भर्खरै :

वाकुपतिनारायण मन्दिरको छानामा सुनको जलप

भक्तपुर, २१ पुस । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक वाकुपति चाँगुनारायण मन्दिरको छानामा सुनको जलप लगाउने कार्य सुरु भएको छ । भक्तपुर नगरपालिकाको सहयोगमा नागरिक तहबाट आर्थिक सहयोग उठाउँदै मन्दिरको पहिलो तलाको चारैतिरको छानामा सुनको जलप लगाउने कार्य भएको स्थानीयको भनाइ छ ।
गत आवमा स्थानीय जनताको भेलाबाट आशाकाजी प्रजापतिको अध्यक्षतामा उपभोक्ता समिति गठन भई कार्य आरम्भ भएको वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो । झिङ्गटी इँटाको छाना पुरानो र जीर्ण भई मन्दिरमा पानी चुहिन थालेको हुँदा जीर्णोद्धारको क्रममा तामाको पाताले छाना छाएको र त्यसको लागि स्थानीय भारीबजु (पुजारी) ले १४ किलो तामा बराबरको आर्थिक सहयोग प्रदान भएपछि सुनको जलप लगाउने कार्य अघि बढेको उहाँको कथन थियो ।
अहिले १ किलो ७ तोला सुनको जलप लगाउने कार्य भइरहेको उपभोक्ता समितिका कृष्णगोपाल प्रजापतिले जानकारी दिनुभयो । स्थानीय ज्येष्ठ नागरिकहरूको सक्रियतामा नागरिक स्तरबाट हालसम्म ९३ लाखभन्दा बढी रकम सहयोग र ७ तोला सुन सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । पाटनका शिल्पीले महिना दिनदेखि सुन पगाल्ने र लेपन गर्ने कार्य गरिरहेको उहाँले अवगत गराउनुभयो ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको मन्दिरको केही अंश र मन्दिर परिसरका सत्तल, पाटी, मन्दिर पुनःनिर्माण कार्य तीव्रगतिमा भइरहेको सन्दर्भमा ऐतिहासिक वाकुपतिनारायण मन्दिरमा सुनको छाना छाउने कार्य हुनु सराहनीय भएको स्थानीय ज्येष्ठ नागरिक पूर्णभक्त प्रजापति बताउनुहुन्छ । “पाटी बन्दै छ, सत्तल बन्यो, न्हेपँस्या देगःबन्यो, अब मूल मन्दिरमा सुनको जलप लगाइँदै छ, अब मन्दिर परिसरको एउटा भजन पाटीमात्र पुनःनिर्माण गर्न बाँकी छ ।” उहाँले भन्नुभयो ।
वाकुपतिनारायण मन्दिर बिहान सबेरैदेखि बेलुकी अबेरसम्म स्थानीय जनता र स्वदेशी एवं विदेशी पर्यटकहरूको घुइँचो लाग्ने मन्दिर हो । मन्दिरमा नियमित पूजा अर्चनामात्र नभई परम्परादेखि चल्दै आएका ढल्चा भजन र नौ दाफा भजनले निरन्तरता पाइरहेको छ । बिहान र दिउँसो पारिलो घाम ताप्न र परम्परागत खेल कसिमलापाँय् खेल्न ज्येष्ठ नागरिकहरू समूह समूहमा बस्छन् । त्यस्तै ज्येष्ठ महिलाहरू दैनिकरूपमा परम्परागत चर्खाबाट कपासको दियो बनाउने कार्य पनि गरिरहेका हुन्छन् । स्थानीय जनता र नगरपालिकाको सहयोगमा द्योपमी फल्चा निर्माण गरी ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन प्रदान गर्न टेलिभिजनको व्यवस्थासमेत गरिएको वडाध्यक्ष ज्याख्वले बताउनुभयो । हाल मन्दिर परिसरमा रहेको भूकम्पबाट पूर्ण क्षति भएको दक्षिणाभिमुख पाटी पुनःनिर्माणको क्रममा रहेको छ ।
मन्दिरमा सुनको जलप लगाउने कार्यका लागि आवश्यक रकम जनस्तरबाट नै उठिरहेको समितिका सदस्य लक्ष्मीप्रसाद प्रजापतिले बताउनुभयो । मन्दिर र धर्मप्रतिको आस्थाका कारण स्थानीय जनताबाट हजार, दुई हजार गर्दै रकम जम्मा गरिरहेको उहाँको भनाइ थियो । सकेसम्म जनस्तरबाट नै चन्दा उठाउने र नपुग रकममात्र नगरपालिकामा आग्रह गर्ने उहाँले बताउनुभयो । मन्दिर सबैको आस्थाको केन्द्र भएकोले जनता स्वयम् स्फूर्तरूपमा चन्दा दिन आइरहेको र चन्दा दिने सबैको अभिलेख राखिरहेको उपभोक्ता समितिका सचिव रवीन्द्रप्रसाद कुसीले बताउनुभयो ।
मन्दिरको सुरक्षाको लागि द्योपमीका साथै प्रहरीले गस्ती गरिरहेको र नगरपालिकाले मन्दिरको वरिपरि सीसी क्यामेरासमेत जडान गरेको उहाँले बताउनुभयो ।
सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिर मल्लकालभन्दा अगाडि नै स्थापना भएको र नेपाल संवत् ५२८ मा राजा ज्योति मल्लले मन्दिरको हालको स्वरुप निर्माण गरेको शिलालेखमा उल्लेख भएको इतिहासविद् प्रा. पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिनुभयो । चाँगुनारायणको दर्शन गर्न गा¥हो हुने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका भक्तजनहरूका लागि नजिकै दर्शन गर्न सजिलो बनाउन वाकुपति चाँगुनारायण मन्दिर स्थापना गरेको हुनसक्ने उहाँले अनुमान गर्नुभयो । धर्म मल्लको गरुड स्तम्भ अभिलेखमा मन्दिरको प्राग ऐतिहासिकताबारे चर्चा गरिएको उहाँले बताउनुभयो ।
मन्दिरको पुरातात्विक महत्वमा कुनै प्रभाव नपर्ने गरी भनपा सम्पदा शाखा र पुरातत्व विभागसँग सहमति लिएर मन्दिरमा सुनको जलप लगाउने कार्य भएको उपभोक्ता समितिका कृष्णगोपाल प्रजापतिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *