फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
भैरव रिसाल
(३९ औँ नेपालभाषा साहित्य तःमुंज्यामा व्यक्त मन्तव्यको सार)
भर्खरै सम्पन्न नेपाल मजदुर किसान पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित नारायणमान बिजुक्छें (रोहित) लाई बधाई ज्ञापन गर्न चाहन्छु ।
डा. मिश्र
मेरो कुरा दारीवाल डाक्टर (डा. अशोकानन्द मिश्र) बाटै सुरु गर्छु । डाक्टर सा’ब भक्तपुरमा कार्यरत हुनुहुँदा नगरकोटको तामाङ जातिको रगतको अध्ययन गर्न मन लागेछ । त्यतिबेला म दधिकोटमै बस्थेँ । दधिकोटबाट यहाँ (भक्तपुर) आउन पनि पैदल आउनुपथ्र्यो । भक्तपुरबाट नगरकोट जान बुडबुडे कि के साधन पाइन्थ्यो । नगरकोट गयौँ । त्यहाँ एक क्षण बस्यौँ । त्यही दिन कागेश्वरीमा डाक्टर मृगेन्द्रराज पाण्डेको एउटा कार्यक्रम थियो । नगरकोटदेखि कागेश्वरीसम्म दौडिंदै त्यो कार्यक्रममा भाग लिएका थियौँ । त्यस्तो ‘उपद्रव’ गर्नुहुन्थ्यो– डाक्टर सा’ब । आज डाक्टर साबलाई देख्दा म ढुक्क भएँ । दारी उमेरअनुसार बढ्नुपर्ने, अझ घटेछ । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्छु । डा. अशोकानन्द मिश्र एकजना अनौठो व्यक्तित्व हुनुहुन्छ ।
डा. मिश्र एकदिन स्वास्थ्य विभागको महानिर्देशकलाई भेट्न जानुभएछ । महानिर्देशक बाहिर ‘व्यस्त’ लेखेर भित्र बसेका रहेछन् । धेरै बेरसम्म व्यस्त भएपछि ढोका खोलेर पस्दा त महानिर्देशक टेबुलमा खुट्टा पसारेर निदाइरहेका रहेछन् । अनि डाक्टर साबको पालो बेस्सरी झपार्नुभएछ । त्यो खालको व्यक्ति हुनुहुन्छ– डाक्टर मिश्र ।
त्यसबेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकोमा डा. मिश्रले उजुरी दिनुभएछ–‘मलाई अन्याय भयो ।’ प्रधानमन्त्रीले सोध्नुभएछ–“तपाईँ कहाँको हुनुहुन्छ ?”
“तिलाठीको,” मिश्रले भन्नुभयो ।
“तिलाठीको मिश्रलाई अन्याय पर्छ !”, प्रधानमन्त्रीले भन्नुभएछ, “तिलाठीको मिश्रलाई अन्याय परेको भए टाउको फोड्थ्यो । कि तपाईँ तिलाठीको मिश्र हुनुहुन्न, नभए तपाईँलाई अन्याय भएको होइन ।” म त्यस्ता प्रसङ्ग सुन्छु । त्यस्तो व्यक्तित्वका सामु उभिएको छु । म उहाँलाई अत्यन्त आदर गर्छु । उहाँ जनताको डाक्टर हुनुहुन्छ । बिरामीले चुरोट खाएको देखे चुरोट थुतेर गालामा चड्काउनुहुन्थ्यो रे । सम्झाएर मान्दैन, चड्कन नै खोज्या । उहाँसामु उभिन पाउँदा रमाइलो र गौरव लागेको छ ।
पेटभरि पानी खान पाइएन
म यस्तो मुलुकको मानिस हुँ जहाँ पानी मनग्य छ, तर पेटभरि पानी खान पाउँदिन । बुढीगण्डकी परियोजनाको दशा पनि पश्चिम सेतीकै जस्तो भयो । पश्चिम सेती नबन्दा सुदूरपश्चिम अँध्यारोको अँध्यारै छ । त्यस्तै कथा बुढीगण्डकीको पनि भएको छ । भारतका प्रधानमन्त्री पहिलोपटक नेपाल आउँदा ‘पानी र जवानी गएपछि फर्किँदैन’ भन्नुहुन्थ्यो । हामी सम्पत्ति भएर पनि विपन्न छौँ । सम्पत्ति नभएर दुःखी हुने कुरा बुझ्न सकिन्छ । तर, सम्पत्ति भएर पनि दुःखी हुने कुरा बुझ्न सकिन्न । अहिलेको र योभन्दा अघिका सरकारले आफ्ना उत्तरदायित्व पूरा गरेनन् भन्ने मेरो बुझाइ छ ।
मिनिट्रकमा घूस
राजनीति निकै अप्ठ्यारो छ । अचेल घूस खुवाउँदा ब्रिफकेसमा अटाउँदैन रे, मिनिट्रक लिएर जानुपर्छ रे । पहिले हजार, लाख र करोड घूस खाँदा ब्रिफकेसमा अटाउँथ्यो । आजभोलि अर्ब घूस खाँदा मिनिट्रकको आवश्यकता पर्नेभयो । मैले सुनेको, एक करोड रुपैंयाको तौल ११ केजी बराबर हुन्छ । अब अर्ब घूस खाँदा त ब्रिफकेसमा नअटाउने भयो । मुलुक यो अवस्थामा छ । हामी भन्छौँ, सुन्दैनन् । सुने पनि वास्ता गर्दैनन् ।
लाज भयो
अलि अघि सहाना प्रधानको स्मृतिसभामा कामरेड प्रचण्डले भाषण गर्नुभएको थियो । मैले अखबारमा समाचार पढेको थिएँ । प्रचण्डले आफैँलाई प्रश्न गर्नुभएछ, “के हामी कम्युनिस्ट हौँ ?”
म उहाँहरूलाई भन्छु, “तपाईँहरू कम्युनिस्ट हुँदै होइन ।”
मैले प्रश्न गरेर लेखेको थिएँ, “कम्युनिस्ट कहिले कम्युनिस्ट हुन्छ ?” कम्युनिस्ट कम्युनिस्ट भएका भए हालसालै भएको लाजमर्दो महरा काण्ड हुँदैनथ्यो । कम्युनिस्ट कम्युनिस्ट नहुँदाको दशाको रूपमा मैले बुझेको छु । उहाँहरूलाई लाज भयो, भएन, तर मलाई लाज भयो । कस्तो अप्ठ्यारो !
सीको भ्रमण
चीनका राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ । चीनका राष्ट्रपति नेपाल नआएको २३ वर्ष भयो । हाम्रा राष्ट्रपतिहरू तीनपल्टसम्म धाएका थिए । तर, चीनका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन सकेका थिएनन् । मैले अस्ति बुझेको, चीनका राष्ट्रपति नेपाल भएर भारत जाने भन्ने थियो । फेरि आज थाहा पाएँ– भारत भएर नेपाल आउनुहुनेरहेछ । चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा दह्रोसँग कुरा राख्नुप¥यो । दुईवटा ठूला देशको तुलनामा हाम्रो देश सानो छ । तर, सानोको पनि आफ्नै महत्व छ । सानो भएन भने ठूलोको महत्व हुँदैन । हाम्रा बाबु बाजेले आर्जेको, अन्यायपूर्ण सुगौली सन्धिले समेत भाग लगाएको सम्पूर्ण लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण भइरहेको छ । केही हजार अर्धसैनिक टोली अथवा व्यारेक बसिरहेको छ रे ! चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा कम्तीमा लिम्पियाधुरा क्षेत्रको समस्या टुङ्गिने गरी नेपाल प्रस्तुत हुनुप¥यो । चीनलाई हामीले हाम्रो कुरा सुनाउन सक्यौँ भने अथवा अपिल गर्न सक्यौँ भने चीनले हाम्रो कुरा सुन्छ भन्ने मलाई लाग्छ । चीन र नेपालबीच सिमाना सम्झौता हुँदा (पहिले) पूर्वको गौरीशङ्कर चुचुरा चीनमा परेको रहेछ, नेपालले त्यो क्षेत्रको सांस्कृतिक महत्व दर्शाएर चिनियाँहरूलाई अपिल गरेपछि ती चुचुरा नेपालमा पारिदिएका थिए । वासुदेव तुफानले लेख्नुभएको किताबमा यसको प्रसङ्ग उल्लिखित छ ।
लाङटाङ क्षेत्र पनि भूगोलको आधारमा आधाआधा बाँड्नुपर्ने भएछ । नेपालले आधा गर्न मानेनछ । चीनले सबै लाङटाङ क्षेत्र नै नेपाललाई दिएको रहेछ । यी दुई कुराले चीनको स्वभाव र प्रवृत्ति नेपालको कुरा सुन्ने र बुझ्ने खालको भएको मलाई लाग्छ । यो काम गर्न हाम्रो सरकार कति सक्छ, सक्दैन !
स्रोत र साधन भएर पनि गरिब भएको मुलुकको नागरिक परेँ म । स्रोतसाधन नभएका देशहरू पनि संसारमा धनी भएका छन् । राजनीति ठीक नभएकोले नै हामी गरिब भएको मेरो हेराइ छ ।
नेपालमा विद्वान र विशेषज्ञहरू धेरै छन् । तिनै मानिस बाहिर गए विशेषज्ञ हुन्छन् । नेपाल आएपछि केही गर्नसक्दैनन्, लाचार हुन्छन् । यो स्थिति कसरी टुङ्ग्याउने भन्ने मूल प्रश्न हो मेरो ।
देशको अवस्था
सबै जनावरको पाइला हात्तीको पाइलामा डुब्छ । हात्तीको पाइला त्यत्रो ठूलो हुन्छ । राजनीति भनेको त्यही हात्तीको पाइला हो । राजनीतिलाई मूलरूपमा लिनुप¥यो । राजनीति भएन भने साहित्य पनि हुँदैन । राजनीति सबैको आधार हो । राजनीतिलाई महत्वपूर्ण स्थान दिऔँ । राजनीतिक मानिसलाई खबरदारी गरौँ ।
यो सरकार कस्तो छ भने, पोहोर साल ज्येष्ठ नागरिक दिवसको अवसरमा मलाई पनि राष्ट्रपतिकोमा बोलाएका थिए– चिया खान । मैले फोनमा सोधेँ– “भाषण गर्न पाइन्छ कि पाइँदैन ?”
“त्यो त थाहा भएन,” जवाफ आयो ।
“कुरा गर्न पाइन्छ कि पाइँदैन ?” मैले फेरि सोधेँ ।
“कुरा गर्न त पाइएला”, खबर पाएँ ।
कुरा गर्न पाइन्छ भनेपछि गएँ । राष्ट्रपतिसमक्ष मैले भनेँ– “हामीले राष्ट्रपति खोजेको, राजा पायौँ ।”
रातो मुख लगाएर उहाँले ‘किन ?’ भन्नुभयो ।
“तपाईँ कहीँ बाहिर निस्कँदा सहरमा आतङ्क हुन्छ । जनताले दुःख पाउँछन् । हामीले यस्तो राष्ट्रपति खोजेको होइन” मैले भनेँ ।
“के गर्ने त ?”, मलाई सोध्नुभयो ।
“के गर्ने भन्ने कुरा मैले जान्ने कुरा होइन । तपाईँले जान्ने कुरा हो” मैले भनेँ ।
यो वर्षको ज्येष्ठ नागरिक दिवसको दिन मलाई बोलाएनन् । मलाई नोक्सान केही पनि भएन । राष्ट्रपति बाहिर निस्कँदा केही सुधार भएको भन्ने त सुनेको छु ।
मुलुक अप्ठ्यारोमा छ । साहित्यकार, कथाकार, निबन्धकार, कलाकार र सम्पूर्ण नेपाली चनाखो भएनौँ भने हामीले आफ्नो दायित्व पूरा गरेको ठहर्दैन । चनाखो होऔँ, मुलुकको लागि अघि बढौँ । अन्याय नसहौँ । अन्यायमात्र नसहे पनि परिवर्तन सुरु हुन्छ ।
(रिसाल वरिष्ठ पत्रकार हुनुहुन्छ ।)
Leave a Reply