जारशाही संसद्मा बोल्शेभिक सांसद–२
- कार्तिक २०, २०८२
–सुरजसिंह
नेपालमा आज पनि धेरै यस्ता महिला नेतृहरू छन् जो नेपालीसँग विवाह गरेका कारण जनप्रतिनिधि भएका छन् । अर्कोतिर नेपाल र भारतबीच ‘रोटीबेटीको सम्बन्ध’ भनिँदै आएको छ । दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध हुँदै आएको तथ्यलाई कसैले नकार्न सक्दैन । नेपालको तराईलगायत सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा यस्तो सम्बन्ध भएकाहरू प्रशस्त छन् । नेपालमा हाल वैवाहिक अङ्गीकृत नागरिकताबारे राजनीतिक दलहरूबीच विवाद कायमै छ । ‘रोटीबेटीको सम्बन्ध’ भन्दै कतिपयले वैवाहिक अङ्गीकृत नागरिकता वितरणलाई खुकुलो बनाउन दबाब दिइरहेका छन् । तर, भारतमा भने भारतीयसँग विवाह गरेका नेपाली चेलीलाई मताधिकार तथा निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरिएको तथ्य हालै बाहिर आएको छ ।
भारतको अखबार ‘हिन्दुस्तान दैनिक’ का अनुसार विवाहको आधारमा मात्र नेपाली चेलीले भारतमा हुने निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने गरी निर्वाचन आयोगले फैसला गरेको छ । उत्तराखण्डको पिथौरागढ जिल्लामा भारतीयसँग विवाह गरेकी एक नेपाली चेलीले गाउँ पञ्चायत निर्वाचनमा उम्मेदवार हुन चाहेपछि विवाद बढेको थियो । सोही विवादमा निर्वाचन आयोगले फैसला गर्दै नागरिकताविना निर्वाचनमा भाग लिन नपाउने फैसला गरेको हो । ती महिलाको नाम मतदाता नामावलीमा रहे पनि उनलाई मताधिकार र उम्मेदवार हुनबाट वञ्चित गरिएको हो । निर्वाचन आयोगले भारतीय नागरिकता नभएका तथा विवाहको आधारमा मतदाता नामावलीमा सूचिकृत भएका त्यस्ता सबै महिलाको नाम सूचीबाट हटाउन पनि निर्देशन दिएको छ ।
उत्तराखण्डको तीन जिल्लाका करिब अढाइसय किलोमिटर सीमा नेपालसँग जोडिएको छ । पिथौरागढ, चम्पावत र यूएसनगर जिल्लामा ठूलो सङ्ख्यामा नेपाली चेलीहरूको विवाह भएको पाइन्छ । देहरादूनमा पनि गोर्खाली समुदायले सदियाँैदेखि नेपालीसँग पारिवारिक सम्बन्ध गाँसेको उक्त अखबारले जनाएको छ । भारतमा भारतीय पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले भारतको अङ्गीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्छ ।
Leave a Reply