भर्खरै :

विषादी र मानव स्वास्थ्य

सविन ख्याजू
पृष्ठभूमि
कृषिको व्यवसायीकीकरण र आधुनिकीकरण भने बित्तिकै बढी उत्पादन र उत्पादकत्व, बेमौसमी खेती, किसानको आय वृद्धि (नाफा), ठूलठूला ट्याक्टर मेसिनको प्रयोग, उन्नत जातको बीउ, सिँचाइको बन्दोबस्त, चिस्यान केन्द्रको व्यापक प्रयोग, भण्डारणको उचित बन्दोबस्त, मल र विषादीको आवश्यक प्रयोग, बजारीकरण आदिलाई जनाउँछ । परम्परागत खेतीमा आधुनिकीकरण गर्ने यी उपायहरू सर्वमान्य हुन् । विषादीको प्रयोगको रासायनिक खेतीसँग बढी सम्बन्धित छ । बालीमा लाग्ने रोग–कीरा नियन्त्रण गर्न विषादीको प्रयोग अपरिहार्य भएको छ । नयाँ प्रजातीका रोग–कीरा बढ्नुका साथै पुराना रोग–कीरामा विषादी प्रतिरोध क्षमता वृद्धि हुनुले कडा प्रकारका विषादीको आवश्यकता वढेको हो । नेपालमा हाल २,५७६ थरीका विषादी (ट्रेड नाम) र १३९ थरीका वैज्ञानिक नामका विषादी बिक्री भइरहेका छन् ।
वि.सं. २०७६ असार ३ गते मन्त्रिपरिषद्को बैठकले भारतलगायतका देशहरूबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । असार १४ गते भारतीय राजदूतावासले परीक्षण नगर्न दबाब दिएपछि विषादी परीक्षण स्थगित गरेको थियो । हालसम्म उक्त परीक्षण गर्नसकेनन् । यस घटनाले यो सरकार नेपाली जनताप्रति बफादार नभएको दर्शाउँछ । यस घटनापछिको बहसले आम मानिसहरू स्वास्थ्यप्रति सचेत भएको एउटा उदाहरण दियो ।
विषादीको प्रयोग आर्थिक र स्वास्थ्यको हिसाबले महँगो र जोखिमपूर्ण भएकोले सचेत मानिसहरू प्राङ्गारिक (अर्गानिक) खेती प्रविधि अपनाउन थालेका धेरै उदाहरणहरू छन् । प्राङ्गारिक खेतीमा रोग–कीरा नियन्त्रण गर्न विविध पासो, जैविक विषादी, खेती समय तालिका व्यवस्थापन आदि प्रयोग गरिन्छन् भने रासायनिक विषादी अन्तिम विकल्पको रूपमा प्रयोग गरिन्छ । विषादी प्रयोगसम्बन्धी राम्रो ज्ञान किसानहरूलाई छैन । खेतीपातीमा आवश्यक मात्राभन्दा बढी विषादी प्रयोग गरिँदा नेपाली जनता चिन्तित छन् । नयाँ–नयाँ रोग र समस्याहरू नेपाली उपभोक्ताको स्वास्थ्यमा देखिन थालेका छन् । कृषिमा प्रयोग गरिने रासायनिक विषादी, त्यसको असर र जोखिम न्यूनीकरणबारे यस लेख केन्द्रित छ ।
कृषि विषादी
कृषि विषादी भन्नाले तरकारी र फलफूल बालीका विभिन्न शत्रु रोग–कीरा नियन्त्रण गर्न प्रयोग गर्ने वस्तु बुझिन्छ । विषादीअन्तर्गत कीरा मार्ने कीटनाशक (मालाथियन, साइपरमेथ्रिन, डेल्टामेथ्रिन, डाइक्लोरभस आदि) विषादी, सुलसुले मार्ने सुलसुलेनाशक (डाइकोफल) विषादी, ढुसी मार्ने ढुसीनाशक (क्याप्टान, कार्बोक्सिन, थिराम, जिनेव, कपर अक्सिक्लोराइड आदि) विषादी, मुसा मार्ने मुसानाशक (ब्रोमाडियोलोन, जिंक फोस्फाइड) विषादी, ब्याक्टेरिया मार्ने ब्याक्टेरियानाशक, झारपात मार्ने झारपातनाशक (२,४–डि, एमोनियम साल्ट अफ ग्लाइफेसेट, एट्राजिन, व्युटाक्लोर, ग्लाइफेसेट आदि) हुन् । पछिल्लो समय जैविक विषादी (एजाडिरेक्टिन, व्युभेरिया बेसिआना, मेटाराइजम एनिसेपाली, ट्राइकोडर्मा भिरिडी, भर्टिसिलियम लेकानी आदि) को प्रयोग बढ्न थालेको छ । यी सबै विषादी व्यापक प्रयोग भइरहेका छन् । तरकारी र फलफूलमा विषादी सामान्यतः दुई चरणमा प्रयोग हुन्छः रोगकीरा नियन्त्रणका बेला र बजारीकरणको बेला ।
मानव स्वास्थ्यका लागि निकै हानिकारक केही विषादीहरू नेपाल सरकारको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले प्रतिबन्धित गरेको छ । ती विषादीहरू क्लोरोेडेन, डी.डी.टी., डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, इन्डोसल्फान, टोक्साफेन, बी.एच.सी., लिन्डेन, फस्मामिडन, मिथायल पाराथायन, अर्गेनोमर्करी क्लोराइड र मोनोक्रोटोफस हुन् ।
विश्व स्वास्थ्य सङ्गठनले विषादीको वर्गीकरण निम्नानुसार गरेको छ ः
१. पहिलो ए (IA)– अत्यन्त खतरनाक (Extremely hazardous)
२. पहिलो बी (IB)– खतरनाक (Highly hazardous)
३. दोस्रो (II)– मध्यमरूपले खतरनाक (Moderately harardous)
४. तेस्रो (III)– सामान्यरूपले खतरनाक (Slightly hazardous)
५. अपेक्षाकृत सुरक्षित (Unlikely to present acute hazard/non-hazard)
सामान्यतया विषादीलाई सङ्केतको आधारमा रातो रङ्ग (ज्यादै विषालु), पहेँलो रङ्ग (विषालु), निलो रङ्ग (मध्यम विषालु) र हरियो रङ्ग (अपेक्षाकृत सुरक्षित) गरी चार समूहमा विभाजन गरिएको छ । विषादीको थैलीमा यो सङ्केत प्रस्टरूपमा देखाइएको हुन्छ ।
विषादी छरेको दिनदेखि उपभोग गर्नुअघिको प्रतिक्षा अवधिलाई असर गर्ने केही पक्षहरूः (स्रोतः विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखा, हरिहरभवन)
– बालीको प्रकार र यसको फिजियोलोजी,
– बाली लगाउने स्थानको मोहडा, उचाइ, हावाको गति,
– विषादीको प्रयोग मात्रा,
– विषादी प्रयोग गर्दाको मौसम तथा ऋतु आदि,
– विषादीलाई माटोमा प्रयोग गर्दा प्रतिक्षा अवधि केही लामो हुने ।
विषादीको जोखिम/असर
विषादी ‘विष’ भएकोले विषादी प्रयोग गर्ने किसानलाई यसले प्रत्यक्षरूपमा असर पु¥याउँछ । एक सर्वेक्षणअनुसार ५७ प्रतिशत मानिसलाई विषादीबारे थाहा भएको जसमध्ये ५५ प्रतिशतले सावधानी नअपनाइको पाइएको छ । विषादी प्रयोग गरिएका तरकारी र फलफूलहरू एकैपटक खानु स्वास्थ्यको लागि हानिकारक हुन्छ । नब्बे प्रतिशत मानिसहरू विषादी प्रयोगपछि कुर्नुपर्ने समयावधिलाई बेवास्ता गरेको पाइएको छ । जस्तैः मालाथियन प्रयोग गरेको १४ दिनसम्म उपभोग गर्नुहुन्न भन्ने छ । त्यस्तै पाइपरमेथ्रिन ७ दिन, क्याप्टान २० दिन, कपर अक्सिक्लोराइड २१ दिन, जिनेव १० दिन, स्टे«प्टोमाइसिन सल्फेट २४ घण्टा आदि । यो समयावधिभन्दा अगाडि उपभोग गर्दा मानिसको शरीरमा नकारात्मक असर देखिन थाल्दछ ।
विषादीको गलत प्रयोग पनि धेरै हुने गरेका छन् । जस्तैः वि. सं. २०७१ सालमा आत्महत्या गर्नेहरूमा २६ प्रतिशतले यी विषादी प्रयोग गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसकारण, नकारात्मक असर मानिसको जीवनमा प्रदर्शित हँुदै गए ।
मानव शरीरमा विषादीको असरका लक्षणहरू ः
विषादी मानिसको शरीरमा विभिन्न माध्यमबाट पस्छ । विशेषगरी छाला, नाक, मुख, आँखा आदिबाट छिर्ने गर्दछ ।
सामान्य असरहरू ः अनिन्द्रा, आँखा रातो हुने, आँखा पोल्ने, धेरै आँसु बग्ने, नाकबाट तरल पदार्थ बगिरहने, बढी ¥याल चुहिने, नाक पोल्ने, धमिलो देख्ने, आँखीभौ फरफराउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, स्वाँ–स्वाँ हुने, कम्पन, मांसपेशी थाक्ने, मांसपेसी बटारिने, छाला फुट्ने, छाला चिलाउने आदि ।
मध्यम असरहरू ः बान्ता हुने, छाती दुख्ने, मन भारी हुने, वाकवाक आउने, पेट बटारिने, पखाला लाग्ने आदि ।
कडा असरहरू ः पक्षघात, मुर्छा, क्यान्सर, प्यारालाइसिस, पुरुषको सन्तान उत्पादन क्षमतामा ह्रास, बालबालिकामा टाउको ठूलो हुने समस्या, अपाङ्गता आदि ।
वातावरणीय असर ः बालीमा लगाइएको विषादी पानी पर्दा बगाएर खानेपानी मुहान, नजिकको खोल्सा वा खोलामा मिसिन जान्छ । यसबाट जलचर प्राणीहरू माछा, हाँस आदिलाई असर गर्नुका साथै अप्रत्यक्षरूपमा हानी पु¥याउँछ ।
विषादी परीक्षण प्रयोगशाला
नेपालमा प्रदेश नं. ६ बाहेक सबैमा विषादी परीक्षण प्रयोगशालाको स्थापना गरिएका छन् । प्रदेशनं.१ को बिर्तामोड, झापा, प्रदेश नं. २ को नजलपुर, सर्लाही, प्रदेश नं. ३ को कालिमाटी, काठमाडौं, प्रदेश नं. ४ को कास्की, पोखरा, प्रदेश नं. ५ को बुटवल, रुपन्देही र नेपालगञ्ज, बाँके र प्रदेश नं. ७ को अत्तरिया, कैलालीमा विषादी परीक्षण प्रयोगशाला उपलब्ध छन् ।
वि सं. २०७१ सालमा FAO को सहयोगमा केन्द्रीय विषादी परीक्षण प्रयोगशाला स्थापना भएको थियो । यस प्रयोगशालाबाट १६९ समूहका विषादी परीक्षण गर्न सकिन्छ । विश्व बैङ्कको सहयोगमा प्रदेशस्तरका प्रयोगशालाहरू स्थापना भएका थिए । यी प्रयोगशालाहरूले दुई समूहका विषादीमात्र परीक्षण गर्नसक्छन् । पोखरा, बुटवल र नेपालगञ्जका प्रयोगशालाहरू विगत केही समयदेखि बन्द अवस्थामा छन् ।
तथ्याङ्कअनुसार भारतबाट आउने तरकारीमा ८० प्रतिशतसम्म विषादी भएको पाइएको छ । कुनै तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा देखिएमा ती तरकारीहरू उपभोग गर्न योग्य मानिन्छ । ३५–४५ प्रतिशतसम्म भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गरिनुपर्छ ।
नेपालभित्रका किसानहरूले मात्र विषादी प्रयोग कम गरेर नेपाली उपभोक्ताको भान्सामा विषादी प्रवेश रोक्न सकिन्न । किनकि, नेपाल सरकारले विषादीयुक्त तरकारी तथा फलफूल विदेशबाट सजिलै आयात गर्न दिएको छ । सम्पूर्ण भन्सार नाकाहरूमा क्वारेन्टाइन (चेकजाँच) को व्यवस्था महत्वपूर्ण छ । तर खुला सिमानाका कारण चोरी पैठारी दैनिकजस्तै भइरहेको छ । जसकारण क्वारेन्टाइनमा नेपाल सरकारको प्रयास असफलजस्तै भएको छ । यसको समाधान भनेकै भारतसँगको सिमाना नियमित गर्नु हो । नेपालले उचित प्रविधिको प्रयोग गरी जैविक विषादीको व्यवसायिक उत्पादन र बिक्री–वितरणमा ध्यान दिनु आवश्यक छ ।
नेपाली किसानलाई रासायनिक खेतीभन्दा प्राङ्गारिक खेतीको लागि प्रोत्साहन गरिनु उपयुक्त हुन्छ । जसको लागि पूर्ण योजना बनाउनु आवश्यक छ । प्राङ्गारिक मल र विषादी उत्पादन, रोग–कीरा नियन्त्रणको लागि व्यापक अनुसन्धान गराउनु उचित देखिन्छ । ल्याटिन अमेरिकी देश क्युवा प्राङ्गारिक खेतीको लागि प्रख्यात छ । नेपाली किसानहरूसँग भएका परम्परागत ज्ञानलाई परिष्कृत गरेर आधुनिकता प्रदान गर्नसकेमा किसानहरू पनि सक्रिय भएर लाग्ने देखिन्छ । नेपाली किसानका परम्परागत सीपमा अनुसन्धान गर्न सके विश्वलाई नयाँ प्रविधि दिन नेपाल सक्षम बन्ने देखिन्छ ।
विषादी जोखिम न्यूनीकरण
बालीमा विषादी प्रयोग गर्दा निम्न कुराहरूमा ध्यान दिनु जरुरी छ ः
– विषादी नियन्त्रणमा जैविक विधि वा नियमयुक्त जैविक विषादीलाई प्राथमिकता दिइनुपर्दछ । विभिन्न पासो (टाँसिने पहेँलो पत्ता, फेरोमोन आदि) को प्रयोग सस्तो र लाभदायक हुन्छ ।
– रासायनिक विषादीहरूमा हरियो लेबल भएको विषादी प्रयोग जोड दिनुपर्छ । यो मानव स्वास्थ्यको लागि कम हानिकारक हुने गर्छ ।
– विषादी प्रयोग गर्ने समय छाला नदेखिनेगरी कपडा, पञ्जा, मास्क, चस्मा, टोपी आदि शरीरलाई सुरक्षा दिने वस्तुहरूको प्रयोग गरिनुपर्छ ।
– हावाचलेको दिसातिर फर्केर विषादी छर्कनु उचित हुन्छ ।
– साँझको समयमा विषादी प्रयोग गरिनुपर्दछ ।
– झारपात गोड्नेलगायतका काम सकेपछिमात्र विषादी छर्कने र छर्केपछि त्यस स्थानबाट टाढा बस्नु राम्रो हुन्छ ।
– विषादी छर्कने काम सकेपछि हात–खुट्टा साबुन–पानीले राम्ररी धुनुपर्दछ ।
– बालबालिकाको पहुँचबाट विषादीयुक्त सामानहरूटाढा राख्नुपर्दछ ।
– विषादीको प्लास्टिक थैली, बोतललगायतका वस्तु अन्य घरायसी प्रयोजनमा ल्याउनुहुन्न ।
– हरेक विषादी बालीमा छर्किसकेपछि केही समय कुर्नुपर्ने हुन्छ । यसबारे जानकारी प्राप्त गरेरमात्र किसानले बाली टिप्ने र बजारमा पु¥याउनुपर्दछ ।
निष्कर्ष
विषादी विष हो । कीरा र रोगलाई जसरी यो विषादीले नष्ट गर्छ त्यस्तै गरी मानव स्वास्थ्यलाई पनि यसले हानी पु¥याउँछ । किसानको उद्देश्य कृषि उपज उत्पादन र उत्पादकत्व बढाउन रोग–कीरा नियन्त्रण गर्ने हो । विषादीको प्रयोगबाट रोग–कीरा मार्ने तरिका र यसको असरबारे थाहा पाउनु जरुरी छ । विषादीले रोग–कीरा नियन्त्रण गरोस् तर मानव स्वास्थ्यमा यसले हानी नपु¥याओस् भन्ने हेतुले विषादीको प्रयोग गरिनु आवश्यक छ । प्रकृतिका अन्य प्राणीलाई पनि यसबाट असर गर्नुहुन्न । नेपालीहरू विषादीलाई कीरा मार्ने औषधिको रूपमा प्रयोग गर्छन्, तर विषादीका नकारात्मक असरहरूबारे पनि किसानहरू शिक्षित हुनु आवश्यक छ । विषादी ‘औषधि’ होइन, बिष हो भन्ने हेक्का उनीहरूमा हुनु जरुरी छ ।
नेपालको प्रमुख समस्या भ्रष्टाचार हो । नेपाल सरकारका जिम्मेवार पदाधिकारीहरू भ्रष्टाचारमा संलग्न हुनुले समस्याको जरा उखेल्न नेपाल सरकार सक्षम नभएको हो । भन्सार कार्यालयमा हुने मिलेमतोले पनि नाकामा काम प्रभावकारी हुन नसकेको देखिन्छ । क्वारेन्टाइनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नसके समस्या समाधानमा मद्दत पुग्ने देखिन्छ । नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाई ध्यान दिएर विदेशबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नु आफ्नो दायित्व सम्झनु आवश्यक छ । विषादी परीक्षण प्रयोगशालाका आधुनिक प्रयोगशालाहरूको निर्माण र दक्ष जनशक्तिको बन्दोबस्त गरी प्राविधिकहरूलाई नेपालमै बस्ने वातावरण सिर्जना गर्नुपर्दछ ।
कौसी खेती सहरी क्षेत्रमा प्रख्यात हुन थालेको छ । जग्गाजमीनको कमी भएका कारण करेसाबारी र कौसी खेतीको महŒव बढेको हो । उपलब्ध थोरै जमिनमा धेरै र नियमित उत्पादन लिनसक्ने भएकाले विकसित देशहरूमा पनि कौसी खेतीले प्राथमिकता पाएको हुनुपर्छ । सहरीमा बसोबास गर्ने जनताले आफूलाई आवश्यक मात्रामा आफ्नो करेसाबारी वा कौसी खेतीबाट उत्पादन गर्नसक्छन् । यसबारे सामान्य तालिम लिन सके सजिलै कृषि उत्पादन लिन सकिन्छ ।
सरकारले देशव्यापीरूपमा किसानलाई विषादी, विषादीको उचित प्रयोग, विषादी जोखिम व्यवस्थापनबारे प्राविधिक तालिमहरू प्रदान गरिनुपर्दछ । प्राङ्गारिक खेती र यसको उत्पादनलाई प्रोत्साहन गर्नसक्नुपर्दछ । अनधिकृतरूपमा गरिएको विषादी बिक्री–वितरणलाई कडाइका साथ नियन्त्रण गर्नुपर्दछ ।
(लेखक कृषिविद् हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *