भर्खरै :

आवास योजना व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्नेमा जोड

भक्तपुर, १ मंसिर । भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनामा जग्गा योगदान प्रतिशतबारे जानकारी भेलाको तेस्रो भेला आइतबार सम्पन्न भयो ।
भेलामा सङ्घीय सांसद एवम् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले कम कटौती, कम लगानी र कम समयमा आवास योजना सम्पन्न गर्ने योजना रहेको बताउँदै आवास योजना पुस्तौँ पुस्ताको लागि आवश्यक भएको हुँदा व्यवस्थितरूपमा योजना सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको पहिलो व्यवस्थित आवास योजना नगाँचा भएको जानकारी दिँदै उहाँले खुला जग्गाको अभाव हुँदा विपद्को समयमा समस्या हुने हुँदा स्थानीय जनतासँग समन्वय गरी आवास योजना व्यवस्थापन गर्नु नै भेलाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
देशको सन्तुलित विकास गर्न र नयाँ पुस्ताको लागि भक्तपुरमा पनि आवास योजना सञ्चालन गरेको बताउँदै उपत्यकाको खाली जमिन अतिक्रमण गरी आवास योजनामा परिणत हुनसक्ने खतरा बढेको बताउनुभयो । उहाँले सार्वजनिक र पर्ती जग्गाहरू अतिक्रमणको चपेटामा परेको हुँदा व्यवस्थित आवास योजनाले पर्ती जग्गा संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौँ उपत्यकाको २० प्रतिशत जमिन भवनले ओगटेको तथा नेपालको पहिलो आवास योजना राजविराज भएको जानकारी दिँदै जथाभावी भवन र संरचना निर्माण गर्दा खुला क्षेत्रको अभाव हुने भएकोले व्यवस्थित बस्ती विकास गर्न सके नयाँ पुस्तालाई समस्या नहुने बताउनुभयो ।
तुमुचो दुगुरे र लिबाली आवास योजनाको शिक्षा लिँदै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनालाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न ढल र आकाशे पानीको लागि छुट्टाछुट्टै पाइप राखिएको, पोखरी सुधार गर्ने अवसर यस आवास सञ्चालनले दिएको उहाँले जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले वैज्ञानिक हिसाबले जग्गावालाको हितमा केन्द्रित रहेर योगदान प्रतिशतको आधारमा जग्गा कटौती गरिने जानकारी गराउँदै पुरानो सहर बचाइराख्न तथा नयाँ सहरलाई व्यवस्थित ढफ्ले अगाडि बढाउन आयोजनाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र उपभोक्ता समितिका अध्यक्ष तुल्सीराम धुख्वाले पनि बोल्नुभएको थियो ।
भेलामा आयोजना प्रमुख ओमहरि थाले आयोजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *