भर्खरै :

नवउदारवादविरुद्ध लड्न तयार–लुला

ब्राजिल, २९ डिसेम्बर । ब्राजिलका समाजवादी नेता तथा पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भाले ब्राजिलमा प्रजातन्त्र पुनःस्थापनाको लागि वर्तमान बोल्सोनारो सरकारविरूद्ध लड्न आफू तयार रहेको बताउनुभएको छ ।
ल्याटिन अमेरिकी समाचारमाध्यम टेलिसुरलाई दिनुभएको एक अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिकाका विभिन्न देशमा चालू सामाजिक आन्दोलनको विश्लेषण गर्दै सो कुरा बताउनुभएको हो ।
ब्राजिलको वर्कर्स पार्टीका नेता लुलाले ब्राजिलमा प्रजातान्त्रिक बहस पुनः थालनी गर्ने वस्तुगत आधार तयार हुँदै गरेको र त्यहाँका सबै सार्वजनिक सम्पत्ति ध्वस्त गर्ने नवउदारवादी व्यवस्थाविरूद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।
“प्रहरीले जुन दिन मलाई पक्राउ ग¥यो, म राजनीतिकरूपमा थप शक्तिशाली भएँ । ब्राजिलमा प्रजातन्त्र पुनःस्थापनाको लागि लड्ने मेरो इच्छाशक्ति आज अझ बलियो भएको छ”, उहाँले भन्नुभयो ।
लुलाले प्रजातन्त्रको विषय निकै गम्भीर विषय भएको चर्चा गर्दै कुनै बेला ब्राजिलमा सहिष्णुता र प्रेम हुने गरेको तर अहिले अवस्था परिवर्तन भएको बताउनुभयो ।
“सबै क्षेत्रमा आज घृणामात्र देख्छु । जनताको अपरिहार्य उपलब्धिलाई एकपछि अर्को गर्दै ध्वस्त बनाउन खोजिँदै छ”, उहाँले भन्नुभयो । “ब्राजिलका जनता आज दुःखमा छन् । उनीहरू आफ्ना अधिकार गुमाउँदै छन्”, उहाँले भन्नुभयो ।
अन्तर्वार्तामा लुलाले अमेरिकी राज्य सङ्गठन (ओएएस) को आलोचना गर्नुभएको छ । उहाँले ओएएसका गतिविधिलाई ‘लज्जास्पद’ भएको बताउनुभयो । वाशिङ्टनकै चाहनाअनुसार आज ल्याटिन अमेरिकी देशहरूले काम गरिरहेकोमा उहाँले खेद व्यक्त गर्नुभयो ।
लुलाले ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले आफ्नो नीतिविपरीतका क्षेत्रमाथि हमलामात्र नगरेको बरू ल्याटिन अमेरिकामा अस्थिरता फैलाउन अरू देशमाथि दबाब र हस्तक्षेपसमेत गरेको भनी विरोध गर्नुभयो ।
“ल्याटिन अमेरिकामा आज जे भइरहेको छ, त्यो सबै संरा अमेरिकी चाहनाअनुसार नै भइरहेको छ”, लुलाले भन्नुभयो । उहाँले संरा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रजातन्त्र र सार्वभौमिकताको सिद्धान्तमा आधारित सबै राजनीतिक व्यवस्थालाई ध्वस्त बनाउनमा लागेको विश्लेषण गर्नुभयो ।
बोलिभियामा राष्ट्रपति तो मोरालेसविरूद्ध भएको सैनिक हमलाको विषयमा टिप्पणी गर्दै उहाँले बोलिभियाली सेनाले प्रजातन्त्रमाथि मात्र हमला गरेर जनविरोधी सेना बनेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *