भर्खरै :

कपोलकल्पित समाचारको क्यान्सर अस्पतालद्वारा खण्डन

भक्तपुर, ८ कार्तिक । भक्तपुर क्यान्सर अस्पताललाई लिएर अन्नपूर्ण पोष्टलगायत केही पत्रपत्रिकामा आएका कपोलकल्पित समाचारको अस्पताल प्रशासनले खण्डन गरेको छ । अस्पताल प्रशासनले अस्पताल सुचारु गर्न सबै पक्षको सदासयता र सहयोगको अपेक्षा गर्दै क्यान्सर अस्पताल परिवार कुनै पनि अनियमितता र भ्रष्टाचारको विरुद्धमा रहेको बताएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ – २०७६ कार्तिक ६ र ८ गते अन्नपूर्ण दैनिकमा प्रकाशित समाचारमाथि यस अस्पतालको गम्भीर ध्यानार्कषण भएको छ । उक्त कपोलकल्पित समाचारको हामी जोडदार खण्डन गर्दछौँ । भक्तपुर क्यान्सर अस्पतालमा पूर्वव्यवस्थापन र नयाँ व्यवस्थापन समितिको वैधानिकताको लागि सम्मानित सर्वोच्च अदालतमा छलफलको लागि दुवै पक्षलाई बेलाएको तर पटक–पटक पेशी सरेको कारणले छलफल हुन नसकेको जानकारी गराउन चाहन्छौँ ।
२०७६ भदौ १० गतेको सर्वाेच्च अदालतको पूर्वव्यवस्थापन समितिलाई यथावत राख्ने र नयाँ व्यवस्थापन समितिले कुनै काम नगर्ने र के–कस्ता निर्णय भएका छन् छलफलको लागि सम्पूर्ण कागज ल्याई उपस्थित हुने अन्तरिम आदेशले नयाँ व्यवस्थापन समितिले कर्मचारीको हितमा गरेका धेरै राम्रा निर्णयहरू र मेडिकल डाइरेक्टरको नियुक्तिमा केही नबोलेको अवस्था छ ।
पूर्वव्यवस्थापन समिति आजको मितिसम्म अस्पतालमा आई कामकाज नगरेको, त्यसको बदलामा बाहिर बसी बैङ्क खाता रोक्का गरी अस्पताललाई चाहिने अक्सिजन, पानी, बिजुली, इन्टरनेट, खाना, इन्धन (शव वाहन, एम्बुलेन्स, बिरामी र कर्मचारी बोक्ने गाडी) र अस्पताललाई अति आवश्यक सरसामानहरूको भुक्तानी नगरी अस्पतालमा असहज स्थिति पैदा गर्ने नियत देखाएकोले भदौ २८ गतेबाट अस्पतालका विभागीय प्रमुख र कर्मचारी कल्याणकारी समितिको सहमतिमा अस्पतालको दैनिक आम्दानी बैङ्कमा जम्मा नगरी अति आवश्यक सामान र सेवाको लागि ‘आवश्यकताको सिद्धान्तअनुसार’ अस्पतालबाट भौचरबाट भुक्तानी गर्दै आएको जानकारी गराउन चाहन्छौँ । जसले गर्दा अहिलेसम्म अस्पतालबाट दिँदै आइरहेका सम्पूर्ण सेवा सुविधाहरूमा कुनै अवरोध, व्यवधान र समस्याहरू नआएको जानकारी गराउँदछौँ ।
भदौ १ गतेदेखि २८ गतेको रकम १ करोड १७ लाख भक्तपुर, सल्लाघारीस्थित नेपाल बङ्गलादेश बैङ्क खाता नं. ण्ज्ञडण्ण्डण्घऋ मा सुरक्षित छ । भदौ महिनाको कर्मचारीहरूको तलब पूर्वव्यवस्थापन समितिका पदाधिकारीहरूले नदिएपछि असोज १ गतेदेखि दैनिक आम्दानीबाट कर्मचारीहरूको खातामा भौचरमार्फत तलब भत्ता जम्मा गरेको जानकारी गराउँदछौँ ।
असोज महिनाको तलबभत्ता पूर्वव्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले सम्पूर्ण कर्मचारीहरूको तलब, भत्ता, नागरिक लगानी कोष, सञ्चय कोष, अस्पतालका आवश्यक सरसामानहरू दिने आपूर्तिकर्ताहरूको चेकहरूमा हस्ताक्षर गरे तापनि उहाँहरूको आफैँभित्रको खिचातानीले कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारले चेकमा हस्ताक्षर नगरेपछि हिजो बिहान भक्तपुर नगरपालिका मेयरज्यू र प्रमुख जिल्ला अधिकारीज्यूको प्रयासले उहाँले चेकमा हस्ताक्षर गर्नुभयो । त्यसपछि अस्पतालमा जम्मा भएको रकम रु. ४० लाख रुपैयाँ अस्पतालको बैङ्क खातामा जम्मा गरियो ।
व्यवहारिक पक्षलाई ध्यान दिंदै बिरामीहरूको सेवा सुविधालाई उच्च प्राथमिकताका साथ काम गर्दै आएको कुरा सहर्ष जानकारी गराउन चाहन्छौँ ।
अस्पताल बन्द गराउने नियत
नयाँ व्यवस्थापन समिति गठनपछि तिर्मिराएका, भ्रष्टाचारको आरोप लागेका पूर्व पदाधिकारीहरूले पैसाको बलमा महँगा महँगा वकिलहरू राखेर मुद्दामामिलाको अस्त्र प्रयोग गरी कानुनी झमेला सिर्जना गरी अस्पताल नै बन्द गराउने नियत राखेको पूर्वव्यवस्थापन समितिकै एक सदस्यले बताए । उनीहरूले प्रचार गरेजस्तो अस्पतालको उपचार सेवा बन्द नभएपछि पूर्वपदाधिकारीहरू कानुनी दाउपेच प्रयोग गरी अस्पतालको आम्दानीबाट जम्मा भएको कोष आफ्नै हातमा राख्न सफल भएका थिए । त्यसैलाई तिनीहरूले अस्पताल प्रशासन र कर्मचारीहरूलाई कज्याउने वा धम्क्याउने अस्त्रको प्रयोग गरेका थिए । त्यसबाट पनि अस्पताल प्रशासन र कर्मचारीहरूले आत्मसमर्पण नगरेपछि अस्पतालले नै दैनिकरूपमा आम्दानी जम्मा खडा गरेको कोष रकमको खाता रोक्का गरी अस्पताललाई चाहिने अक्सिजन, पानी, बिजुली, इन्टरनेट, खाना, इन्धन (शव वाहन, एम्बुलेन्स, बिरामी र कर्मचारी बोक्ने गाडी) र अस्पताललाई अति आवश्यक सरसामानहरूको भुक्तानी नगरी अस्पतालमा असहज स्थिति पैदा गरियो । त्यसपछि भदौ २८ गतेबाट अस्पतालका विभागीय प्रमुख र कर्मचारी कल्याणकारी समितिको सहमतिमा अस्पतालको दैनिक आम्दानी बैङ्कमा जम्मा नगरी अति आवश्यक सामान र सेवाको लागि ‘आवश्यकताको सिद्धान्तअनुसार’ अस्पतालबाट भौचरबाट भुक्तानी गर्दै आएको बताइएको छ ।
अस्पताल बन्द नै गराउने लवीमा विशेषगरी उद्योगी व्यवसायीको परिचय बनाएका तर कैयौँ ठगीको अभियोग लागेका अस्पताल पूर्वव्यवस्थापन समितिका कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकार रहेको बुझिएको छ । अस्पताल सुचारुरूपमा चलाइराख्ने उद्देश्यले र सर्वोच्च अदालतको अन्तरिम आदेशलाई पालना गरेर अस्पताल प्रशासनले आम्दानी पुरानै खातामा जम्मा गरेकोलाई उनले अस्पताल प्रशासनको कमजोरीको रूपमा बुझेर चेकमा हस्ताक्षर गर्न हप्र्तौँदेखि आनाकानी गर्दै आएका थिए । स्थिति असहज भएपछि अस्पताल प्रशासनले गुहारेपछि बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रजिअ नारायणप्रसाद भट्टको दबाबपछि चेकमा हस्ताक्षर गर्न तयार भएका थिए । चेकमा सही गर्न जिल्ला प्रशासन कार्यालय आउने जानकारी दिएका ताम्राकार पछि नाटकीयरूपले प्रहरी र आफ्ना निजी सुरक्षा दस्ताका साथ अस्पतालमै पुगेर चेकमा हस्ताक्षर गरी सरासर फर्केका थिए ।
होटल निर्माण, घरजग्गालगायत कैयौँ बहानामा करोडौँ रुपैयाँ ठगी गरेको अभियोग लागेका ताम्राकारले अस्पतालको विनियमावलीअनुसार पहिल्यै राजीनामा दिनुपर्ने तर तत्कालीन अध्यक्षको आडमा नैतिकताविपरीत पदमा बसिरहेको अस्पताल व्यवस्थापन समितका ती पूर्वसदस्यले बताए । अहिले त्यही व्यक्तिले अस्पतालजस्तो अत्याश्यक सेवामा अवरोध उत्पन्न गर्न र अस्पताल बन्द गराउन लागिपर्नु खेदजनक भएको उनले बताए ।
अस्पताल सहयोग समितिको टोली अस्पतालमा
अस्पताललाई सुचारुरूपमा सञ्चालन गर्न विभिन्न तवरले अस्पताललाई सहयोग गर्दै आउनुभएका व्यक्तिहरू सम्मिलित अस्पताल सहयोग समितिको टोलीले शुक्रबार अस्पताल प्रशासनसित भेट गरी अस्पतालको तत्कालीन समस्याबारे बुझेको छ ।
टोलीले अस्पताल बाहिर रहेर पनि आवश्यक सहयोग गर्न तत्पर रहेको बताउँदै कसैको दबाब वा धम्कीले अस्पतालका सेवाहरू बन्द गर्ने सोचाइ नराख्न आग्रह ग¥यो । टोलीले भ्रष्टाचारको आरोप लागेका पदाधिकारीमध्ये एक ताम्राकार बिहीबार अस्पताल छिरेकोप्रति आपत्ति जनाउँदै चेकमा सही गराउने काम जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्ने बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *