भर्खरै :

नेपाल भ्रमण वर्ष जनवरी १ मात्र होइन

जनवरी १ का दिन नेपाल भ्रमण वर्षको तामझामका साथ उद्घाटन गरियो । पर्यटनमन्त्रीले उद्घाटनकै दिन नेपाल भ्रमण वर्षलाई ‘भ्रमण दसक’ बनाउने घोषणा गरे । भ्रमण वर्षको प्रचार गर्न भनी उनी अस्ट्रेलिया पुगे । अस्ट्रेलिया महिनौँदेखि डढेलोको आहतमा डुबेको समयमा नेपाल भ्रमणको प्रचारार्थ सिड्नीमा आयोजित पर्यटनमन्त्रीको कार्यक्रम आलोचित बन्यो । आलोचकहरूले यसलाई असंवेदनशीलता भने । मन्त्रीले केही स्पष्टीकरणका शब्दहरू छोडे पनि अस्ट्रेलिया समस्यामा फसेको बेला उनको सो कार्यक्रमले राम्रो सन्देश दिएन ।
पर्यटन प्रबद्र्धनको लागि अपरिहार्य भौतिक पूर्वाधारमा सरकार अझै पनि तदारुक देखिएन । राजधानीको मुख्य भागमा सडकको दुरवस्था अझै सुधारिएको छैन । नेपाल भ्रमण गरेका पर्यटकहरूले यातायातको अव्यवस्था र प्रदूषणले सकस भएको प्रतिक्रिया दिएको समाचार प्रकाशित भएका छन् । तर, सरकारले यस्ता समस्या समाधान गर्न सकेको छैन । निःसन्देह पर्यटन वर्षको अर्थ जनवरी १ मात्र होइन ।
विभिन्न देशमा नेपाल भ्रमणको निम्तो पर्यटन वर्षको उद्घाटनपछि दिइँदै छ । नेपालमा भ्रमण गर्नको लागि प्रचार प्रसार उद्घाटनअघि नै गरिसक्नुपथ्र्यो । उद्घाटनपछि कसरी पर्यटकलाई सकेसम्म सुविधासम्पन्न र आनन्ददायी बसाइको प्रबन्ध गर्ने भन्नेमा सरकारको ध्यान जानुपर्ने हो । सरकारको काम ‘बग्गी अघि अघि, घोडा पछि पछि’ भने जस्तो भएको छ ।
पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाल भ्रमणको प्रचार प्रसारको लागि प्रभावकारी विज्ञापन वा कार्यक्रम गर्न÷गराउन सकेको छैन । नेपाल भ्रमणसम्बन्धी प्रचार सामग्री जनवरी १ आसपास सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार गरिए पनि त्यसपछि भने क्रमशः सुक्दै गएको देखिन्छ । भ्रमण वर्षप्रति अधिकांश स्थानीय पालिकाहरूले उत्साह देखाएका छैनन् । कति पालिकाले आफ्नो ठाउँमा कसरी पर्यटन प्रबद्र्धन गर्ने भन्ने मेलोमेसो नपाएर पनि केही गर्न नसकेको अवस्था छ । धेरै जनप्रतिनिधिलाई यसबारे जानकारी नहुँदा उनीहरूले नेतृत्व गरिरहेका पालिकामा भ्रमण वर्षको हावा पनि चलेको छैन । सङ्घीय र प्रादेशिक सरकार र पर्यटनसम्बन्धी संस्थाहरूको पहलमा ती क्षेत्रमा पर्यटन प्रबद्र्धन गरिनुपर्छ ।
विदेशी पर्यटकबारे जोड दिंदै गर्दा आन्तरिक पर्यटनलाई पनि प्राथमिकतामा राखिनुपर्छ । नेपालीलाई कसरी नेपालका विभिन्न ठाउँमा पु¥याउने ? पूर्वको नेपालीलाई पश्चिममा कसरी पु¥याउने ? हिमालको नेपालीलाई तराई कसरी हिंडाउने र तराईका नेपालीलाई हिमाल कसरी चढाउने ? यसको निम्ति उपाय खोज्न राज्यका विभिन्न तह र एकाइले भूमिका खेल्न जरुरी छ ।
पर्यटनका नयाँ–नयाँ सम्भावनाका क्षेत्रबारे सरकारले प्रचार गर्नुपर्छ । विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय लोकप्रिय व्यक्तिहरूले विभिन्न स्थानमा गरेको भ्रमणको प्रचार प्रसार गर्दा स्वदेश र विदेशमा नेपाल भ्रमणको सकारात्मक प्रचार हुने छ । विदेशमा बसेका नेपालीलाई यो वर्ष नेपाल भ्रमणमा आउन उत्साहित गर्न पनि सरकारले विभिन्न माध्यम र उपाय प्रयोग गर्नुपर्छ ।
भ्रमण वर्षलाई केही उच्चपदस्थको इच्छा पूरा गर्ने समयको रूपमा मात्र सीमित राख्दा यसले अपेक्षित परिणाम दिनसक्दैन । सबै नेपालीले आफ्नो कार्यक्रम भनी अङ्गीकार गर्नसक्ने कार्यक्रमको रूपमा नेपाल भ्रमणलाई अघि बढाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *