भर्खरै :

“नयाँ पुस्तालाई सांस्कृतिक र साङ्गठनिकरूपमा योग्य बनाइनुपर्छ”

भक्तपुर, २२ असोज । नेपाल मजदुर किसान पार्टीको ७ औँ महाधिवेशनबाट सर्वसम्मत चुनिएका केन्द्रीय समितिका पदाधिकारीहरूलाई बधाईज्ञापन, महाधिवेशन सभ्य र भव्यरूपमा सफल पार्न सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद ज्ञापन तथा शुभकामना कार्यक्रम बुधबार नेमकिपा, भक्तपुर नगरपालिका गोल्मढी एकाइ समितिको आयोजनामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीको सातौँ महाधिवेशनलाई सभ्य र भव्यरूपमा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादज्ञापन गर्दै भन्नुभयो, “भक्तपुरका साथीहरूको तुलनामा अरू जिल्लाका साथीहरूलाई सङ्गठनको काम गर्न कठिनाइ छ, तर त्यहाँका कार्यकर्ताहरूमा महाधिवेशनले आ–आफ्नो जिल्लामा सङ्गठन कार्य गर्ने उत्साह जगाएको छ । यसले सङ्गठनलाई बढी बलियो पार्ने निश्चित छ ।”
उहाँले पार्टी सङ्गठनमा कार्यकर्ताहरूको योग्यता र क्षमताअनुसारकै जिम्मेवारी प्रदान गर्नुपर्ने हुन्छ, कम्युनिस्ट सङ्गठनको विस्तार गर्न कार्यकर्ताहरू हरेक कुरामा योग्य र सक्षम भइरहनुपर्छ भन्नुभयो । समाज विकास गर्न शिक्षकहरू सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै, उहाँले प्रत्येक टोल – टोलमा पुस्तकालय र विद्यालयहरू नमुनाको रूपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष रोहितले भन्नुभयो, कार्यकर्ताहरूमा सिद्धान्तको ज्ञानको कमीले गलत निर्णहरूमा पुग्ने भएकोले सिद्धान्त, व्यवहारिक शिक्षा, नागरिक भावनालगायतका विषयहरूमा विभिन्न किसिमका गतिविधिहरू गरिरहनुपर्छ । शैक्षिकरूपमा योग्य भएका नयाँ पुस्तालाई सांस्कृतिक र साङ्गठनिकरूपमा योग्य र सक्षम बनाउनुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले कार्यकर्ताहरूले आफ्ना परिवारका सदस्यहरूलाई पनि सैद्धान्तिक रुपमा योग्य बनाइराख्नुपर्छ भन्नुभयो । उहाँले विदेशीहरूले दियो भन्दैमा देशको इज्जत जाने गरी कुनै पनि सहयोग लिनु ठीक होइन भन्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महाधिवेशनमा सहयोग गर्ने सबैमा धन्यवादज्ञापन गर्दै काम गरी खाने कामदार वर्गको शासन सत्ताको लागि हामीले समाजवाद र साम्यवादको लागि निरन्तर सङ्घर्ष गर्नुपर्छ भन्नुभयो । ५६ अर्ब अमेरिकी सहयोग नेपालले पाउन भारतको स्वीकृति चाहिने र भारतबाट स्वीकृत योजनामात्र खर्च गर्न पाउने भन्ने प्रावधानले नेपाललाई भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीमा फसाएको प्रस्ट छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य एवं प्रदेश नं. ३ का सांसद सृजना सैंजूले नेमकिपाको महाधिवेशनमा समाजमा शोषक र शोषित वर्गहरू विद्यमान रहेकोले नागरिकहरूलाई वर्ग विश्लेषण गर्न दीक्षित पार्ने कार्य नेमकिपाले गरिरहेकोे बताउनुभयो ।
नेमकिपाको वैकल्पिक केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सातौँ महाधिवेशनमा भक्तपुरका कार्यकर्ताहरूको सहयोग र सक्रियता देखेर विभिन्न जिल्लाका साथीहरूले खुसी व्यक्त गरेको सन्दर्भ सुनाउँदै पार्टीको बन्द सत्रले एकमनले नारायणमान बिजुक्छेँ (रोहित) लाई पार्टीको अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो भन्नुभयो ।
नेमकिपा भनपा ७ गोल्मढीका पूर्वअध्यक्ष लक्ष्मीभक्त कवां, आदर्श आजाद मावि÷कलेजका प्राचार्य श्रीकृष्ण किसीले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । आयोजक समितिका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य भुवन गोसाईले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *