भर्खरै :

अध्यक्ष बिजुक्छेँसित प्रजग कोरियाली प्रतिनिधिमण्डलको भेटघाट

काठमाडौँ, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको प्योङयाङ सहरबाट नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलबीच शनिबार भेटघाट भयो ।
भेटमा अध्यक्ष बिजुक्छेँले नेमकिपा र कोरियाली मजदुर पार्टीबीचको सम्बन्ध साम्राज्यवादविरोधी भावनामा आधारित सिद्धान्त भएको बताउनुभयो ।
दुई पार्टीबीचको सम्बन्ध कोरियाली जनताका महान नेताहरू किम इल सङ र किम जङ इलको समयदेखिकै भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रजग कोरियामा सन् १९९० को दसकमा आयोजित साम्राज्यवादविरोधी सम्मेलनमा जारी घोषणामा नेमकिपा पनि हस्ताक्षरकर्ता थियो ।”
पुँजीवाद र साम्राज्यवादविरोधी सङ्घर्षको क्रममा प्रजग कोरियाको इतिहासबाट नेपाली जनतालाई ऊर्जा र शिक्षा प्राप्त भएको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “साम्राज्यवादविरोधीहरूसँग जस्तालाई तस्तैको सङ्घर्ष गरिरहेको प्रजग कोरिया र कोरियाली क्रान्तिप्रति नेमकिपा समर्थन गर्दछ ।”
आफ्नै खुट्टामा उभिएर सङ्घर्ष गर्ने प्रजग कोरियाबाट नेपालजस्तो स–साना देशलाई उत्साह प्राप्त भएको प्रजग कोरियाली टोलीसँग चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले कोरिया पुनःएकीकरण र समाजवादको सङ्घर्षप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र नेपाली जनतालाई प्रजग कोरियाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै दुई देश र दुई पार्टीबीचको सम्बन्ध अझ विस्तार हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रजग कोरियाको प्रतिनिधिमण्डलका प्रमुख चा हि रिमले प्रजग कोरियाको वर्तमान अवस्थाबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल र प्रजग कोरियाबीचको मैत्री सम्बन्धलाई अझ विकास गर्न शिक्षा र कृषि क्षेत्रमा आदानप्रदान आवश्यक छ ।”
प्रजग कोरियामा कोरियाली मजदुर पार्टीको नेतृत्वमा समाजवादी निर्माणको काम अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले कोरियाली जनताको सपना साकार पार्न प्रजग कोरियाली सरकारले काम गरिरहेको प्रकाश पार्नुभयो ।
यसअघि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शनिबार प्रजग कोरिया, प्योङयाङ सहर जनसमितिका अध्यक्ष छा हीन रिमको नेतृत्वमा आउनुभएका कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वार (लाय्कु ध्वाका) मा पुष्प गुच्छा र भादगाउँले टोपी लगाइदिएर स्वागत गर्नुभयो ।
प्रमुख प्रजापतिले कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्र, तलेजु मन्दिर, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गर्दै भक्तपुर नगरपालिकाले गरिरहेको विकास निर्माण र सम्पदा संरक्षणबारे अवगत गराउनुभयो ।
कोरियाली प्रतिनिधिमण्डल टोलीमा प्योङयाङ सहर अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक री सोन हो, इन्धन व्यवस्था विभागका निर्देशक री जुन छुन, मोरानबोङ जनसमितिका अध्यक्ष चोइ हुइ ताई, प्योङचोन जिल्ला जनसमिति अध्यक्ष रीजी नाम, प्योङयाङ सहर जनसमिति अधिकृत जो यून सीक र प्रजग कोरिया–नेपाल मैत्री समाजका सचिव सोङ्ग हो इलको उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *