भर्खरै :

दसैँको मौका छोप्ने तस्करविरूद्ध चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन, २१ असोज । चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरूको महान् चाड दसँै, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।
निकुञ्जको सुरक्षार्थ खटिएका बटुक दल गणका गणपति प्रमुख सेनानी अरूण श्रेष्ठले चाडबाडका बेला सर्वसाधारणको ध्यान रमाइलो गर्नेतर्फ जाने हुँदा यस्तो समयमा वन्यजन्तुमाथि हुनसक्ने खतरा रोक्न सुरक्षामा कडाइ गरिएको बताउनुभयो ।
निकुञ्जमा सेनाले उच्चस्तरीय प्रविधि सीसीक्यामरा, क्यामरा ट्रयापिङ, ड्रोन क्यामरा, हात्ती, पैदल, साइकल, मोटरसाइकल, डुङ्गा र रात्रिकालीन एम्बुसको सङ्ख्या वृद्धि गरेको छ ।
यस्तै निकुञ्जको अति संवेदनशील क्षेत्रमा तालिम प्राप्त कुकुरका साथै हात्तीको प्रयोग गरी विभिन्न स्थानमा ‘सर्च, स्वीप’को कार्यमा जोड दिइएको छ ।
दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्ज हो । विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका बटुक दल गण र निकुञ्ज कार्यालयका कर्मचारीले निकुञ्जको कडाइका साथ सुरक्षा गरिरहेका छन् । निकुञ्जको अवस्था थाहा हुने गरी दशैँको अवसरमा नेपाली सेनाको ४५ वटा पोष्ट र निकुञ्ज कार्यालयको १३६ वटा पोष्टका सेना र कर्मचारीले निकुञ्जमा ‘स्वीप अप्रेशन’ गरेका थिए ।
निकुञ्जको कसरा, जर्नेली, कछुवानी, सौराहा, खगेन्द्रमल्ली, अम्रिते, सुनाचुरी, वनकट्टा, बोटे सिमरा, बगई र इच्छानगरलगायतका पोष्टबाट निकुञ्जलाई घेरा हाली चुरे ‘अप्रेशन’ गरिएको थियो । सो क्रममा खाना पकाउने चुल्हो, मानिस हिँड्ने बाटो, खानेकुरा फाले नफालेको, सडेगलेका खानेकुरा, जडीबुटी उखेले नउखेलेको, जनावर मरेका जस्ता कुराको सूक्ष्म अध्ययन गरिएको छ ।
निकुञ्जमा दैनिक १५१ साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चार कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गरिँदै आएको छ । निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायत पाइन्छन् । निकुञ्जको तथ्याङ्कमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैँडा र ९३ पाटेबाघ रहेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *