भर्खरै :

ज्ञानकुञ्ज साकोसको दसौँ वार्षिक साधारणसभा

भक्तपुर, ३० कार्तिक । ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.को दसौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्थाका सदस्यहरूको विश्वास जितेर संस्था अगाडि बढ्न आग्रह गर्दै समुदायमा केन्द्रित भएर काम गरेको हुँदा नगरपालिकाले सबै क्षेत्रमा सफलता प्राप्त गरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजले देशैभरिका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र ख्वप विश्वविद्यालय सञ्चालन गरी सिङ्गो देशलाई बुद्धिजीवीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अनुसन्धान र प्रविधिमा अगाडि बढेको देशले छिटो प्रगति गर्छ, भनपाद्वारा सञ्चालित कलेजहरूमा अध्ययन र अनुसन्धानमा जोड दिँदै आएको छ ।’
भक्तपुर नगरलाई गौरव गर्नलायक सहरको रुपमा विकास गर्ने सोचका साथ अगाडि बढिरहेको बताउँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरूले नगरपालिकालाई तिर्नुपर्ने कर समयमा तिर्न र नक्साबमोजिम घर र संरचनाहरू निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जनताको चेतनास्तर उकासेर समाज र समुदायको हितमा संस्थाले काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्थाका असल बचतकर्ता र असल ऋणीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद दुमरु र संस्थाका प्रशासक पियुस दुमरुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका लेखा संयोजक नवराज धौगोडाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्ष विनयराज रेग्मीले आर्थिक प्रतिवेदन, सचिव मोहनकृष्ण श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महिला उपसमितिका सुभद्रा कोजु र सञ्चालक समिति उपाध्यक्ष सुस्मिता घिसिङले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले संस्थाका संस्थापक सदस्यहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *