भर्खरै :

शिक्षामा भएको प्रगतिले औधी खुसी लाग्छ !

समाजमा यस्ता मानिस पनि छन्, जो धेरै काम गर्छन् तर थोरै बोल्छन् । त्यसो त कामै नगरी देखावटी गर्नेको सङ्ख्या कम नभएको होइन । मजदुर दैनिकको ‘महिला सङ्घर्ष’ स्तम्भको निम्ति बुद्धकेशरी दिदीसँगको अन्तर्वार्ताको निम्ति तेस्रो पटक आग्रहले मात्र काम गर्‍यो । ‘मलाई प्रचारमा आउन मन छैन, तस्विर छापियोस् भन्ने पनि रुचि छैन, मलाई भित्रभित्रै काम गर्न मन छ ।’ बुद्धकेशरी दिदी अर्थात् भक्तपुर नगरपालिका वडा नं ८ चासुखेलमा जन्मी हुर्केकी बुद्धकेशरी माक, एक अगुवा महिला कार्यकर्ता । दुःख र सुखका सबै परिघटनाका एक साक्षी, महिला तथा किसान आन्दोलनका एक अभियन्ता, बुद्धकेशरी दिदी ।
बिहीबार साँझ महिला अगुवा कार्यकर्ता कमलमैयाँ सुवालको सिलाइ वर्कसपमा बसी करिब एक घण्टा कुराकानी गरेपछि दिदीको तस्विर खिच्न खोज्दा फोटो पनि छाप्नुपर्ने र ? भनी अप्ठेरो मानिन् । कुराकानीको सुरुवातमै भनिन्, मैले आफ्नोबारे आफैले के भन्नु र ? मेरोबारे अरुको मूल्याड्ढन पो महत्वको कुरा हो । फलेको रुख निहुरिन्छ निरन्तर भनेझैं कुरो सही र सरल थियो । अनुभवले मानिसलाई परिपक्व बनाउँछ । अप्ठेरोसँग सामना गर्दै निरन्तर आशाको सङ्घर्ष गर्न कसैले सिक्ने हो भने बुद्धकेशरी दिदीको उदाहरण कम नहोला ।
जन्म २०१९ साल असार महिना । पिता यज्ञबहादुर माक र माता पूर्णकुमारी गुमाञ्जू । टोलकै चण्डेश्वरी निमाविमा कक्षा ६ पढ्दै थिइन् । बुद्धकेशरी दिदी १० वर्षको उमेर हुँदै बुबा बिते । बुबाको निधनपछि विद्यालय जाने अवसरले पनि मृत्युवरण गर्‍यो । विद्यालय पढ्ने किसान परिवारबाट महिलामा उनीमात्र थिइन् । पढ्ने रहर थियो, तर परिस्थितिले इच्छाहरूलाई मार्नु पर्दाको पीडाले अहिले पनि उनको मनको घाउ चहर्‍याउँछ । घरका सबभन्दा जेठो सन्तान, खेतीपाती धान्न एक्ली आमालाई सघाउनुपर्ने बाध्यता अगाडि थियो । विद्यालय जान छोडिन् दिदीले ।
पढ्ने रहर अहिले पनि मेटिएको छैन । पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको अलिकति स्वतन्त्रताको आकास पाएपछि महिला रात्री प्रौढ कक्षामा पढेका र उनीजस्तै बीचमा पढाइ छोडेकाको निम्ति खोलिएको श्रमिक आदर्श स्कूलमा भर्ना पनि भइन्, बुद्धकेशरी दिदी । केही दिन विद्यालय गइन् पनि । तर त्यति नै बेला जवान भाइ बित्यो, बुहारी र भाइका ३ सन्तानको रेखदेखको जिम्मा आयो । आफ्नै तीन बहिनीको पालन बाँकी नै थियो । परिवार हेर्ने जिम्मेवारी बढ्यो । पढाइको इच्छा दोस्रो पटक पनि दबाइन् बुद्धकेशरी दिदीले ।
पढ्ने रहर अझै मरेको रहेनछ । वागीश्वरी स्कूलमा खुला विद्यालय सञ्चालन भए पछि फेरि पढ्ने उत्साह पलायो । एक दिन कक्षामा गइन् । आफू उमेरको कोही भेटिनन् । अब भने साथी नभई पढ्न नसक्ने जस्तो अनुभव भयो । आफूजस्ता प्रौढहरू एक दुईमात्र भए पनि पढ्थें, उनी भन्छिन् । यसपटक विद्यालय कक्षामा पढ्ने इच्छालाई भने आफैले दबाइन् । साथी पाए अझ पनि पढ्ने इच्छा भएको भन्दै गर्दा उनको मुहारमा एक खालको गम्भीरता झल्किइरहेको थियो ।

भक्तपुरमा चोटा बैठक भनेपछि राजनीतिक बैठक भन्ने अर्थ लाग्छ । नेवारी शैलीको वास्तुकलामा घरको दोस्रो तला कोठा नबारेको खुला हुन्छ र या सामाजिक जमघटकै निम्ति बनाइएको हुन्छ ।

राजनीतिक चेत भने बुद्धकेशरी दिदीले घरको वातावरणबाटै पाइन् । घरको दोस्रो तला अर्थात् चोटामा राजनीतिक बैठक हुन्थे । तुलनात्मक रुपमा दिदीको घर अलि ठूलो थियो । भक्तपुरमा चोटा बैठक भनेपछि राजनीतिक बैठक भन्ने अर्थ लाग्छ । नेवारी शैलीको वास्तुकलामा घरको दोस्रो तला कोठा नबारेको खुला हुन्छ र या सामाजिक जमघटकै निम्ति बनाइएको हुन्छ । केटाकेटी बेलामा आफ्नै घरमा हुने भूमिगत बैठकका दृश्यमात्र याद छ, के के कुरो हुन्थ्यो चाल र याद पनि छैन दिदीलाई । बुबा नेमकिपाका अध्यक्ष रोहितको भूमिगत राजनीतिक केही कक्षामा बसेको कारणले पनि राजनीतिक गतिविधि गर्न दिदीलाई उत्साहित गरेको मान्न सकिन्छ ।
अहिले बुद्धकेशरी दिदी नेमकिपाको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिका सदस्य हुन् । नेपाल क्रान्तिकारी किसान सङ्घको पनि जिल्ला सदस्यमा छिन् । जन्म वडाको पार्टी समिति र किसान सङ्गठनमा पनि सदस्य छिन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि खुला राजनीतिमा आएपछि राजनीतिको महिलाको सहभागितामा केही वृद्धि भयो ।
२०४५ सालको भक्तपुर काण्डमा पञ्चायती व्यवस्थाले गरेको भक्तपुरका जनतामाथिको दमनले महिला आन्दोलन अगाडि बढाउन मद्दत गरेको उनको अनुभव छ । पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले षड्यन्त्रमूलक तरिकाबाट गरिएको सरजमिनको विरोधमा गरिएको महिला जुलुस महिला आन्दोलनको कोसेढुङ्गा मानिन्छ । भक्तपुरका राजनीतिक, सामाजिक कार्यकर्ता नर्दोष थिए, तर तिनलाई पञ्चायती व्यवस्थाले ज्यान मुद्दामा फसायो । आफ्ना आदरणीय नेताहरूलाई फासीको सजाय दिने शासकहरूको षड्यन्त्रविरुद्ध लड्नुबाहेक विकल्प थिएन । पुरुष मानिस सबैजसो भूमिगत वा जेलमा परेको बेला महिलाले ‘भगवती’को रुपधारण गर्नुबाहेक विकल्प थिएन । जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भन्ने भनाइ पुष्टि भएको त्यो दिनलाई बुद्धकेशरी दिदी कदापि बिर्सन सक्दिनन् ।

पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले षड्यन्त्रमूलक तरिकाबाट गरिएको सरजमिनको विरोधमा गरिएको महिला जुलुस महिला आन्दोलनको कोसेढुङ्गा मानिन्छ । भक्तपुरका राजनीतिक, सामाजिक कार्यकर्ता नर्दोष थिए, तर तिनलाई पञ्चायती व्यवस्थाले ज्यान मुद्दामा फसायो ।

भक्तपुरमा पानीको हाहाकार आजको मात्र होइन । बहुदल आएपछि पनि जनताको दैनिक जीवन कष्टकर थियो । सरकारले जनतालाई पानी पनि पुग्दो खुवाउन सकेको थिएन । पानीको अभावले महिलाको दुःखमा अरु दुःख थपिएको थियो । महिला सङ्गठनको नेतृत्वमा पानीको माग गर्दै एउटा ऐतिहासिक प्रदर्शन भयो, रित्तो गाग्री लिएर । घरघरबाट सयौं महिलाहरू बजारमा उर्लिए, महिलाको शक्ति प्रदर्शनले मानिसमा महिलाप्रति हेर्ने दृष्टिकोण परिवर्तन भयो । महिला आफ्नोबारे मात्र सोच्दैनन्, सारा समाजको निम्ति पनि लड्न तयार छन् भन्ने सन्देश दिएको दिदी आज पनि राम्ररी सम्झिन्छिन् ।
नेक्रामसङ्घकै अगुवाइमा महिलाहरूको स्वास्थ्य परीक्षणको निम्ति निःशुल्क स्वास्थ्य शिविरहरू भए । महिलाका रोगबारे चर्चा हुँदैनथ्यो । रोगबारे सामान्य जानकारी पनि नभएका महिलाको निम्ति त्यो राम्रो अवसर प्रमाणित भयो । आफ्नै भाषामा कुरा राख्न पाउँदा महिलालाई शिविरमा ल्याउन सजिलो भयो । आफ्नै टोलमा निःशुल्क शिविर भएबाट महिला शिविरमा उत्साहसाथ सहभागी भए । पाठेघरसँग सम्बन्धित रोग लुकाइएको रोग भन्ने देखियो । शिविरले स्त्रीरोगबारे कुरा गर्न धक फुक्दै गएको दिदीको भनाइ छ ।
भूकम्पपछि बुढाबुढीलाई झन् गार्‍हो भएको बुद्धकेशरी दिदीको अनुभव छ । घर भत्कियो, बस्ने सुत्ने ठाउँ भएन । पुरानो इँटा र माटोले बनाइएको घरमा बसेको बानी परेकाले सिमेन्टको घर रुचाउने कुरै भएन । घर नहुँदा पीडितलाई आफ्नो परिवारसँग छुटिएर बस्नु पर्‍यो । भत्किएर बाँकी भएको भुईं तलामा सुत्दा नै चैन भएको भन्छन्, कैयौं परिवारका बुढाबुढी । छ्वाली वा दाउरा बाल्ने चुलोको ठाउँमा ग्यास चुलो आउँदा बुढाबुढीको निम्ति अर्को सकस बनेको छ । ग्यास बाल्न डर मान्छन्, बुढाबुढी । एक गिलास पानी उमाल्न वा एक छाक भात पकाउन पनि अब गाह्रो भयो, जनताको समस्या यस्तै छ, दिदी भन्छिन् ।
बुद्धकेशरी दिदी ०५४ सालको स्थानीय निकायको निर्वाचनपछि भक्तपुर नगरपालिकाको मनोनीत वडा सदस्य बनिन् । बैठकमा सहभागी हुने र वडाको विकास निर्माणका गतिविधिमा सक्दो सहभागी भइन् । चण्डेश्वरी मन्दिरको छाना पुनःनिर्माण गर्न बनेको उपभोक्ता समितिको सदस्य भइन् । वडाको सफाइमा नगरपालिका र जनप्रतिनिधिको ठूलो हात रहेकोमा उनी गौरव गर्छिन् । बाहिरको कोहीले नगर सफा भयो भन्दा खुसी लाग्छ, उनी भन्छिन् । पहिलाको भक्तपुर साह्रै दुर्गन्धित थियो । घर अगाडि दिसापिसाब गरिन्थ्यो । केटाकेटीको शौच गर्ने ठाउँ टोलकै बाटो हुन्थ्यो । ‘पानी पर्ने बेला ढलको पानीसँगै दिसा बगेको सम्झँदा अहिले पनि कसो कसो लाग्छ’, भन्दै गर्दा उनी मुजा परेको निधार खुम्च्याउँदै मुख बिगार्छिन् ।
भक्तपुर नगरपालिकाको जनप्रतिनिधिको नाताले नपाले शिक्षा क्षेत्रमा गरेको कामको सफलताले औधि खुसी लागेको उनी सुनाउँछिन् । मैले कक्षा ६ सम्म पढ्न पाएँ, नयाँ पुस्ताले कलेज पढ्न पाए, उनी भन्छिन् ।
नगरपालिकाबाट घर निर्माणको निम्ति नक्सा पासमा जनताले झन्झट व्यहोर्न परेको सुन्न पर्दा बुद्धकेशरी दिदीलाई नमीठो लाग्छ । कसैले नगरपालिकालाई गाली गरे आफैलाई गाली गरेको अनुभव हुन्छ, उनी भन्छिन् । नक्शा पास गर्दा अझ सरल र व्यवस्थित काम गर्नुपर्ने उनको बुझाइ छ ।
कुराकानीको बीट मार्न खोज्दा दिदीका चम्किला आँखा अझ तेजिला र गर्विला देखिए । उनी भन्छिन्, ‘अहिले आएर सानो लाग्ने केही काम पहिलाको निम्ति ठूलो फड्को थियो । तैपनि बढाइचढाई नगरी लेख्नुहोला ।’
हवस् भन्दै बिदा भएँ । बडो उत्साहित भएर फर्किएँ । बुद्धकेशरी दिदीको व्यक्ति चित्र उतार्न हतारो थियो ।
प्रस्तुति : सरोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *