हेटौंडा, २७ पुस । आइतबार बसेको प्रदेश नं ३ को प्रदेशसभा बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको छ । बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी मकवानपुर जिल्लाको हेटौंडा निर्णय गरेको छ । लामो समयदेखि बहस, छलफल र अन्योलमा रहेको प्रदेशको नाम र स्थायी राजधानी आइतबार बसेको बैठकले टुङ्गो लगाएको हो । प्रदेशसभा गठन भएको साढे दुई वर्ष अर्थात् आधा कार्यकालपछि मात्र राजधानी र नाम निर्णय भएको छ । सत्तारूढ दल नेकपाको दुईतिहाइ बहुमत सांसद भएर पनि आपसी झगडा र असहमतिका कारण यो निर्णय गर्न यति बिलम्ब भएको हो ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौंडामा राख्न गरेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट स्वीकृत भएको हो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको थियो ।
प्रदेश नं ३ को राजधानी हेटौंडा र नाम बागमती राख्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस एकमत थिए । सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदहरूले व्यक्तिगतरूपमा बोल्दा आ–आफ्नो जिल्लामा प्रदेश राजधानी राख्नुपर्ने जिकिर गरे पनि दुवै दलले ह्वीप नै जारी गरेपछि सांसदहरूले बागमती र हेटौंडाको पक्षमा मतदान गरेका थिए । प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र काङ्ग्रेसले ह्वीप जारी गरेका हुन् ।
हेटौंडा र बागमतीको पक्षमा नेमकिपा, नेकपा, नेकां, राप्रपा, राप्रपा संयुक्तलगायत दलका सांसदहरूले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *