भर्खरै :

“सत्ता स्वार्थका कारण शासक वर्ग भारतीय अत्याचार अन्तर्राष्ट्रियकरण गर्न रोक्छ”

दैलेख, २७ कार्तिक । नेपाली भूमि आफ्नो सीमाभित्र राखी भारतले नक्सा तयार गरेपछि पश्चिम नेपालको विकट पहाडी जिल्लाहरूमा सीमा अतिक्रमणविरोधी प्रदर्शन फैलिएको छ । प्रदर्शनले गाउँगाउँका जनतालाई उत्साहित गरेको छ ।
यसैबीच बुधबार नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिले भारतीय विस्तारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनको आयोजना गरेको छ । लिम्पियाधुरा हाम्रै हो, कालापानी हाम्रै हो, सुस्ता पनि हाम्रै हो, देशभक्त जनता एक होऔँ आदि विभिन्न नाराका साथ जुलुसले नगर परिक्रमा गरेको थियो ।
जुलुस प्रदर्शनपछि देवकोटा चोकमा आयोजित सभामा नेमकिपा, कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले सार्वभौमिकता रक्षाको निम्ति नेपाली जनताले सङ्घर्षका गतिविधिलाई अझ तीव्र पार्ने बेला आएको बताउनुभयो ।
उहाँले भारतीय विस्तारविरोधी आन्दोलनलाई गाउँगाउँमा पु¥याउनुपर्नेमा जोड दिँदै सत्तास्वार्थको कारण शासक वर्ग भारतीय अत्याचारलाई अन्तर्राष्ट्रियकरण गर्न रोक्दै छ भन्नुभयो ।
संयोजक गोसाईले भारतले सिस्नुपानी लगाएपछि शासक दलहरू भारतीय कदमविरुद्ध बोल्न बाध्य भएको चर्चा गर्दै शासक वर्गबाट जहिलेसुकै धोका भएको उल्लेख गर्नुभयो । उहाँले सुस्तामाथि भारती हस्तक्षेप हुँदा नेमकिपाले २०२५ सालमा प्रदर्शन गर्दा प्रहरी दमनको सामना गर्नु परेको औल्याउँदै नेमकिपाले विस्तारवादविरुद्ध निरन्तर सङ्घर्ष गरिआएको बताउनुभयो । उहाँले सानो देशले पनि ठूला देशलाई झुकाएको भन्दै नेपालले भारतीय विस्तारवादविरुद्ध लड्न खुट्टा कमाउन नहुने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले सत्तासीन पार्टीले भारतीय हस्ताक्षेपविरुद्ध बोल्ने साहस नगरेको भन्दै नेपाल–भारतबीचको खुला सीमा बन्द हुनुपर्ने विचार राख्नुभयो ।
उहाँले देशभक्त नागरिक हुँदासम्म देशको अस्तित्व रहने भन्दै गाउँगाउँमा घन्किएको नाराले भारतीय विस्तारवादलाई झुकाएरै छाड्नेछ भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले महाकाली सन्धिपछि पश्चिमबाट सूर्य उदाउने भन्ने केपी ओली प्रधानमन्त्री भएको भन्दै आज पनि शासक वर्गले भारतीय विस्तारवादकै दलाली गरिरहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले प्रचण्ड आफू पुनः प्रधानमन्त्री बन्न भारतीय हस्तक्षेपको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न रोक्न खोजेको बताउनुभयो ।
नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विक र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य तुल्सीकुमारी कठायतले भारतीय विस्तारवादविरुद्धको आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *