भर्खरै :

धानखेतीमा फौजी कीराको प्रकोप

– काशीराम शर्मा
बाँके, २६ असोज । धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी कीराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन् । धानबालीमा फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित बनेका हुन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी कीराले क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
ज्ञान केन्द्रका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ मा, डुडुवा गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा तथा नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १९ मा फौजी कीराले धान काटेर नोक्सानी पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । बाँकेसँगै बर्दियाका केही स्थानमा पनि फौजी कीराको प्रकोप फैलिन थालेको ज्ञान केन्द्रले जनाएको छ ।
फौजी कीराको प्रकोप देखिन थालेपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएका छन् । फौजी कीरा फैलने क्रम बढ्दै गएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको ज्ञान केन्द्रले जनाएको छ । हाललाई केन्द्रसँग भएको रु. ५० हजार बजेटलाई बाँकेको लागि रु. ३० हजारको विषादी खरिद गरी प्रभावित क्षेत्रमा छर्कन पठाइसकिएको र बाँकी रकम बर्दिया क्षेत्रमा नियन्त्रणका लागि खर्च गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
पाकिसकेका धानको बाला फौजी कीराले काटेर भुइँमा खसाउँदा क्षति पुगेको छ । डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले भन्नुभयो, “प्रकोप नियन्त्रणका लागि स्थानीय तहबाट पनि किसानहरूलाई विषादी सहयोग गरिरहेका छौँ । कीराको प्रकोप उच्च देखिएको छ । अहिलेसम्म नियन्त्रण हुन सकिरहेको छैन । कतिपय किसानले धान काटेरै फालेका छन् । हामीले कीरा नियन्त्रणका लागि सबै विकल्प प्रयोग गरिरहेका छौँ ।”
डुडुवा गाउँपालिका–३ का रामदिन यादवले पाकेको धानको बाला काटेर भुइँमा झरिदिँदा ठूलो नोक्सानी बेहोर्नु परेको बताउनुभयो । यस वर्ष लगाएको धान बालीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । “औषधि छर्दा पनि कीरा मरेका छैनन् । उहाँले भन्नुभयो, “दिउँसो हेर्दा धान ठिक्कै हुन्छ । रातभरिमा धानको बाला जति भुइँमा झरिसकेको हुन्छ ।”
फौजी कीरा दिनभर धानको गाँजमा लुक्ने र राती एकसाथ फौजी शैलीमा धानबालीमा आक्रमण गर्छ । फौजी शैलीमा कीराले धानको बालामा आक्रमण गर्ने भएकाले कृषिविज्ञ ‘आर्मी वर्म’ नाम दिएका हुन् । नेपालीमा फौजी कीरा भन्ने गरिएको हो । कीराले खानेभन्दा बढी काट्ने हँुदा खेतैभरि धान खसेको देखिन्छ । किसानहरूले पाकिसकेको धान जोगाउन किसानले कृषि ज्ञान केन्द्र र स्थानीय तहसँग हारगुहार गरिरहेका छन् ।
धानखेतीमा पाँच दिनदेखि फौजी कीराले नोक्सान गर्दै आएको हो । सुरुमा थोरै धान खेतीमा देखापरेको कीरा पाँच दिनमै फैलिएर ३०० बढी हेक्टर जमीनमा लगाएको धानखेतीमा नोक्सान पु¥याइसकेको स्थानीय किसानको गुनासो छ । डुडुवा–६ कालाबन्जरका किसान रतिराम कुम्हारले ४० कट्ठा जमीनमा लगाएको राधा–४ धान फौजी कीराले काटेर नोक्सान पु¥याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष धान निकै राम्रो भएको थियो, एक कट्ठामा साढे दुई क्विन्टल धान फल्ने अनुमान गरेका थिए, तर काट्ने बेलाको धान फौजी कीराले सखाप पारेपछि उत्पादन शून्य हुने भयो ।” अर्का किसान अफिद अलीले पनि ४० कट्ठा जमीनमा लगाएको धान नष्ट भएको बताउनुभयो । उहाँले एक कट्ठामा लगाएको धानखेतीबाट पाँच किलो धान घरमा भित्रिने अवस्था नरहेको गुनासो गर्नुभयो ।
फौजी कीराले अत्यन्तै छिटो नोक्सान पु¥याउने कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो । उहाँले फौजी कीरा प्रभावित क्षेत्रमा छिट्टै पुग्ने र तत्काल रोकथाम र नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विषादी वितरणसँगै किसानलाई रोकथामका उपायबारे जानकारी दिइरहेको बताउनुभयो ।
फौजी कीरा मार्न एनपीभी नामक भाइरस आवश्यक पर्छ । भाइरस उत्पादनका लागि त्यही कीरा पाल्नुपर्ने र भाइरस सारेर कीरा मारेर पोट्रिन उत्पादन गर्नुपर्ने कृषि विज्ञको भनाइ छ । फौजी कीराको सङ्क्रमण देखिएपछि कृषि प्राविधिकले किसानलाई इमिडा क्लोप्रिट नामक विषादी छर्ने सुझाव दिएका छन् । पानीमा उक्त विषादी मिसाएर छरे फौजी कीराको प्रकोप नियन्त्रणमा आउने उनीहरूको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *