भर्खरै :

चैतेधानको खेती बर्सेनि घट्दै

रामपुर (पाल्पा), ३१ चैत । दोस्रो बालीका रुपमा रहेको धान बालीअन्तर्गत पर्ने चैतेधान खेती बर्सेनि कम हँुदै गएको छ ।
युवा जनशक्ति विदेश पलायन हुन थालेपछि पछिल्लो समय गाउँघरमा चैतेधान लगाउन छाडिएको हो । एक दशक अगाडि सिँचाइ सुविधा पुगेका स्थानमा कृषकले अनिवार्य चैतेधान रोप्ने चलन थियो । तर हिजोआज भने सिँचाइ भएका स्थानमा पनि चैतेधान रोप्न छाडिएको छ ।
नगरपालिका र गाउँपालिकाका विभिन्न गाउँ गाउँमा पुगेर जग्गा दलालले खेतीयोग्य जग्गा खरिद गरी प्लटिङ गर्न थालेपछि खेती गर्न छाडिएको हो । धान खेतीका लागि मुख्य अन्न भण्डारका रुपमा मानिएको माडीफाँटमा पहिले आधाआधी जति खेत चैतेधान लगाइन्थ्यो । अहिले कृषकले यहाँ चैतेधान खेती लगाउन छोड्दै गएका छन् ।
सिँचाइको सुविधा भएको पूर्वखोला फाँटभरिनै चैत–वैशाखमा चैते धान रोप्न कृषकलाई भ्याई नभ्याई हुन्थ्यो । यहाँ पनि बर्सेनि खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ ।
रामपुर फाँटमा सिँचाइको सुविधा भए पनि धान लगाउने जमिन दिनानुदिन घट्दै गएको छ । यस क्षेत्रमा कमैले मात्र चैतेधान खेती गरेका छन् । पहिला एक हजार रोपनीभन्दा बढीमा चैतेधान लगाइँदै आएकामा हाल करिब ५० रोपनीमा मात्र चैतेधान लगाइएको अर्यालले बताउनुभयो ।
यहाँ खेतीयोग्य जग्गामा धमाधम घर निर्माण हुन थालेको छ । असारमा तयार हुने धान भए पनि एउटा स्याहार्ने अर्को लगाउने एउटै समय भएकाले सिञ्चित क्षेत्रमा पनि कृषकले क्रमिकरुपमा खेती गर्न छाडेका छन् । गत वर्ष आठ सय १५ हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएकामा यस वर्ष भने करिब सात सय हेक्टरमा मात्र खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले जानकारी दिनुभयो ।
स्थानीय चैते २, चैते ३ र हर्दिनाथ जातको धान यहाँ लगाइँदै आइएको छ । जिल्लाको माडी, रामपुर, अर्गली, पूर्वखोलालगायत स्थानमा चैतेधान खेती लगाइँदै आएकामा अहिले यी स्थानका अधिकांश क्षेत्रफलमा धान लगाउनै छाडिएको छ । कामदार अभाव, खेतीयोग्य भूमि घर घडेरीमा परिणत, सिँचाइको पर्याप्त सुविधा नुहुनुजस्ता कारणले उत्पादन क्षेत्रफल घट्दै गएको बालिविकास अधिकृत हसमुल्लाह खाँनले बताउनुभयो ।
“खेती गर्नभन्दा खरिद गरेर खाने प्रवृत्ति बढेकाले चैतेधान हराउँदै गएको हो,” उहाँले भन्नुभयो । बर्खे धानभन्दा बढी मिहेनत गर्नुपर्ने अर्कोतर्फ यसको ब्याड तयार गर्न सजिलो नहुने, बर्खे धानको ब्याडको तुलनामा चैते धानको ब्याड उतार्न अत्यन्त कठिन, मौसम, बीउ नउम्रने जस्ता समस्याले गर्दा धेरैले खेती गर्न छाडेको रामपुरका कृषक देवराज अर्याल बताउनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *