भर्खरै :

तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

काठमाडौँ, १३ पुस । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरूले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् । काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरूले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् ।
भारतबाट सहभागी ११, बङ्गलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरूले शनिबार ‘कला डेमोस्ट्रेसन’ मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो । समाजका अध्यक्ष एनबी गुरूङले कुनै पनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकोले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बङ्गलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *