भर्खरै :

कम्युनिस्ट पार्टीको लागि सिद्धान्त महत्वपूर्ण

भक्तपुर, १ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ ताथली एकाइ समितिको आयोजनामा नेमकिपाको सातौँ महाधिवेशन प्रचारस्वरूप मङ्गलबार युवा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले पार्टीको महाधिवेशनले पार्टीको राजनीतिक दृष्टिकोण र उद्देश्य स्पष्ट पार्नुका साथै नेतृत्व चयन गर्ने भएकोले महाविधेशनको महत्व धेरै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको सातौँ महाधिवेशनले कार्यकर्ताहरूलाई अझ प्रशिक्षित गर्छ । पार्टीको निर्देशनअनुसार इमानदारीपूर्वक देश र जनताको सेवामा समर्पित हुने भावना युवा–कार्यकताहरूले राख्नु आवश्यक छ ।”
कम्युनिस्ट पार्टीको लागि सानो–ठूलो र सङ्ख्याको कुनै महत्व नहुने चर्चा गर्दै सांसद गोसाईले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराअनुसार जनताको सेवा गरेमात्र कम्युनिस्ट पार्टीको सार्थकता रहने बताउनुभयो ।
“नेमकिपाले सङ्गठनलाई अझ बलियो बनाउने र कार्यकर्ताहरूलाई अझ परिपक्व र सुसंस्कृत बनाई पार्टी गतिविधि अगाडि बढाइरहेको छ”, उहाँले भन्नुभयो ।
पार्टी कार्यकर्तामा हीनताबोध होइन उच्च मनोबल हुनुपर्ने चर्चा गर्दै सांसद गोसाईले पार्टी कार्यकर्ताहरूले सङ्कठनको आवश्यकताअनुसार आफूलाई परिचालित गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा व्यापक जनताको हितमा कानुनी सङ्घर्षका साथै परिआएमा गैरकानुनी सङ्घर्ष गर्न तयार छ ।”
नेक्रायुसङ्घ भजिसका सचिव एच.एस. सुवालले देशको सार्वभौमिकता र स्वाभिमानका लागि सङ्घर्षशील युवाहरू तयार गर्ने राजनीतिक पार्टी नेमकिपाको महाधिवेशन सफल पार्न सबैले आर्थिक, भौतिक, नैतिकरूपमा सघाउनुपर्ने आवश्यकता औँल्याउँदै आ–आफनो जिम्मेवारी पूरा गर्न युवाहरूलाई आग्रह गर्नुभयो ।
ताथली वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले नेमकिपाले इमानदारिता र पारदर्शितामा जोड दिँदै आएको छ भन्नुभयो ।
नेक्रायुसङ्घ ताथली ९ वडा एकाइ समिति अध्यक्ष हरिसुन्दर छुकांको सभापतित्वमा भएको सो भेलामा नेमकिपा वडा एकाइ अध्यक्ष नारायण न्हेम्हाफुकी, आयोजक समितिका राजेन्द्र शाखकर्मी, रमेश न्हेम्हाफुकीलगायतले युवाहरू सक्रिय भई लागेको खण्डमा महाधिवेशन भव्यरूपमा सफल बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *