भर्खरै :

अधिनायकवाद र तानाशाहको फरक–फरक दृष्टि ?

पुँजीवादी वा व्यावसायिक समाचारपत्रहरूले समाजवादी देशको शासन व्यवस्थालाई एकै स्वरमा, ‘अधिनायकवादी’, ‘तानाशाही’ र ‘निरङ्कुश’ शब्दको प्रयोग गर्ने गरेका छन् ¤ किन ? त्यसको एउटै कारण हो– संसारका समाजवादी देशहरू सशस्त्र क्रान्तिबाटै सत्तामा पुगेका हुन् । सत्य यही हो भने बेलायतको पुँजीवादी क्रान्ति वा क्रामवेलको नेतृत्वमा भएको १० वर्षे गृहयुद्ध पनि त सशस्त्र सङ्घर्षबाटै भएको थियो । त्यस क्रान्तिपछि बेलायतमा गणतन्त्र घोषणा गरिएको थियो । तर, त्यो क्रान्ति समाजवादी थिएन, पुँजीवादी नै थियो ।
अमेरिकी स्वतन्त्रता आन्दोलन र क्रान्ति पनि जर्ज वासिङ्टनको नेतृत्वमा सशस्त्र सङ्घर्षबाटै भएको थियो । त्यस क्रान्तिबाटै आजको संरा अमेरिका जन्मेको हो । फ्रान्सेली राज्य क्रान्ति पनि लामो सशस्त्र क्रान्ति र ‘आतङ्क’ बाट भएको हो र पछि शासनको बागडोर नेपोलियनको हातमा पुगेको हो । वर्तमान भारतीय गणतन्त्र पनि बेलायती उपनिवेशवादको लामो विरोध तथा शान्तिपूर्ण र सशस्त्र सङ्घर्षबाट स्थापना भएको हो ।
अनेक लामो सशस्त्र र शान्तिपूर्ण सङ्घर्ष एवम् आन्दोलनपछि तथा मुक्ति र स्वतन्त्रताको वर्षाैँको अन्तरिम परिस्थितिपछि तत् तत् देशमा प्रतिनिधिसभा, कङ्ग्रेस र लोकसभा नामका संसद् वा संविधानसभाहरूबाट संविधान र ऐन कानुनमार्फत निर्वाचित सरकार एवम् राष्ट्रपतिले शासन गरेका हुन् ।
समाजवादी देशहरूमा पनि वर्षाैँको आन्दोलन, सङ्घर्ष र क्रान्तिबाट पुरानो सत्ताको ठाउँमा नयाँ क्रान्तिकारी सत्ता स्थापना हुन्छ । प्रतिनिधिसभा, सोभियत, जनकङ्ग्रेस वा जनप्रतिनिधि सभाहरूले क्रान्तिकारी वा सर्वदलीय संविधान निर्माणका सभा वा शक्तिहरूले निर्माण गरेको संविधानभित्रै बसेर ऐन–कानुनको निर्माण गरेका हुन् । त्यसैअनुसार जनप्रतिनिधिहरूले शासन गर्छन् र गरिरहेका छन् । त्यसैले समाजवादी शासन व्यवस्थाप्रति प्रयोग गरिएका शब्द पूर्वाग्रही दृष्टिदोषमात्र हुन् ।
हङकङको बेलायती उपनिवेशको पुन ः स्थापना ?
त्यसोभए समाजवादी देशहरूलाई मात्र किन ‘सर्वसत्तावादी’ निरङ्कुश’ ‘अधिनायकवादी’ र ‘तानाशाही’ व्यवस्था, सरकार र शासक भन्छन् । त्यसको एउटै कारण – उपनिवेशवादी र साम्राज्यवादी शिक्षा र तिनीहरूको प्रचारको शिकार हुनु हो । उदाहरणको लागि अमेरिकी शासन व्यवस्थालाई के रङ्गभेदी तानाशाही व्यवस्था र अधिनायकवादी ट्रम्प भनिएको छैन ? के आज भारतीय मोदी सरकारलाई अधिनायकवादी र फासीवादीको आरोप छैन ? साथै, भर्खरै ‘द राइजिङ्ग नेपाल’ ले छापेको लेखमा ‘के संरा अमेरिका फासीवादमा उन्मुख हो ?’ भनिएको छैन ?
साम्राज्यवादी र उपनिवेशवादीहरूले हिंस्रक पशुहरूले जसरी हिजोका आफ्ना शिकारलाई फेरि –फेरि लुछ्ने गर्छन् । त्यस्तै उपनिवेशवादीहरूले आ–आफ्नो उपनिवेशको पुनः स्थापना गर्न खोज्छन् । यसको एउटा तड्कारो उदाहरण स्वतन्त्रताको नाममा हङकङको उपनिवेशवादी आन्दोलन हो ।
साम्राज्यवादीहरू आ–आफ्नो मतभेद भए पनि आफ्ना दलाल अपराधी र नोकर–चाकरमार्फत शिकारको भागबन्डा गर्न एक हुन्छन् । हङकङको अहिलेको आन्दोलन बेलायती र अमेरिकी उपनिवेशबाट मुक्ति होइन पुनः उपनिवेश स्थापनाको आन्दोलन हो । त्यस आन्दोलनमा हाकाहाकी अमेरिकी र बेलायती उपनिवेशवादीहरूको झन्डा लिएर सडकमा उत्रेका छन् । भोलि भारतको गोवा, डयामन र डियू र पुडुचेरी (पान्डेचेरी) मा पुनः स्थापनाको आन्दोलन भयो भने आश्चर्य हुने छैन ।
मिलेनियम च्यालेन्ज प्रोजेक्टबारे
दुई वर्षदेखि प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्न चुकेको नेपाली काङ्ग्रेस देउवाको नेतृत्वमा ‘एमसीसी’ लाई पारित गरी छाड्न सडकमा उत्रेका छन् । देउवाको विवाह नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ्गको आशीर्वाद बताइन्थ्यो । नेकाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको एमसीसी सम्झौता गुप्तै राखिएको थियो । किन ? आज देउवा भन्छन्, “एमसीसी अनुमोदन हुन्छ ।”
एकपटक नेकाका केही सांसदहरू अमेरिकी राजदूत जुलिया चाङ्गकहाँ एमाले कम्युनिस्ट भएको हुँदा त्यसलाई गैर–सरकारी संस्थाहरू दिनु राम्रो हुन्न भन्न गएको विषय चर्चामा आएको थियो । जुलिया चाङ्गले भनेकी थिइन्, “एमाले के हो हामीलाई थाहा छ ।” सांसदहरू रित्तै हात फर्के ¤
तर, आज ‘एमसीसी’ मा नेका, एमाले माओवादी (नेकपा) र राप्रपा (थापा) एकै लाममा छन् । वर्ग र विचारले सबैलाई एकै ठाउँमा पु¥याउँछ भन्ने समयले साबित गरिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *