भर्खरै :

उत्तीसघारी खानेपानीको मुल भत्काउनेमाथि कारबाही होस्

– तुल्सीनारायण लाखेमरु तथा खानेपानी उपभोक्ताहरू
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा पर्ने उत्तीसघारी पानीको मुल स्थानीय जनताको लागि अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । १०८ मुलका नामले चर्चित उक्त मुलको पानी पहिले वरपरकाले मात्र उपयोग गर्दै थिए । २०६९ सालदेखि सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बनाई प्रतिधुरी २५ हजार रुपैयाँ उठाई ट्याङ्की बनाई खानेपानी सङ्कलन र वितरण हुँदै आएको हो । उक्त आयोजनाको पानीले सिपाडोल क्षेत्रका बासिन्दाको निम्ति आवश्यकजति पानी आपूर्ति नभए पनि स्वच्छ खानेपानीको आपूर्ति भइरहेको थियो ।
बढ्दो सहरीकरण र जग्गा प्लटिङ्गको कामले बढावा पाएपछि अहिले उत्तीसघारी सिमसार क्षेत्रमा समेत सिमसार मासिने गरी प्लटिङ्ग गर्न लागेको छ । सोही क्रममा त्यहाँको पानीको मुहान पुर्ने काम भएको छ । दुई–तीन सय घरधुरीलाई खानेपानी आपूर्ति हुँदै आएको खानेपानी आयोजना बन्द हुने अवस्थामा पुगेको छ । त्यसो नगर्न पटक–पटक प्लटिङ्गमा लागेकाहरू र स्थानीय वडाध्यक्ष एवम् जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदा पनि ‘काग कराउँदै गर्छ पीना सुक्दै गर्छ’ भने उखान चरितार्थ हुने गरी खानेपानीको मुल भत्काउने र पुर्ने काम अघि बढेको देख्दा दुःख लागेको छ । घाम, पानी, हावा र भूमि जीवनका लागि अत्यावश्यक चीज हुन् । यिनको संरक्षण गर्नु सरकार र जनता सबैको दायित्व पनि हो ।
देशको संविधान, ऐन कानुन र नियमअनुसार महानगरपालिका, नगरपालिका वा गाउँपालिकाको अनुमतिबेगर कुनै जग्गा एकीकरण गर्न वा संरचना बिगार्न पाइँदैन । तर उत्तीसघारीको पानीको मुहान बिगार्ने काम कसरी र कुन शक्तिको आडमा भइरहेको छ ? सोचनीय विषय बनेको छ । यसमा ठूलै पदमा रहेका मानिसको संलग्नता र केही जग्गा दलालहरू मिलेको जनतामाझ चर्चा छ । के ठूलो पदमा बसेको मानिसले जे भन्यो त्यही हुने व्यवस्था कानुनको शासन हो ? कानुनविपरीतको काम गर्नेमाथि प्रहरी प्रशासनले कारबाही गर्नुपर्दैन ? उत्तीसघारी पानीको मूल भत्काउनेमाथि कारबाही होस् । जस्तै ठूला मानिस संलग्न भए पनि खानेपानी आयोजना मासिने गरी गरिन लागेको उक्त प्लटिङ्ग गर्नेलाई उपभोक्ता जनताले सहने छैनन् । खानेपानी आयोजनामा असर नपु¥याउने पूर्व प्रतिबद्धताबमोजिम आफ्नो काम अघि बढाउन पुनः आग्रह गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *