भर्खरै :

लान्चापलीमा प्रहरी साझेदारी कार्यक्रम

भक्तपुर, ४ माघ । समुदायमा आपराधिक घटना न्यूनीकरण हुन नदिनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार ओमकारेश्वर टोल समिति गठन गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० का वडा सदस्य ज्ञानकुमार मगजूको संयोजकत्वमा १७ सदस्यीय सो समिति गठन गरेको हो ।
कमलविनायक, पाइपलाइन, भत्केको पाटी क्षेत्रमा आपराधिक घटनाहरू बढ्न थालेको महसुस गर्दै स्थानीय समुदायको सक्रिय सहभागितामा सो समिति गठन गरिएको हो । महानगरीय प्रहरी वृत्त भक्तपुरका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले समुदाय प्रहरी साझेदारीको विकास, भूमिका र महत्व एवं अवधारणाबारे प्रकाश पार्दै समुदायको सुरक्षाको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम टोल टोलमा गठन भइरहेको उल्लेख गर्नुभयो । टोलमा शान्ति सुरक्षा कायम गर्न समाजले प्रहरीलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाहरूलाई प्रहरी देखाएर तर्साउने अभिभावकहरूको व्यवहारले प्रहरीदेखि डराउने र प्रहरीसँग टाढा बस्ने गरेकोले पनि १२ देखि १९ वर्षका बालबालिकाहरू बढी आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको बताउनुभयो ।
समितिका संयोजक ज्ञानकुमार मगजूले बालबालिकाहरूको भविष्य राम्रो बनाउन आपराधिक गतिविधिबाट टाढा राख्नुपर्नेमा जोड दिँदै आपराधिक गतिविधि र लागूऔषधमा बालबालिका लाग्यो भने समाजमै नकारात्मक प्रभाव पर्ने भएकोले समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभयो । कमलविनायक क्षेत्रमा नयाँ बस्ती विस्तार भइरहेको प्रसङ्गमा टोलको शान्ति सुरक्षा कायम गर्न समुदाय प्रहरी साझेदारी आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा ओमकारेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर खड्का, इष्ट प्वाइन्ट स्कूलका प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठ, समाजसेवी मदनबहादुर थापा, रेडियो जनसञ्चारका सुरेशप्रसाद साँय्जूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *