क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
ई. राजदास श्रेष्ठ
स्कूल जीवनमा हुर्केको कम्युनिस्ट विचारधाराप्रतिको मेरो आस्था कायम नै रह्यो मेरो तीन वर्षको कलेज जीवनमा पनि । तर, पढाइको चापले गर्दा र आफ्नै कक्षाको एक सहपाठीसफ्ग प्रेम प्रसङ्गले गर्दा मैले विद्यार्थी आन्दोलनहरूमा खास ध्यान दिन छोडेँ । यदाकदा जुलुसमा भाग लिन्थँे र कलेज हड्तालमा सहयोग गर्थेँ ।
म पढेको कलेजका विद्यार्थीहरू क्रान्तिकारी थिए । पञ्चायती शासनको विरोधमा हुने प्रायः आन्दोलनहरूमा उनीहरू अगुवाइ नै हुन्थे ।
यही कारणले गर्दा कैयौँ पटक कलेजको होस्टेल (छात्रवास) भित्र नै छिरेर क्रान्तिकारी विद्यार्थीहरूमाथि निर्मम प्रहार गर्थे त्यसबेलाका पुलिसहरूले ।
निरन्तररूपमा चलिरहेका विद्यार्थी आन्दोलनहरूमा म कमै जान्थेँ । मेरा एक सहपाठी मित्र कृष्णसुन्दर मल्ल (मल्ल के. सुन्दर) आन्दोलनमा भाग लिन जान्थे । सायद त्यो आन्दोलन भारतले सिक्किम लिएको विरोधमा थियो । उनी सिंहदरबारको गेटमाथि चढ्न पुगेका थिए । तीनतिरबाट आन्दोलित विद्यार्थीहरूलाई पुलिसले घेरा हालेका थिए । हजारौँको सङ्ख्यामा विद्यार्थी तथा सर्वसाधारण आन्दोलनकारीहरू सिंहदरबार अगाडि नारा जुलुसका साथ उत्तेजित भइरहेका थिए । पुलिसले पश्चिममा भद्रकालीबाट, उत्तरमा पुतली सडकबाट र दक्षिणमा माइतीघर (थापाथली) बाट बर्बरतापूर्वक लाठीचार्ज गर्दै थुनेका थिए । आन्दोलनकारीहरू भाग्ने ठाउँ कहीँ नभएर कैयौँ विद्यार्थीहरू सिंहदरबार अगाडिको पुल (बाटो) बाट तल नेसनल ट्रेडिङ्ग लिमिटेडको ग्राउन्डमा हाम फालेका थिए पुलिसको लाठी खानबाट बच्न । झन्डै २०–२५ फुटका उचाइबाट हतार हतारमा हाम्फाल्दा कैयौँको हात खुट्टा भाँचिएको थियो । त्यसमध्ये एकजना मेरो घर–छिमेकी भुवन श्रेष्ठको पनि हात भाँचिएको थियो । केही दिनपछि प्लास्टर गरेको भाँचेको हात देखाउँदै मलाई भन्दै थियो, अबदेखि जिन्दगीमा यस्ता आन्दोलनहरूमा जाँदिन भनेर । तर साथी मल्ल के. सुन्दरलाई भने केही भएन । सिंहदरबारको ठूलो फलामको गेटमाथि चढेर उनी पुलिसबाट बचेर आउन सफल भए । म आफ्नो पढाइमा बढी ध्यान दिन थालेँ । आइएस्सीमा बढी अङ्क ल्याएर मलाई प्रथम श्रेणीमा उत्तीर्ण हुनु थियो ताकि म छात्रवृत्ति पाएर कुनै विदेशी मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जान सकूँ ।
अमृत साइन्स कलेजमा पढ्दै गर्दा एकदिन केही शैक्षिक सामग्री उपहार बोकेर हाम्रो कलेजमा तत्कालीन सोभियत सङ्घको एक शैक्षिक डेलिगेसन आएको थियो । ती उपहारमा थिए, धेरै सामान रासायनिक प्रयोगशालामा प्रयोग हुने केमिकल आपाराटसहरू । उपहार प्रदान समारोहमा डेलिगेसनका अध्यक्ष एवम् सोभियत शिक्षा–संस्कृतिविद् प्रोफेसर रुद्कोले एक घण्टा जति प्रवचन दिनुभएको थियो । उहाँले सोभियत शिक्षा नीति र सोभियत सङ्घले विश्वका विकासोन्मुख देशहरूलाई शिक्षा क्षेत्रमा गरिरहेको सहयोगबारे बताउनुभयो ।
उहाँको कुरा सुनेदेखि मलाई सोभियत सङ्घ जाने रहर जाग्यो । फस्ट डिभिजनमा उच्च अङ्क ल्याएर पास हुने उद्देश्यले रात दिन मिहेनत गर्नथालेँ । मैले एक वर्ष आफ्नो पढाइ ड्रप गरेर दुई वर्षपछि दोस्रो वर्षमा प्रवेश गरेँ । एक वर्ष त्यसै खेर गयो ।
यही कुरालाई लिएर मलाई एसएलसीमा नेपालभाषाको ट्युसन पढाउनुहुने प्राध्यापक सूर्यबहादुर पिवाले क्लास ड्रप नगर्न धेरै सम्झाउनुभयो । तर, मैले आँट गर्न सकिनँ । एक वर्ष ड्रप नै गरेँ आफ्नो कलेजको पढाइ । सन् १९६९ को सत्रमा प्रथम श्रेणीमा आइएस्सी उत्तीर्ण गरेँ । सोही वर्ष सोभियत सङ्घमा छात्रवृत्तिअन्तर्गत सिभिल इन्जिनियरिङ्ग पढ्न भनेर मेरो आफ्नै कलेजका आठजना सह–पाठीहरूसँग सन् १९६८ को अगस्ट महिनामा रवाना भएँ काठमाडौँबाट सोभियत सङ्घ, काठमाडौँबाट पटना बम्बई हुँदै मास्को ।
यसरी म नेपालमा आफ्नो पढाइ सकाएर मस्कोतिर लागेफ् । मेरा साथी मल्ल के. सुन्दर सायद नेपालमै अध्ययन गर्नुभयो । उहाँ साइन्स पढेर पनि इन्जिनियरिङ्ग मेडिकल साइन्सतिर नलागी अन्य विषयमा प्रवेश गर्नुभयो । उहाँले पछि आफ्नो करियर पत्रकारिता, साहित्य, राजनीति र भाषा संस्कृतिमा विकास गर्नुभयो । पत्रकारिताको सेवा गर्दै उहाँले नेपालभाषामा ‘इनाप’ पत्रिका निकाल्नुभयो । यसबारे मलाई पूर्वसूचना दिनुभएको थियो । मैले पनि ‘इनाप’ रेगुलर पढ्न थालेँ र एक दुईवटा लेख रचनाहरू लेखिदिएँ । उहाँले मेरा रचनाहरू प्रकाशन गरिदिनुभयो ।
सोभियत सङ्घबाट सन् १९७६ मा म केमिकल इन्जिनियरिङ्ग सकाएर नेपाल फर्कँदा केही वर्ष पहिलेकै ठाउँ बाङ्गेमुढा बस्न गएँ । बाङ्गेमुढाको मेन चोकैमा हो उहाँको मूल घर । त्यसबेला त्यही घरमा बरोबर नेपालभाषा साहित्य विषयमा कोठे सभा हुनेगथ्र्यो । उक्त सभामा डा.कमलप्रकाश मल्लको साथै जनकवि दुर्गालाल श्रेष्ठको पनि उपस्थिति हुन्थ्यो । उहाँहरूको समितिमा आएर मलाई नेपालभाषा साहित्यमा रुचि बढ्नथाल्यो ।
यसै सिलसिलामा एकचोटि सोभियत सङ्घबाट एक सानो साहित्यिक प्रमण्डल आएको थियो । नेपालभाषा साहित्य, विशेष गरेर काव्य साहित्यको अध्ययन अनुसन्धान गर्न आएको उक्त प्रमण्डललाई मैले दोभाषेको रूपमा सहयोग गरेको थिएँ । एक साँझ दुई–तीन जनाको रुसी कविहरूको उक्त प्रमण्डललाई उनीहरूकै अनुरोधमा नेपालभाषाका प्रबुद्ध साहित्यकार प्राध्यापक प्रेमबहादुर कंसाकार (कसा) को घर (काठमाडौँ मासंगल्ली) मा लगिदिएँ । मेरो साथमा मल्ल के. सुन्दर पनि हुनुहुन्थ्यो । मल्लले “जिगु भ्वाथगु छेँ” (मेरो पुरानो घर) कविता नेपालभाषामा सुनाउनुभएको थियो । पूरा साहित्यिक ढङ्गमा अनुवाद गर्न नसके पनि उक्त कविताको भावानुवाद मैले गरिदिएँ ।
रुसी साहित्यकार मित्रहरू उहाँको कविता सुनेर खुसी हुनुभयो । हाम्रो नेपाली समाज पञ्चायती व्यवस्थारुपी पुरानो ढल्नै लागेको घरमा आसीन छ र यो घरलाई भत्काएर नयाँ घर (नयाँ व्यवस्था) बनाउनुपर्छ भन्ने कविताको आशय थियो ।
त्यसैताका हो, मैले प्रो.कमलप्रकाश मल्लसँग मिलेर नेपालभाषामा एक अनुसन्धात्मक लेख लेखेको थिएँ ‘नेवातय्गु व्युत्पतिबारे’ । नेवाः जाति कहिले कसरी उत्पति भयो र कहिलेदेखि यस नेपाल खाल्डो (उपत्यका) मा बसोबास गर्न आएका हुन् भन्नेबारे विभिन्न स्वदेशी तथा विदेशी अनुसन्धानहरूको स्रोतका आधारमा उक्त रचना ‘इनाप’ पत्रिकामा प्रकाशित भएको थियो ।
यसरी पत्रकारिता गर्दै अगाडि जाँदै गर्दा साथी मल्ल रासस (राष्ट्रिय समाचार समिति) को अध्यक्ष पनि बन्नुभयो । यसभन्दा पहिले उहाँ भाषा आन्दोलनमा लागेर स्व. पदमरत्नसहित काठमाडौँका भाषा साहित्य प्रेमीहरूको सहयोगमा ‘मंका खलः’ स्थापना गरी अगाडि बढ्नुभयो । त्यसको सिलसिलामा पदमरत्नको अध्यक्षतामा ‘भिन्तुना ¥याली’ को आन्दोलन गर्दै नेपाल सरकारमाथि दबाब सृजना गरियो र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्न बाध्य तुल्याइयो । नेपाल संवत् प्रवर्तक शङ्खधर साख्वालाई ‘राष्ट्रिय विभूति’ को सम्मान दिलाउन सफल भयो ।
Leave a Reply