(बिहीबारदेखि भक्तपुरको नःपुखुमा ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या सुरु हुँदै छ । दुई दिनसम्म चल्ने सो साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । यो वर्षको साहित्य सम्मेलनको विषयमा आयोजक समितिका संयोजक श्यामसुन्दर मातांसँग ‘मजदुर’ दैनिकले गरेको कुराकानी प्रस्तुत छ ः)

– ३९ औँ नेपालभाषा साहित्य तःमुँज्याको तयारी कसरी भइरहेको छ ?
३९ औँ नेपालभाषा साहित्य तःमुँज्याको ग्वसाखल (आयोजक समिति) गठन भदौ ६ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भएको थियो । उक्त भेलाले ३९ सदस्यीय ग्वसाखल (आयोजक समिति) गठन गरेको थियो । त्यसपछि विभन्न १२ वटा उपसमिति गठन भई आर्थिक सङ्कलन, मञ्च व्यवस्थापन र प्रचारप्रसार कार्य भइरहेको छ भने सम्पूर्ण कार्य लगभग अन्तिम तयारी अवस्थामा पुगेको छ ।

– नेपालभाषा तःमुँज्याले विशेषगरी नेपालभाषालाई मात्र प्राथमिकतामा राखेको भन्ने गरिन्छ । तपार्इँको विचार के छ ?
नेपालभाषा साहित्य तःमुँज्या देशको सबै भाषा संस्कृतिलाई राष्ट्रको सम्पति हो भन्ने मान्यता राख्दछ । तःमुँज्या साहित्यिक दबुको साथसाथै राजनैतिक दबुको रूपमा लिँदै आएको छ । यस दबुमा नेपालभाषालाई साहित्यिक कार्यक्रममा बढी प्रयोग गरिन्छ भने अन्य भाषाभाषीहरूको पनि सहभागी हुँदै आएको छ । तर, सरकारले एउटामात्र भाषालाई प्राथमिकता दिई अन्य भाषालाई कमजोर बनाएको देखिन्छ ।

– यस वर्षको तःमुँज्यामा के–कस्ता विषयवस्तु समेटिन्छ ?
यो वर्षको तःमुँज्यामा विशेषगरी भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालमा गरिरहेको हस्तक्षेपविरुद्ध साहित्यकारहरूले साहित्य लेख्नेछन् । रगतले कोरिएको देश सीमा रक्षा गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय कानुनविपरीत बाँध र तटबन्ध बनाई डुबान बनाउने र जनधनको क्षतिविरुद्ध आफ्नो कलम चलाउने छ । अन्तर्राष्ट्रिय सवालमा जम्मु काश्मीरमा भारतीय हस्तक्षेप, चीन–अमेरिका व्यापार युद्ध, प्रजग कोरिया र क्युवामा नाकाबन्दीविरुद्ध, इराक, लिविया, सिरिया र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको विषयमा साहित्यकारहरूले आ–आफ्नो विचार राख्ने विश्वास छ ।

– नेपालभाषा साहित्य तःमुँज्यामा साहित्यको साथसाथै राजनैतिक विषयलाई किन समेटिएको हो ?
वर्गीय समाजमा वर्गीय कुरा हुनु स्वाभाविक हो । साहित्यकार हरिबहादुर श्रेष्ठका अनुसार साहित्य राजनीतिको हतियार हो । त्यसैले जनतालाई साहित्यको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे सचेत र सु–सूचित गर्ने काम तःमुँज्याले गर्दै आएको छ । यो स्थापनादेखिको निरन्तरता हो ।

– ३९ औँ तःमुँज्यामा सहभागी हुने प्रमुख अतिथि तथा साहित्यकारहरूको बारेमा केही बताइदिनुहुन्छ कि ?
३९ औँ नेपालभाषा साहित्य तःमुँज्या नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा हुनेछ । सो दुईदिने सम्मेलनमा नेपालका वरिष्ठ सीमाविद्, कानुनविद्, जलस्रोतविद्, शिक्षाविद् तथा नाम चलेका साहित्यहरू गरी ४५ जना प्रतिष्ठित व्यक्तित्वहरूलाई आमन्त्रण गरेका छौँ ।

– यस वर्ष नःपुखु टोलमा हुने तःमुँज्याको उद्घाटन कसको हातबाट हुन्छ ?
भक्तपुर नगरको पश्चिममा रहेको ऐतिहासिक नःपुखु परिसरमा हुने उक्त तःमुँज्याको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक एवम् डाफाभजनका गुरु गोपसिं बोयजू (सय वर्ष) को हातबाट हुनेछ ।

– तःमुँज्यामा सम्मान गर्ने व्यक्तित्वहरूको बारेमा केही बताइदिनुहुन्छ ?
यस वर्षको तःमुँज्यामा ६ जना महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसमध्ये डा. अशोकानन्द मिश्र जो जनताको निरन्तर सेवा गर्ने डाक्टर हुनुहुन्छ । वरिष्ठ हास्य कलाकार ध्रुवरत्न हाडा र सांस्कृतिक गुरुहरू गोपसीं बोयजू, काजीलाल बोयजू, लक्ष्मीभक्त ब्याञ्जु र हरिभक्त सुवाललाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

– वर्षको दुई दिन कार्यक्रमको आयोजना गरेर उद्देश्य कसरी पूरा हुन्छ ?
नेपालभाषा साहित्य तःमुँज्या ग्वसाखलको कार्यक्रममात्र दुई दिनको हो । नेपालभाषा साहित्य तःमुँज्याले समय–समयमा प्रशिक्षण, तालिम, ¥याली, गोष्ठीको माध्यमबाट साहित्यकारहरू जन्माउने काम गरिरहेको छ ।

– तःमुँज्याको अध्यक्षताबारे ?
३९ औँ तःमुँज्याको पहिलो दिन शैक्षिक व्यक्तित्व उद्धव सुजखू र दोस्रो दिन अधिवक्ता अनिता जधारीको अध्यक्षतामा हुनेछ ।

– अन्तमा केही भन्नु छ भने ?
३९ औँ नेपालभाषा साहित्य तःमुँज्या सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरू, समिति उपसमितिमा बस्ने साथीहरू, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया, आयोजना गर्ने अवसर दिने नेपालभाषा तःमुँज्यालाई धन्यवाद दिन चाहन्छु । सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरूलाई असोज २२ गते हुने सुकुण्डा ¥याली र असोज २३ गते दिनको १ बजेबाट सुरु हुने तःमँुज्यामा उपस्थित भइदिनुहुन सादर अनुरोध गर्दछु ।