भर्खरै :

प्रतिनिधिसभामा सभामुखविहीन कहिलेसम्म ?

– गोपाल नगरकोटी 
यौन दुव्र्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख चयन हुन नसक्दा प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित भइरहेको छ । सभामुख चयन हुननसक्दा संसद्का नियमित काममात्र प्रभावित भएको होइन सांसदहरूले संसद्मा जनताका समस्या पोख्न पाएका छैनन् । सत्तारूढ दल नेकपाका अध्यक्षद्वयको कारण प्रतिनिधिसभा नेतृत्वविहीन भइरहनुको दोषी को ? यसको दोषी नेकपा हो कि या नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल हुन् या यौनकाण्डका पूर्वसभामुख महरा हुन् ?
सभामुख छनोट गर्ने टुङ्गो लागेपछि सरकारले प्रतिनिधिसभाको बैठक बोलाउनुपथ्र्यो । नेकपाले कसलाई सभामुख बनाउने र उपसभामुखको के गर्ने भन्ने कुरा पहिल्यै टुङ्गो लागेको भए यो समस्या आउँदैनथ्यो । अहिलेसम्म सभामुख टुङ्गो नलाग्नुको पछाडि नेकपा अझै भागबन्डाको राजनीतिबाट हटेको छैन भन्ने थाहा हुन्छ । नेकपाका नेताहरू अदूरदर्शी रहेछन् भन्ने थाहा हुन्छ । नेकपाका नेता र सांसदहरू पार्टीको निर्णय पालना गर्दैनन् या देशको आवश्यकताबोध गरेर निर्णय गर्दैनन् भन्ने थाहा हुन्छ । बुधबार प्रकाशित नागरिक दैनिकले लेख्यो, ‘हाइकमान्ड विभाजित ।’ नेकपाका अध्यक्षद्वय ओली र दाहालले समयमा सही निर्णय गर्न नसक्दा सचिवालयका अन्य नेताहरू पनि विभाजित भएको सो समाचारको सार थियो ।
पार्टी एकता भइसकेपछि पनि यसको र उसको पक्षको कुरा कसरी आयो ? पूर्वएमाले पक्षधर र पूर्वमाओवादी पक्षधरका सांसदलाई सभामुख बनाउने छुट्टाछुट्टै प्रस्ताव कसरी आयो ? नेकपाले बेलैमा सही निर्णय गर्न नसक्दा या दिशाबोध गर्न नसक्दा उपसभामुख थममाया तुम्बाहाम्फे पनि नेकपाका अध्यक्षद्वयको गोलचक्करमा फसिन् । उपसभामुख तुम्बाहाम्फेले आफ्नो पदबाट राजीनामा दिने या सभामुख भएर प्रतिनिधिसभाको नेतृत्व गर्ने भन्नेबारेमा अन्योल भइन् । नेकपा भागबन्डाको राजनीति छोडेर, पद र पैसाको राजनीति छोडेर देश र जनताप्रति जवाफदेही भई अगाडि बढेको भए प्रतिनिधिसभा सभामुखविहीन हुने थिएन, छैन । प्रतिनिधिसभाको बैठक नियमित चल्थ्यो र प्रक्रिया अघि बढ्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *