भर्खरै :

मध्यपुरमा कला प्रदर्शनी

– केके मानन्धर
मध्यपुर, १० कार्तिक । भक्तपुरको मध्यपुर थिमिस्थित निगु पुखू क्षेत्रमा एकदिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पु¥याउने उद्देश्यले चित्रकला प्रदर्शनी आयोजना गरिएको हो । दिवेश प्रधानको संयोजन तथा शङ्खधर एसोसिएसन अफ फाइन आर्टले मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले गर्नुभयो ।
कार्यक्रममा ७० वटा चित्रलाई पोखरी वरपर आकर्षक ढङ्गले प्रदर्शनीमा राखिएको थियो । प्रत्येक शनिबार नगरका विभिन्न ठाउँमा पुगेर कलाकारहरूले चित्रकलालाई तयार गरेका हुन् । सात हप्ता लगाएर बनाइएका चित्रकलामध्ये बोडेको महालक्ष्मी, नगदेशको लाछि टोल, सिद्धिकाली, निगु पुखू, चपाचो, लाय्कू, सिवाटोल, बालकुमारी प्राङ्गणका छन् ।
स्याटर डे प्लेन एअर अर्थात् शनिवारीय चित्रकलाको कार्यशाला आयोजना गरी कलाकारहरू देशका विभिन्न ठाउँ पुगेर चित्र बनाइरहेका छन् । निश्चित समयमा तयार गरिएका चित्रकलालाई सम्बन्धित ठाउँमा प्रदर्शनी गर्ने कामलाई पनि अभियानको रुपमा थालेका छन् । सोही अभियानअन्तर्गत मध्यपुरको चित्रकलालाई ‘जीवन्त मध्यपुर’ नामकरण गरिएको छ । यसअघि भक्तपुर, काठमाडौँ, पाटन, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा सम्पन्न गरेका छन् । आगामी कार्तिक २२ र २३ गते रसुवाको बेत्रावती नगरपालिकामा हुँदै छ । कार्यक्रममा वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्य, रोशन बज्राचार्य, जीवन्त सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापति, गणेशराम लाछीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *