भर्खरै :

ख्वप माविको आयोजनामा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम

भक्तपुर , ८ कार्तिक : भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले चाँडबाँडको समयमा भड्किलो खर्च नगर्न र विदेशबाट आयात हुने सामानभन्दा यहाँकै मौलिक वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
शुभ दिपावली, नेपाल संवत ११४० एवम् छठ पर्वको अवसरमा ख्वप मावि र शारदा माविको संयुक्त आयोजनामा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन सांस्कृतिक प्रतियोगिताको आवश्यकता औंल्याउनुहुँदै विद्यार्थीहरू राजनीतिक, सामाजिक, भौगोलिक रुपमा जानकार हुनुपर्छ भन्नुभयो ।
तिहारको लागि आवश्यक वस्तुहरूमा नेपाल आत्मनिर्भर हुन नसक्नुमा चिन्ता प्रकट गर्नुहुँदै प्रमुख प्रजापतिले विद्यालयहरूमा प्रदर्शन हुने सांस्कृतिक प्रस्तुतीहरूहरू जनताको चेतनास्तर उकास्ने, समाजलाई रुपान्तरण गर्ने खालको हुनुपर्ने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रुपक जोशीले सांस्कृतिक प्रस्तुती केबल मनोरञ्जनको लागि मात्र हुन नहुनेतर्फ सचेत गर्नुहुँदै समाजको वास्तविकता प्रस्तुत गर्ने मञ्चको रुपमा प्रयोग गर्न आह्वान गर्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नाचगानको राजधानी भनेर चिनिएको भक्तपुरका बासिन्दाहरू सबै कलाकार हुन् भन्नुभयो । उहाँले सांस्कृतिक मञ्चमार्फत् समाजको विकृति–बिसंगति र समाजमा हुनुपर्ने नयाँ कुरालाई रचनात्मक रुपमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताउनुभयो ।
प्रतियोगितामा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले गीत, नृत्य र नाटक प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *