के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
राजकुमार श्रेष्ठ, नारायणगढ
प्रधानमन्त्री रोजगार कार्यक्रम कतिको सफल भयो भएन, प्रभावकारिताको कुनै समीक्षा मूल्याङ्कन छैन । रोजगारी कार्यक्रमलाई हेरेर सरकारले बेरोजगारी सङ्ख्याको लिस्ट बनाउने भन्दा सामान्य नेपाली नागरिकलाई सरकारले राम्रै काम दिएछ भन्ने धेरैलाई भ्रम थियो । केही सचेत र पीडित नागरिक भने सरकारको काम कारबाहीमा घोत्लिँदै गर्दा उदेक माने । सरकारले अहिलेसम्म उद्योग कलकारखाना कति निर्माण र विस्तार ग¥यो ? शिक्षा निःशुल्क र अनिवार्य भने पनि विद्यालय जाने बालबालिका अझै घर आँगनमा कामदार नै छन् । सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास किन घट्दै छ ? नागरिकले फेरि पनि किन शिक्षा र स्वास्थ्यको लागि पैसा तिर्नुपर्दछ । दैनिक दुईहजार पच्चीस सय युवाहरू रोजगारको सिलसिलामा विदेसिनु परेको छ । दैनिक चार पाँच जनाको लास त्रिभुवन विमानस्थलमा झर्छ । यो तथ्याङ्क सरकारसँग छ कि छैन ? सरकारको काम र कुरामा आकास पाताल फरक छ ।
अब नागरिकले के आधारमा सरकारको कुरालाई विश्वास गर्ने । आफ्ना कार्यकर्तालाई ठिक्क बनाउँदैमा आम नागरिक पनि यसैमा मख्ख हुनुपर्ने भने पक्कै होइन होला । विदेशीले सहयोग गरेका हिजोका दर्जनौँ उद्योग कलकारखाना कौडीको मोलमा बेचेको अहिलेसम्मका शासकहरूसँग जनताले हिसाब किताब माग्दै छन् । कसैको छोरा, छोरी, श्रीमान र श्रीमती विदेशबाट लास बनेर आइरहँदा प्रधानमन्त्रीको गफ हावामै उडिरहेको भान हुन्छ । फोस्रा र झूटो आश्वासन बाँडेर कति शासन गर्छौ, कम्युनिस्ट भनौदा सरकार ।
नेताहरूको विदेशी उपचारमा करोडौँ खर्च हुन्छ । नेता र आसेपासेको स्वदेश विदेश भ्रमणमा करोडौँ खर्च गर्छ । त्यत्रो पैसाले स्वास्थ्य चौकीमा पचास साठी लाख पर्ने एउटा भिडियो एक्सरे मेसिन र कर्मचारी राखिदिएको भए सामान्य उपचार गर्न जनता घण्टौँ धाइरहनुपर्ने थिएन । नागरिक उपचार गर्न नपाई रोग पालेर बस्न र मर्न पर्ने थिएन ।
गरिब र निमुखा जनतालाई न त प्रधानमन्त्री रोजगार कार्यक्रमले छोयो न त बेरोजगारी लिस्टको नै कुनै अर्थ हुन्छ । केवल सत्ता टिकाउन, भत्ता पचाउन र देश लुट्नको लागि नाटक मञ्चन गर्दै छ सरकार ।
Leave a Reply