भर्खरै :

परिवर्तन गर्न सङ्घर्ष आवश्यक

– गोपाल नगरकोटी
एमाले र माओवादी मिलेर बनेको नेकपा सत्तारुढ दल हो, कम्युुनिस्ट होइन । कम्युनिस्टको खोल ओढेर, कम्युनिस्टको हवाला दिएर अघि बढिरहेको नेकपा पुँजीपति वर्गको पक्षपोषण गरिरहेको दल हो । कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात गरेर व्यवहारमा लागू गर्नेतर्फ नेकपा कहिल्यै लागेन । भाषणमा बेलाबखत कम्युनिस्टको कुरा उठाए पनि व्यवहारमा त्यस्तो कुनै लक्षण देखिएको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धताका ज्यान गएका ५ हजारको जिम्मेवारी लिएझैँ नेकपा साँच्चै कम्युनिस्ट पार्टी होइन भनेर उद्घोष कहिले गर्ने हो ?
पूर्वमाओवादीमा पहिले अलिअलि क्रान्तिकारी विचारको गन्ध थियो । सरकारमा गएदेखि कम्युनिस्टको सिद्धान्त र विचार पूरै छोडेको देखियो । एमालेसँग मिलेपछि त झन् नेकपामा कम्युनिस्टको कुनै गन्धै रहेन । कुनै दलले समाजवादको कुरा फुकेर, कम्युनिस्ट हो भनेर कम्युनिस्ट हुने होइन । कम्युनिस्टको सिद्धान्त र विचार आत्मसात नगर्ने, व्यवहारमा लागू गर्न अघि नबढ्ने दल कसरी कम्युनिस्ट पार्टी हुन्छ ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार देखाउने दाँत होइन, कुनै ‘शो पिस’ होइन । कम्युनिस्ट पार्टीका आफ्ना मान्यताहरू छन् । ती मान्यता लागू गर्न दल अघि बढ्नुपर्छ ।
कम्युनिस्ट पार्टीले बहुमत जनताको प्रतिनिधित्व गर्छ । बहुमत जनताको प्रतिनिधित्व गर्ने सरकार गठन हुनुपर्छ । त्यस्तो सरकार निर्वाचनबाट गठन हुँदैन । सङ्घर्ष नै त्यसको एक विकल्प हो । नेकपाले सङ्घर्षको बाटो छोडेको छ, अब देशमा सङ्घर्ष गर्न नपर्ने बताएको छ । वर्गसङ्घर्षको कुरा त टाढाको विषय भइसकेको छ । निर्वाचनबाटै कम्युनिस्टको सरकार बन्ने र बनाउने सपनाले कुनै दल कम्युनिस्ट बन्दैन । त्यस्तो सरकारले बहुमत जनताको हित हुने काम गर्दैन, गर्न दिंदैन । त्यहीं कारण सङ्घर्ष आवश्यक भएको हो ।
निर्वाचित सरकारले साना–तिना सुधार गर्छ, विकास कार्य गर्छ तर आमूल परिवर्तन गर्दैन, आमूल परिवर्तनको बाटो तयार गर्दैन । जसरी भए पनि पार्टी ठूलो बनाउने र सरकारको नेतृत्व गरिरहने नेकपाको ध्येय रहेको छ । कुनै दलले सरकारको नेतृत्व गर्दैमा, दल ठूलो हुँदैमा या नाउँ कम्युनिस्ट पार्टी हुँदैमा सच्चा कम्युनिस्ट हुने छैन । अवसरवादी, सङ्कीर्णवादी, जातिवादी र पुजीपति वर्गको प्रतिनिधित्व गरिरहेको दल कम्युनिस्ट हुँदैन । निजीकरणलाई बढावा दिने, विदेशीको उठबसमा बस्ने, आर्थिक प्रलोभनमा फसेर देश र जनहितविरुद्ध सन्धि, सम्झौता गर्ने, देशको सार्वभौमसत्तामा आँच पुग्ने काम गर्ने दल कम्युनिस्ट हुनैसक्दैन । नेकपाले त्यस्तै काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *