भर्खरै :

श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महिनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् ।
पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै श्रमिकहरूले अन्तिम पटकका लागि भन्दै असोज १४ गतेसम्म विगतमा भएका निर्णय कार्यान्वयन गर्न अन्तिम पटकको अल्टिमेटम दिएका छन् । चरणबद्ध आन्दोलन सुरु गरेका श्रमिकलाई राजनीतिक दल, नागरिक समाजले समर्थन गरेका छन् ।
श्रम ऐन कार्यान्वयन र निष्काशन गरिएका श्रमिकको पुनःबहालीलगायतको माग राखेर आफूहरूले चरणबद्ध आन्दोलनमा जान बाध्य भएको आन्दोलनरत सामूहिक सौदाबाजी समितिका संयोजक रमेश गौतमले बताउनुभयो । “पटक–पटक यस विषयमा कम्पनीको व्यवस्थापन पक्षसँग सहमति भए पनि कार्यान्वयनमा चासो देखाइएको छैन, दुई वर्षदेखि यहाँ कार्यरत सबै श्रमिकलाई कम्पनीले सप्लायर कम्पनीमार्फत दैनिक ज्यालादारीका रूपमा राखेर काम गराउँदै आएको छ” उहाँले भन्नुभयो ।
नियुक्तिपत्रबिनै काममा राखिएको भन्दै श्रमिकले रोजगार सम्झौता गरी नियमित रोजगारको नियुक्तपत्र दिएर मात्र काममा राख्न माग गर्दै आएका छन् । “विगत पाँच महिनादेखि नै यहाँ कार्यरत हामी श्रमिक आन्दोलित हुँदै आएका छौँ, कम्पनीले माग सुनुवाइमा चासो दिएको छैन, आन्दोलन गरेको भन्दै कम्पनीले उल्टै ५० श्रमिकलाई निष्काशन पनि गरेको छ” श्रम ऐनबमोजिम कम्पनीमा गठित सौदाबाजी समितिका संयोजक गौतमले भन्नुभयो ।
श्रमिक राख्दा स्थानीयवासीलाई ग्राह्यता पनि नदिइएको उहाँको गुनासो छ । निष्काशन गरिएका श्रमिकलाई तत्काल पुनःबहाली गर्नुपर्ने, श्रम ऐनले तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, कम्पनीले सिधै नियुक्ति दिनुपर्ने, बिनाकारण कामबाट निष्काशन गर्न नपाइने, ठेकेदारीप्रथा अन्त्य गर्नुपर्नेलगायतका माग राखेका छन् ।
श्रमिकको श्रम शोषण गर्ने, अमानवीय व्यवहार गर्ने तथा कुनै पनि बेला निष्काशन गर्ने कार्यले श्रमिक प्रताडित भएको उहाँको भनाइ छ । कम्पनीको व्यवस्थापन पक्षले श्रमिकका माग सम्बोधनमा आलटाल गर्दै आएपछि विभिन्न समयमा राजनीतिक दल, सांंसद, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घको पहलमा पटक–पटक माग सम्बोधनका लागि श्रमिक र कम्पनीबीच सहमति भएको थियो ।
उक्त कम्पनीमा कर्मचारी र कामदार गरी ५२० कार्यरत रहेका छन् । आन्दोलनमा उत्रने नेपाली श्रमिकलाई निष्काशन गर्दै कम्पनीले अहिले भारतबाट कामदार ल्याएर काममा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *