भक्तपर, ४ असोज । भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीको प्रमुख अतिथ्यतामा समय बचत तथा ऋण सहकारी संस्था लि. को नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भयो ।
सभामा उद्घाटन मन्तव्य राख्दै उपप्रमुख रजनी जोशीले भनपाका सम्पूर्ण सहकारी संस्थाले स्थानीय तथा सदस्यहरूलाई केन्द्रित गरी सदस्य संस्था र नाफा कमाउनेभन्दा पनि सामूहिक हितलाई ध्यान दिएर समाज विकासमा सहयोगीको भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नपाले सम्पूर्ण नगरभित्रका सहकारीलाई सहकारी ऐन नियमभित्र रही नियमन गरिरहेको र सहकारीले नयाँ पुस्तालाई सीपमूलक तालिमलगायत सदस्यहरूको व्यक्तित्व विकासमा सहयोग पुग्ने विभिन्न क्रियाकलापहरू सहकारीले सञ्चालन गर्नु आवश्यक छ ।”
भक्तपुर नपाको आम्दानीबाट शिक्षा, तालिम, सम्पदा संरक्षण, पर्यटन विकासका कामहरू भइरहेको जानकारी दिँदै उपप्रमुख जोशीले सहकारीले पनि पर्यटन विकास तथा सम्पदा संरक्षण गर्न सहकारीकर्मीहरू पनि लाग्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले सहकारी संस्थासित स्थानीय धेरै व्यक्ति र परिवार नै सम्बन्धित हुने भएको र बचत तथा ऋण कारोबार गर्ने भएकोले सदस्यहरूले सञ्चालक समितिले समुदायको हित सामाजिक उत्तरदायित्व वहन हुने काम गरेको छ छैन, निरन्तर निगरानी गर्नुपर्ने बताउनुभयो । सहकारी समूहमा आधारित मात्र भएर नहुने काम गर्दा समुदायमा आधारित भएर काम गरेको वा नगरेको हेर्नुपर्ने पनि बताउनुभयो । उहाँले सीप विकास, सामाजिक उत्तरदायित्व, युवा लक्षित कार्यक्रमलाई अगाडि लग्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा समाज सुधार माविका प्रअ लक्ष्मीनारायण दुवालले संस्थाजस्तै देश पनि स्थानीय जनताको जनभावनाअनुसार चल्नुपर्ने बताउँदै देश विदेशीको इसारामा सञ्चालन भइरहेकोले गर्दा हाम्रो सार्वभौमिकता गुमिरहेको र सिक्किमलाई जस्तै नेपाललाई पनि भारतमा विलय गराउने चाल चलिरहेको विस्तारवादी नीति लिइरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका प्रतिनिधि राजकुमार लघुले समुदायमा आधारित संस्था कामदार वर्गको संस्था हो र बचत गरेको रकम सही ठाउँमा लगानी गर्नुपर्ने र सदस्यहरूको हितको काममा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सिद्धि गणेश साकोसका अध्यक्ष राजन लाखाले समय साकोसको साधारणसभा तथा तेस्रो निर्वाचन सफलताको कामना गर्दै समय साकोस नेतृत्वदावी भूमिकामा सामाजिक उत्तरदायित्व वहन गर्दै अगाडि बढिरहेको संस्था हो भन्नुभयो ।
संस्थाका अध्यक्ष बाबुकाजी गाईजूको सभापतित्वमा भएको थियो ।
संस्थाका अध्यक्षले सञ्चालन गर्नुभएको दोस्रो चरणको बन्द सत्रमा क्रमशः युवा तथा महिला बालबालिका उपसमितिका संयोजक लक्ष्मीप्रसाद छुस्याबाग, शिक्षा उपसमितिका लक्ष्मीप्रसाद गाईजू, ऋण उपसमितिका संयोजक श्यामसुन्दर बेकोजू, लेखा सुपरीवेशक्षण समिति संयोजक राकेश शिवहरि, कोषाध्यक्ष रामसुन्दर भैनात्व, सचिव चन्द्रकृष्ण ग्वाछाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा क्रमशः सञ्चालक सदस्य श्यामसुन्दर बेकोजु तथा लक्ष्मीप्रसाद गाईजूले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमबाट श्यामसुन्दर बेकोजूको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र राकेश शिवहरिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरिएका छन् ।