भर्खरै :

भारत मिचाहा नेपाल तमासे

– वस्तुराज ‘शीतल’
नेपाली भूमि नेपालको हुनुपर्छ । नेपालको भूमि नेपालको सम्पत्ति हो । नेपालको सम्पत्ति अरु कुनै देशले लिन पाउँदैन । कुनै देशले हस्तक्षेप या आफूले लिइरहेको छ भने त्यो फिर्ता लिनुपर्छ । फिर्ता लिन बोल्नुपर्छ र सङ्घर्ष गर्नुपर्छ । ठूला देशले साना देशमाथि हस्तक्षेप गर्छ, भूमि कब्जा गर्छ भने त्यो सह्य हुँदैन । के सानो देशको सार्वभौम हुँदैन ? अस्तित्व हुँदैन ? देश जोगाउने जिम्मा सरकारको हो । कसैले हस्तक्षेप गर्दा रोक्ने दायित्व सरकारको हो । सरकारले पहल गर्दैन भने नेपाली जनताले गर्छ, गर्नुपर्छ । नेपाली भूमि नेपालको हुनुपर्छ भनी माग गर्दा र आन्दोलन गर्दा, सत्तारुढ दलका नेता, मन्त्री, सांसद र केही बुद्धिजीवीहरूले हल्ला गर्ने होइन, उत्तेजित पार्ने होइन भनी मुखटाल्ने काम गरे । यो गलत हो ।
भारतीय पक्षले मिचेको नेपाली भूमि फिर्ता दिनुपर्छ भनी जनता आन्दोलित नभएको भए यो सरकार बिउँझिने छैन । नेपाली भूमि बचाउन जनता आन्दोलित भएपछि बल्ल सरकारले मुख खोल्यो, प्रमुख प्रतिपक्षी नेकाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भनी बोल्यो । यो सकारात्मक पक्ष हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूले बोलेर पुग्दैन । सरकारले नेपाली भूमि सुरक्षा गर्ने प्रक्रिया अघि बढाउनुपर्छ । अरु दल, पेशागत सङ्घ सङ्गठन, नागरिक समाज, बुद्धिजीवी तथा जनताले आन्दोलनलाई निरन्तरता दिइरहनुपर्छ, बुटवलमा नेपाली भूमि जोगाउन भइरहेको हस्ताक्षर अभियान ठिक्कै हो । अरुलाई बोल्न रोक्ने र सङ्घर्ष गर्न नपर्ने कुरा बताउने सरकार र अन्य कुनै पक्षले नेपाली भूमि नेपालको बनाउन के गरिरहेको छ ? नेपाली भूमि जोगाउन किन पहल गर्दैन ? सरकार पनि अघि नबढ्ने र जनताको आन्दोलन पनि सेलाउन दिने मन्त्र फुकेर नेपाली भूमि जोगिँदैन । नेपाली भूमि नेपालको बनाउन सकिँदैन ।
भारतले नेपाली भूमि मिचेको मिचेकै छ । नेपाल सरकारले हेरेको हेर्यै छ । नेपाली भूमि मिचेदेखि नै नेपाल सरकारले विरोध या खबरदारी गरेको भए भारतले नेपालको ठूलो भूमि मिच्न पाउँदैनथ्यो । मिचे पनि फर्काउँथ्यो । नेपाली भूमि मिचे पनि नेपाल सरकार बोल्दैन भन्ने कुरा भारत सरकारले अनुभूति गरिसकेको छ । भएको पनि यहीँ हो । नेपाली भूमि भारतले मिच्दा, लिंदा नेपाली जनताले विरोध गरेकै हुन् । तर, नेपाली भूमि सुरक्षार्थ लड्ने, आन्दोलन गर्ने देशभक्त जनतालाई सरकारले साथ दिएन । नेपाली जनताको आवाज न भारत सरकारले सुन्यो न त नेपाल सरकारले सुन्यो । फलतः भारतीय पक्षले नेपाली भूमि मिचेको मिच्यै ग¥यो । नेपाल सरकार तमासे बन्यो र भारत सरकार मिचाहा बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *