भर्खरै :

दाङमा नेमकिपाको प्रचारप्रसार तीव्र

दाङ, १ मंसिर । नेपाल मजदुर किसान पार्टीले दाङ क्षेत्र नं. ३ (ख) को प्रदेशसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारलाई तीव्रताका साथ अगाडि बढाएको छ । नेमकिपाले सो क्षेत्रमा सुरेश परियारलाई उम्मेदवार बनाएको छ ।
प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेमकिपाले ‘वर्गशत्रुलाई खुसी पार्ने नक्कली कम्युनिस्टलाई उदाङ्गो पारौँ, कामदार वर्गलार्ई राजनीतिको मूलधारमा ल्याउन नेमकिपालाई जिताऔँ’ नारा दिएको छ । साथै ‘दाङ उपत्यकामा प्रदेश राजधानी बनाउने प्रस्ताव अघि बढाउन मादल चिह्नमा मतदान गरौँ, जनताको प्रजातन्त्र स्थापना गर्ने सङ्घर्ष अघि बढाउन नेमकिपालाई जिताऔँ’ नारा उल्लेख गरी व्यापक पर्चा वितरण गरेको छ ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका चारवटा स्थानीय तहहरू तुल्सीपुर उपमहानगरका वडाहरू, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाका जनतासँग प्रत्यक्ष संवाद गरी नेमकिपाका कार्यकताहरूले मादल चिह्नमा मतदान गर्न अपिल गरेका छन् । खेती स्याहार्ने बेला हुन लागेको निर्वाचनमा नेमकिपाका कार्यकर्ताहरू खेत खलियानमै गएर किसानहरूलाई नक्कली कम्युनिस्टहरूले कम्युनिस्टहरूकै बदनाम गरेको र जनताको प्रजातन्त्रको लागि मजदुर–किसानहरू नै राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिएका छन् ।
जनताको घरदैलो र चौतारो चौपारीमा पनि नेमकिपाका कार्यकर्ताहरूले कालापानीबाट भारतीय सेना हटाउन र लिम्पियाधुरासम्मको अतिक्रमित नेपाली भूमि फिर्ता लिन ओली–दाहाल सरकारले आनाकानी गरिरहको विषयमा छलफल चलाएका छन् । देशको सार्वभौमसत्ता र भूअखण्डता जोगाउन नेमकिपालाई मतदान गर्न आह्वान गर्दै नेमकिपाले दाङ उपत्यकामा राजधानी राख्नसके प्रदेशको मात्र होइन, सिङ्गो देशकै विकासमा महत्वपूर्ण पाइला हुने स्पष्ट पारेको छ ।
पहिलो संविधानसभाको बेलामा नै दाङमा केन्द्रीय राजधानी सार्ने प्रस्ताव गर्ने नेमकिपाका उम्मेदवारीलाई दाङका जनताले उत्साहका साथ स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *