भर्खरै :

आध्यात्म कि आत्मसमर्पणको पाठ ?

– संयम क्षेत्री, काठमाडौं
सन्तोष नगर्ने हो भने गरिब नेपाली जनता कि आफै मरिसक्थे कि धनीहरूको लुटमारमा लागिसक्थे । सन्तोष मान्न नेपाली जनतालाई कसैले सिकाउन परेको छैन । फेरि पनि हरेक कुरामा सन्तोष मान्न विभिन्न रेडियो तथा टेलिभिजन च्यानलमार्फत विभिन्न नामका बाबाहरूले दिनरात पाठ पढाइरहेका छन् । उनीहरूका कुरा सुन्ने हो भन्ने नेपाली जनताले कसैले नराम्रो व्यवहार गरेकोमा गुनासो पनि गर्न पर्दैन, शोषण गरेमा पनि दुःख मान्नु पर्दैन, पक्षपात र भ्रष्टाचार गरेकोमा विरोध पनि गर्नु पर्दैन, कसैले कुनै पनि तरिकाले धन कमाए पनि त्यसमा वास्ता र इष्र्या गर्नुहुँदैन । चोरले चोरेर, ठगले ठगेर र डाँकाले लुटेर लाँदा पनि सन्तोष मानेर बस्नुपर्छ । कुनै प्रतिकार र कानुनी कारबाहीको बाटोमा लागेर कष्ट उठाउनुपर्दैन । त्यस्तो गर्न लागे शान्ति भङ्ग हुन्छ, दुःख पाइन्छ । परमात्मा प्राप्तिको मार्गमा व्यवधान उत्पन्न हुन्छ । तर त्यसरी सन्तोषको पाठ पढाउने बाबाहरू भने दिन प्रतिदिन धनी बन्दै गएका छन् । लाखौंँ रुपैयाँ पर्ने गाडी चढ्छन्, काठमाडौँ र देशका विभिन्न भागमा आश्रमका नाममा करोडौँको जग्गा जमिन र महल जोड्दै गएका छन् । ती साधु र बाबाहरूमा यस्तो विलासिता र सम्पतिको मोह चाहिँ किन र कसरी त ?
विज्ञानले आविष्कार गरेका आधुनिक सञ्चारमाध्यममा हरेक दिन तर्कहीन र वाहियात पाठ कहिलेसम्म देख्न र सुन्नपर्ने हो ? कसको निर्देशन, इसारा वा मागअनुसार यस्ता आत्मसमर्पणका पाठ पढाइँदै छ ? आध्यात्मका नाममा इतिहासमा वीर जातिको रूपमा चिनिएका नेपालीहरूलाई आफ्नो स्वाभिमान र सत्वसमेत रक्षा गर्न नसक्ने कायर र लाचार बनाउने षड्यन्त्र त भइरहेको छैन । त्यसैले आध्यात्मिक कार्यक्रमको नाममा यस्ता कायरता, लाचारी र आत्मसमर्पण सिकाउने च्यानल र रेडियो स्टेसनहरूलाई सचेत पारौँ र बहिष्कार गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *