भर्खरै :

नैतिकताको आधारमा ट्रम्पले राजीनामा दिने कि

 गोपाल नगरकोटी
अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बहुमतले महाभियोग लगाउने प्रस्ताव पारित गरेको आधारमा उनले नैतिकताको आधारमा राष्ट्रपति पदबाट राजीनामा दिनुपर्छ । महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको थियो । माथिल्लो सदनबाट सो प्रस्ताव अनुमोदन भएमा उनीमाथि अमेरिकी कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्छ । ट्रम्पमाथि अभियोग लगाएर कारबाही हुनुपर्ने माग विभिन्न सहरमा आयोजित प्रदर्शनकारीका आयोजकहरूले पनि गरेका छन् । यस्तै अभियोग तत्कालीन राष्ट्रपतिहरूमाथि पनि लगाइएको थियो । पूर्वराष्ट्रपति निक्सनविरुद्ध अभियोग लगाइँदा उनले नैतिकताको आधारमा राजीनामा दिएका थिए । यसको आधारमा राष्ट्रपति ट्रम्पले पनि राष्ट्रपति पदबाट राजीनामा दिनु बुद्धिमानी हुनेछ ।
उनीमाथिको अभियोग प्रस्ताव दुवै सदनबाट पारित हुनुपर्छ र पारित भएमा उनी पदमुक्त हुनेछन् । माथिल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत रहेकोले सो प्रस्ताव पारित नहुने विश्लेषण पनि गरिएको छ । महाभियोग प्रस्तावले आफूलाई केही छुन नसक्ने राष्ट्रपति ट्रम्पको दाबी छ । तर डेमोक्रेटले भने महाभियोग लागेपछि ट्रम्पको नाममा कालो धब्बा लागेको बताएको छ । महाभियोग लागेर पदच्युत भएमा अबको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने नैतिकताले दिँदैन । १०–१५ वर्ष यता अमेरिकी राष्ट्रपतिहरूमध्ये सबभन्दा बढी जनताको विरोध खेपेका ट्रम्प नै थिए । जनता पनि सन्तुष्ट छैनन् ।
उनले विश्वको अर्थतन्त्रमै असर पार्ने काम गरे । चीन–अमेरिका व्यापार युद्ध यसको पछिल्लो दृष्टान्त हो । विश्व आतङ्कित पार्ने काममा ट्रम्प प्रशासन अघि स¥यो । अरु देशको अर्थतन्त्र ध्वस्त बनाउन आर्थिक नाकाबन्दी गरेर प्रजग कोरियामा कुनै पनि देशको सामान नपठाउन र प्रजग कोरियाली जनतालाई कुनै पनि देशमा व्यापार व्यवसाय गर्न नपाउने प्रतिबन्ध गर्न र गराउनेमा ट्रम्प प्रशासनको ठूलो हात रह्यो । नेपाललाई प्रजग कोरियाविरोधी बनाउन नेपाललाई आर्थिक लोभ देखाउने काम गर्न ट्रम्प अघि सरे । चीनलाई घेरेर चीनको आर्थिक स्थिति खस्काएर आफ्नो देशलाई संसारकै पहिलो शक्तिशाली बनाउने र हैकम जमाइराख्ने षड्यन्त्र अमेरिकाले गरिरहेको छ । यस अर्थमा अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको अभियोग समय–सान्दर्भिक छ र बहुमतले पारित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *