भर्खरै :

बधाई ज्ञापन तथा शुभकामना आदानप्रदान कार्यक्रम

भक्तपुर, १२ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले केही मुठीभर पुँजीपतिहरूको सुखसयलका निम्ति बहुमत जनताको टाउकोमा कर थोपर्ने व्यवस्था नै पुँजीवादी प्रजातन्त्र हो भन्नुभएको छ ।
नेमकिपाको सातौँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्न भनपा वडा नं १ को कार्यालयद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष रोहितले पुँजीवादी व्यवस्थामा कमिसनको खेल हुने, भ्रष्टाचार मौलाउने तथा नैतिकता हराउँदै जाने धारणा राख्नुभयो । उहाँले सभ्य समाज बनाउन जनतालाई सचेत र सजग बनाउनुको सट्टा पुँजीवादी शासकहरूले दलगत स्वार्थमात्र हेरेको चर्चा गर्दै बिलासिताका सामानहरूमा बढी कर र सर्वसाधारण जनताको उपयोग हुने उपभोग्य वस्तुहरूमा कम कर लगाउने बन्दोबस्त जनताको प्रजातन्त्रमा मात्रै हुनेछ भन्नुभयो ।
उहाँले नेमकिपा देश र जनताप्रति समर्पित एक सिद्धान्तनिष्ठ पार्टी रहेको उल्लेख गर्दै जनताको प्रजातन्त्रको बाटो समाउँदै समाजवादको पूर्णता प्राप्तिपछि वर्गविहीन समाज स्थापना हुने बताउनुभयो ।
नेमकिपाका केद्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पुँजीवादी सरकारमा सामेल नहुने नेमकिपाको धारणा पुनः दोहो¥याउँदै सरकारले जनताको हितविपरीत काम गर्न खोजे विरोध गर्ने र राम्रो कामको समर्थन गर्नु नै प्रमुख प्रतिपक्षको धर्म हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले सल्लाघारीको १०८ रोपनी जग्गा आफ्नै लगानीमा नक्सापास गरी नेपाल ट्रष्टको संयुक्त रोहवरमा गरिएको सिमाङ्कनलाई जनविरोधी जनप्रतिनिधिहरूलाई असह्य हुनु स्वाभाविक हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले सातौँ महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न स्वयमसेवक साथीहरूले खेलेको भूमिकाको सराहना गर्दै नेपाल ट्रष्टको १०८ रोपनी जग्गा शिक्षा र स्वास्थ्यको लागि नै उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले सातौँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय पदाधिकारीहरू सदाझैँ आगामी दिनहरूमा पनि देश र काम गरी खाने वर्गको पक्षमा लागिपर्नुहुने विश्वासका साथ बधाई ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा नेमकिपा, भनपा वडा नं १ का इन्चार्ज लक्ष्मीनारायण राजलवट, नगरसभा सदस्यद्वय सूर्यप्रसाद श्रेष्ठ र गंगालक्ष्मी बमनूले पनि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *