के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
– मेरिना शाक्य
कम्युनिस्टको शासन व्यवस्था राम्रो हुन्छ । तर, त्यो त्यति सजिलै स्थापना हुने व्यवस्था होइन । गरीब मुलुकको लागि त कम्युनिस्टको शासन व्यवस्था नल्याई हुँदैन । बहुमत जनताको प्रतिनिधित्व गर्ने व्यवस्था पनि कतै गलत हुन्छ ? बरु बहुमत जनता र कम्युनिस्टको नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार तोडेर, सिद्धान्त र विचार छोडेर पो जनता र अरु विपक्ष दलले कम्युनिस्ट भनिने सरकारको खिसी उडाइरहेका छन् । कम्युनिस्ट भनिने सबै दलले कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर–आँगनमा पु¥याएका भए, जनतालाई सुसूचित पारेका भए, अन्धविश्वास, कुरीति र विकृतिको विरोध गराएका भए समाज निकै अघि बढेको हुन्थ्यो, सुसंस्कृत र समृद्ध समाज बन्थ्यो । तर यो धर्म सबै कम्युनिस्ट पार्टीले निर्वाह गरेनन्, जिम्मेवारी सम्झेनन् । फलतः गणतन्त्र स्थापना भए पनि र कम्युनिस्टको सरकार आएको भनिए पनि जनताले कम्युनिस्टको आचरण देखेनन्, व्यवहार देखेनन् । जनता मनको लड्डू खाएर सन्तुष्ट हुन वाध्य छन् ।
कम्युनिस्टबाहेक अरु दलले आमूल परिवर्तन खोज्दैन र परिवर्तन चाहँदैन । अरु दलले त कम्युनिस्टको विरोध गर्छ, कम्युनिस्ट कम्युनिस्ट भिडाउँछ । कम्युनिस्टको बदनाम गराउँछ । नेकपाको सरकारले विपक्ष दललाई त्यही मौका दिँदै छ । देशमा साँचो कम्युनिस्टको सरकार नभएरै, कम्युनिस्ट पार्टी बलियो नभएरै छिमेकी मित्र देश भारतले नेपाल–भारतको सबैजसो सीमा नाकामा नेपाली भूमि मिचेको हो, मिच्ने अवसर पाएको हो । नेकाको सरकारले त हेरेन हेरेन, कम्युनिस्ट भनिने दलको सरकारले पनि नेपाली भूमि जोगाउन सकेन । नेपालको भूमि सुरक्षित गर्न पहल नगर्ने सरकारले कम्युनिस्टको फूर्ति गरेरै के गर्ने ? लामो शासन चलाउने भनेर रवाफ देखाएरै के गर्ने ?
कम्युनिस्ट भनिने सरकार निजी क्षेत्रलाई बढावा दिन्छ । स्वदेशमै रासायनिक मल कारखाना खोलेर आयस्रोत बढाइँदैन, सस्तो र सुलभमा किसानलाई मल वितरण गरिँदैन । आदर निकेतन, शिशु स्याहार केन्द्र, बाल उद्यान खोल्न अघि बढ्दैन । संविधानसभामा उल्लेख भएअनुसार माध्यमिक शिक्षा (कक्षा १–१२ सम्म) निःशुल्क गरिएको छैन । सरकारले नै खानेपानीको व्यवस्था गरको छैन । स्रोत र साधनको आधारमा जनताका आधारभूत आवश्यकता पूरा गर्न उद्योगधन्दा या कलकारखाना खोलिँदैन, देशभर सिंचाइको विस्तार गरिँदैन, गाउँ–गाउँमा विद्यालय स्थापना गरिँदैन, बस्ती–बस्तीमा स्वास्थ्य केन्द्र र अस्पताल खोलिँदैन भने कम्युनिस्टको सरकार भनेर के गर्ने ? कम्युनिस्टको सरकार बहुमत जनताको सेवा गर्न अग्रसर हुनुपर्छ ।
Leave a Reply