के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
–गौरव प्रधान
नेपालमा स्वच्छ, पवित्र, असल, दूरदर्शी र देश र जनताप्रति समर्पित सत्तासीन नेताहरूको अभाव, उनीहरूको कमजोरी या लापरबाहीले मानिसहरूले अनेक थरी विचार पोख्न थालेका छन् । इमानपूर्वक राजनीति नगर्दा, पार्टीकै मार्ग निर्देशक सिद्धान्त व्यवहारमा नल्याउँदा देशको दुई तीन दशक लामो राजनीतिक इतिहासको मूल्याङ्कन गरेर मानिसले नेपालको सन्दर्भमा अनेक विचार व्यक्त गरेका हुन् । साँचो कुरा बोलेर, सत्य कुरा जनतामाझ पु¥याएर या सिद्धान्त र विचारको दर्शन छाँटेर पेट भर्ने होइन या जीवन चल्ने होइन भनी कति नेताहरू अवसरवादी बन्छन् र अहिलेको अहिल्यै कमाउधन्दा हुने या आम्दानी हुने बाटो खोज्छन् । कति मतदाताहरू निर्वाचनको बेला पैसा र लोभलालचमा फसेर आफैँमाथि शासन गर्ने दल र दलका उम्मेदवारलाई मत हाल्छन् र जिताउँछन् । यो देशको यथार्थ चित्र हो । गएको उपनिर्वाचनमा पनि ठूला दलका नेता कार्यकर्ताले पैसा र लोभलालच दिएकै भरमा कति मतदाताले मतदान गरे ।
ठूला दलका नेता र कार्यकर्ताहरू जनताको पीडा बुझ्दैनन्, मर्का बुझेर समस्या समाधान गर्दैनन् । उनीहरू शक्तिको धाक देखाउँछन्, ठूला दल र सरकारले सबथोक गर्छन् भनी रवाफ देखाउँछन् । कहिलेकाहीँ तिनीहरू ठूला दलका नेता र ठूला शक्ति राष्ट्रसँग बोल्नु हुँदैन, जोरी खोज्नु हुँदैन, उनीहरू रिसाएमा नेपाल र नेपालीलाई समस्या पार्छन्, दुःख दिन्छन्, सामान रोक्छन् र नेपालीलाई हाहाकार बनाउँछन् भनी जे गरे पनि सहन्छन् या मौन बस्छन् । यहीँ कारण भारतले नेपाली भूमि मिचे पनि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा स्वघोषित राष्ट्रपतिको घोषणा गरे पनि नेपालले विरोध गर्नै नहुने भनी मत राख्ने मानिसहरू पनि देखिए । यहाँ न्याय अन्याय, ठीक बेठीक, सही गलत, राम्रो नराम्रो, हित अहितको कुरो गरेर आदर्श छाँट्नुभन्दा ठूला–शक्ति राष्ट्रहरूकै पछि लाग्ने र पक्षपोषण गरेमा आफ्नो जिउने बाटो खोल्छ भनी लाग्ने व्यक्तिहरूको सूची पनि कम छैन । त्यस्तो बाटोमा लाग्दा, जाँदा, हिँड्दा हाम्रो भोलिको समाज कस्तो हुन्छ ? हामीले कस्तो समाज तयार गरिरहेका छौँ ? कतै हामी गलत बाटोमा अल्झिएर देश र समाजको दुर्दशा निर्माण गरिरहेका छैनौँ ?
मौकामा कमाउनुपर्छ, उच्च पदमा पुग्नुपर्छ भनी पद र पैसामा भुलेका हाम्रा नेता, मन्त्री र कार्यकर्ताहरूले कसरी आदर्शाेन्मुख समाज तयार गर्छन् ? कसरी आफ्नो पदको सदुपयोग गरेर या पद दुरुपयोग नगरिकन देश र जनताको समस्या समाधान गर्छन् ? यहाँ देश र जनताको सेवा गर्ने, इमानदारीपूर्वक शुद्ध राजनीति गर्ने, देश जोगाउन, स्वाधीन र सार्वभौमिकता कायम गर्ने अघि सर्ने नेता, कार्यकर्ता र शुभचिन्तकहरूप्रति श्रद्धा त के उल्टो तिनीहरूको विरोध गर्छन् । सरकारको विरोध ग¥यो, सत्ता ढाल्न खोज्यो भनी उनीहरू उल्टै नायक बन्न खोज्छन् । यस्तो तालले के सुखी नेपाली र समृद्ध नेपाल बन्छ ?
Leave a Reply