तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ९ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा सोमबार ताथलीको खर्कपुलमा चुनावी जनसभा भयो ।
सभामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले कार्यकर्ताहरूलाई इमानदार नबनाएसम्म सरकारमा गएका पार्टीहरूको विकास भ्रष्टाचारमा सीमित हुने बताउनुभयो ।
नेमकिपाले विसं २०१८÷१९ सालदेखि नै स्थानीय चुनावलाई उपयोग गरी जनताको सहभागितामा विकास निर्माण कार्य अघि बढाउँदै आएको उल्लेख गर्दै सचिव सुवालले ताथलीको शिक्षा र स्वास्थ्यको विकासका एक अगुवा नेमकिपाका इमानदार कार्यकर्ता जयराम बासुकला हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले जोड दिनुभयो, “देशको छिटो विकासको लागि रू. १–२ अर्बको योजना स्थानीय तहमार्फत १०–२० अर्ब रूपैयाँको प्रदेशमार्फत र राष्ट्रियस्तरको योजनामात्र सङ्घमार्फत गर्नु आवश्यक छ ।”
“भक्तपुर इँटा कारखाना र भक्तपुर औद्योगिक क्षेत्र स्थानीय तहको व्यवस्थापनमा सञ्चालन गरेर स्थानीय जनतालाई रोजगारी दिनु आवश्यक छ”, सचिव सुवालले भन्नुभयो ।
“सरकारमा गएर भ्रष्टाचार गर्ने मन्त्री र सत्ता पक्षका सांसदहरू एक दिन जनताको कठघरामा उभिनु पर्नेछन् । भारतीय नाकाबन्दी र नेपालको भूमि गाभेर भारतको नयाँ नक्साको विरोध नगर्ने माओवादी उम्मेदवारलाई सूर्य चिह्नको उम्मेदवार भए पनि मत दिनुहुँदैन ।” उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सशस्त्र द्वन्द्वको निहुँमा भारतकै सहयोगमा नेपालमा बम–बारूद फालेर विध्वंस गर्ने र बैङ्क लुटपाटसमेत गर्ने माओवादीहरू पनि एक दिन जनताको कठघरामा उभिनुपर्ने छन् । गणतन्त्रमा राजाजस्तै सुखसयलमा बस्ने, सङ्घीयताको नाममा देशलाई सिक्किम बनाउन तम्सनेहरूलाई उपनिर्वाचनमा पराजित गर्नु आवश्यक छ ।”
गएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मध्यपुर थिमिमा खामभित्र पैसा राखेर बाँडेको सत्तासीन पार्टीका उम्मेदवारहरूलाई मत नदिन आग्रह गर्दै उहाँले भन्नुभयो, “माओवादीले नेपालको हितविपरीत संविधान संशोधन गर्न एमालेलाई समेत दबाब दिइरहेको छ । पार्टी एक भनिए पनि मन्त्रिमण्डल र अन्य राजनीतिक नियुक्तिमा भागबन्डा भइरहेको हुँदा कुनै पनि बेला नेकपामा फुट आउने सम्भावना छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सांसद सुरेन्द्रराज गोसाईले समृद्धिको नारा लगाई ओली सरकारले जनतालाई अलमल्याउने काम गरिरहेको हुँदा जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभामा ठेकेदारहरूको बाहुल्यता भएकै कारण प्रदेशसभा अपाङ्गजस्तै भइरहेको रकाम गरिखाने वर्गका हितमा ऐन–कानुन बनाउन नसकेको उहाँले बताउनुभयो ।
नेमकिपाले सरकारलाई खबरदारीका साथै सडकदेखि संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको हुँदा नेमकिपाका उम्मेदवारलाई जिताउनु आवश्यक छ, केन्द्रीय सदस्य गोसाइँले भन्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवम् प्रदेश ३ का सदस्य सृजना सैँजूले दुईतिहाइको सरकारलाई सङ्घीयता निल्नु न ओकल्न भइरहेको चर्चा गर्दै प्रदेश नामकरण र राजधानीसमेत निश्चित गर्न नसक्दा दुईतिहाइको बहुमतमाथि व्यङ्ग्य भइरहेको छ भन्नुभयो ।
विकास बजेटको ४० प्रतिशत रकम पनि खर्च गर्न नसक्ने ओली सरकारले समृद्धिको सपना देखाउनु झूठको खेतीसिवाय अरू केही नभएको उहाँले बताउनुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले पैसा बाँडेर, झूटको आश्वासन दिएर चुनाव जित्नु गलत रहेको भन्दै आफू निर्वाचित भएर देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकालाई पर्यटक गन्तव्यस्थल बनाउन र शिक्षा र स्वास्थ्यमा नमुना बनाउन आफू लागिपर्ने विश्वास दिलाउँदै उहाँले मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेकपाको दुईतिहाइको बहुमत ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै भइरहेको छ ।”
नेमकिपा भजिसका केशव तिमिल्सिनाको सभापतित्वमा सम्पन्न उक्त सभामा निर्वाचन परिचालन समित चानपा वडा नं ८ का संयोजक राजाराम छुकां, चन्द्रबहादुर थुयाजू, नेमकिपा चानपा ८ वडा एकाइ अध्यक्ष नारायणभक्त न्हेमाफुकी र गणेश त्यातले पनि बोल्नुभएको थियो ।
Leave a Reply