल्क लिइएको उहाँको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उहाँले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरू तयार रहेको बताउनुभयो । तर, संसदीय समिति स्वयम् मेडिकल कलेज सञ्चालकको पैसामा बिकेर विद्यार्थीमाथि अतिरिक्त शुल्क लिन दिने गरेको विगतका नजिर छन् । त्यसकारण न्यौपानेको भनाइले विद्यार्थीहरू विश्वस्त हुनसक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *